 
																			काठमाडौं । आफ्नी १६ वर्षीया छोरीको हत्या हुनुअघि सम्म म्यानुएल याम्बोले घोस्ट गनका बारेमा कहिल्यै सुनेका थिएनन् ।
हरेक अभिभावकले सुन्न डराउने त्यो खबर उनले त्यतिबेला सुने जब उनी काममा जानका लागि घरमा तयार हुँदैथिए ।
उनकी छोरी एन्जेलिहामाथि स्कुल नजिकै गोली लागेको थियो । उनी अस्पताल पुग्नु अगाडि नै उनलाई अर्को फोनकल आयो र एन्जेलिहाको मृत्यु भएको खबर सुनाइयो । तर छोरीको शव नदेखुन्जेल उनलाई विश्वास नै लागेको थिएन ।
सो घटनाको केही महिना अगाडि मात्रै एन्जेलिहाले आफ्नो १६ औं जन्मोत्सव मनाएकी थिइन् जसमा उनले गुलाबी गाउन र क्राउन लगाएर बुवासँगै नाचेकी थिइन् । छोरीलाई सम्झिँदै बुवा याम्बो भन्छन्, ‘एन्जेलिहा निकै हँसिली थिइन्, म जस्तै ।’
एक १७ वर्षीय युवकले ‘घोस्ट गन’ बाट गोली प्रहार गर्दा एन्जेलिहाको निधन भएको जानकारी अधिकारीहरुले उनलाई दिए । ‘घोस्ट गन’ एउटा घरेलु बन्दुक हो, जुन सम्बन्धित निकायमा दर्ता हुँदैन र त्यसलाई पत्ता लगाउन पनि सकिँदैन ।
अमेरिकामा हाल इन्टरनेटको पहुँचमा भएका जोकोहीले पनि यस्ता ‘घोस्ट गन’ बनाउनका लागि चाहिने पाटपुर्जाहरु कुनै छेकबार बिनै किन्न सक्दछन् । त्यस्तै अनलाइनमा उपलब्ध हुने ट्युटोरियलको सहयोगमा ती पाटपुर्जाहरु जडान गरेर एक घण्टाभन्दा कम समयमै एउटा पूर्ण चालू हालतको बन्दुक बनाउन सकिन्छ ।

याम्बुले बीबीसीसँग भनेका छन्, ‘यस्तो बन्दुक कति सजिलै प्राप्त हुँदो रहेछ भन्ने थाहा पाउँदा म छक्क परेँ । यसलाई कुनै सामान्य खेलौनाजस्तै सजिलै अनलाइनमा अर्डर गर्न सकिँदो रहेछ ।’
विज्ञहरुले ‘घोस्ट गन’ लाई अमेरिकामा तिव्र रुपमा वृद्धि भइरहेको बन्दुक सुरक्षा समस्याको रुपमा लिएका छन् । सन् २०१७ यता ब्यूरो अफ अल्कोहल, टोबागो, फायरआर्मस र इक्सप्लोसिभ एटीएफले घटनास्थलबाट बरामद गरेका ‘घोस्ट गन’ को संख्यामा १ हजार प्रतिशतले वृद्धि भएको छ ।
याम्बो बस्ने न्युयोर्क सिटीमा पहिलोपटक सन् २०१८ मा १७ वटा ‘घोस्ट गन’ बरामद भएका थिए । सन् २०१९ मा यो संख्या बढेर ५० पुग्यो भने सन् २०२० मा आइपुग्दा भने १ सय ५० पुगेको थियो । त्यस्तै न्युयोर्क सिटीबाट सन् २०२१ मा २ सय ७५ वटा ‘घोस्ट गन’ बरामद भए ।
वाशिङटनस्थित ब्त्ँ को राष्ट्रिय एकीकृत ब्यालिस्टिक सूचना नेटवर्कमा देशभरकै ब्यालिस्टिक प्रमाणहरुको मूल्यांकन गर्ने र अपराधका घटनास्थलबाट प्राप्त प्रमाणसँग म्याच गराउने काम गरिन्छ । तर ‘घोस्ट गन’ को हकमा गन फ्रेममा सिरियल नम्बर नहुने भएकाले त्यस्ता बन्दुक कहाँ छन् भनेर थाहा पाउन तथा नाबालिगहरुलाई गैरकानूनी रुपमा बन्दुक बिक्रि गरिरहेका डिलरहरुको बारेमा पत्ता लगाउन लगभग असम्भव नै हुन्छ ।
एटीएफका अधिकारी जेरोम म्याकक्लिन्टन भन्छन्, ‘हामीले बोक्ने बन्दुकले जस्तै काम गर्ने त्यस्तो बन्दुक जो कोहीले पनि प्राप्त गर्न सक्छ र त्यसका पाटपुर्जा खरीद गरेर बन्दुक आफैंले पनि बनाउन सक्दछ ।’
गत अगष्टमा बाइडेन प्रशासनले एक नयाँ नियम लागू गर्दै ‘घोस्ट गन’ बनाउनका लागि प्रयोग हुने मूख्य पाटपुर्जाहरुलाई परम्परागत हतियारको सूचिमा राख्दै त्यस्ता सरसामानहरुमा अनिवार्य रुपमा सिरियल नम्बर राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्ता पाटपुर्जाहरुमा आम रुपमा बिक्री गरिने ‘घोस्ट गन’ का प्याकेज्ड किटहरु पर्दछन् जसलाई सजिलैसँग जोडेर बन्दुक बनाउन वा फ्रेम वा रिसिभर बनाउन सकिन्छ ।
महान्यायाधिवक्ता मेरिक गार्लाण्डका अनुसार यो नियमले अपराधी तथा अन्य प्रतिबन्धित व्यक्तिहरुलाई पत्ता लगाउन नसकिने बन्दुहरु हात पार्न कठीन बनाइदिनेछ । साथै कानून कार्यान्वयन गर्ने अधिकारीहरुलाई अपराधको समाधानका लागि चाहिने सूचना संकलनमा सहज गराउनुका साथै समुदायमा फैलिरहेको यस्तो छद्म हतियारको संख्यामा पनि कमी ल्याउने उनको भनाइ छ ।
अमेरिकाका दर्जन बढी राज्यमा त ‘घोस्ट गन’ माथि प्रतिबन्ध नै लागेको छ । तर बन्दुक नियन्त्रण पैरवी समूह गिफोर्डस् ल सेन्टरका प्रमुख परामर्शदाता डेभिड पुसिनो सरकारको पछिल्लो नियम पर्याप्त नभएको बताउँछन् । उनको अनुसार यो नियमले ‘घोस्ट गन’ बनाउन प्रयोग गरिने सबै सामानहरुलाई समेटेको छैन, जसमा अन्तिम रुपम दिइनसकेका फ्रेम र रिसिभर पर्दछन् । साथै राष्ट्रिय फ्रेमवर्कको अभावका कारण बन्दुक तस्करहरु ‘घोस्ट गन’ खुल्ला भएका राज्यहरुबाट ‘घोस्ट गन’ प्रतिबन्ध भएका राज्यहरुमा सजिलै सर्न सक्दछन् ।
गत अक्टोबरमा सिनेटरहरुको एक समूहले कानून कार्यान्वयनका विषयमा प्रतिवेदन दिनका लागि एटीएफलाई आग्रह गरेको थियो । तर कंग्रेस समक्ष चिन्ता व्यक्त गर्दै एटीएफले यस विषयमा कडाइ गर्दा अदालतले रोक्न सक्ने बताएको थियो । दोश्रो संशोधनका विषयमा सर्वोच्च अदालतका विभिन्न आदेशहरुले बन्दुकधनीहरुमाथिको कडाइलाई निरुत्साहित गरेको एटीएफको भनाइ छ ।

‘घोस्ट गन’ केवल अमेरिकामा मात्र होइन हतियारमाथि कडा बन्देज रहेका देशहरुमा समेत गरी अन्तर्राष्ट्रिय समस्या बनिरहेको छ । कतिपय अमेरिकाबाट तस्करी भएर अन्य मुलुक पुग्ने गरेका छन् । ‘घोस्ट गन’ का पाटपुर्जाहरु मेक्सिकोमा निर्यात हुने गरेका छन् जसलाई त्यहाँ लागूऔषध अपराधीहरुले दुरुपयोग गर्नसक्ने चिन्ता बढेको छ । त्यस्तै पश्चिम युरोपमा थ्री डी प्रिन्टर प्रयोग गरेर बन्दुक बनाउने गरिएको छ ।
अमेरिकाको ‘घोस्ट गन’ प्रवृत्ति अन्य मुलुकहरुमा पनि फैलिनसक्ने भन्दै एटीएफले सचेत गराएको छ । हालसम्म कुनै देशका लागि ‘घोस्ट गन’ चासोको विषय छैन भनेपछि भविष्यमा त्यो ठूलो समस्याको रुपमा खडा हुनसक्ने जोखिम रहेको एटीएफको स्पेसल एजेन्ट प्रमुख चार्ली प्याटर्सन बताउँछन् ।
‘घोस्ट गन’ को बढ्दो विस्तारसँगै अमेरिकामा विभिन्न उत्पादकहरुमाथि कडा निगरानी बढेको छ । गतवर्ष सन् २०२२ मा न्युयोर्कको महान्यायाधिवक्ता कार्यालयले अवैध तथा सिरियल नभएका फ्रेम र रिसिभरको गैरकानूनी बिक्री गरेको भन्दै धेरै अनलाइन बिक्रेताहरुलाई मुद्दा चलाएको थियो । गत जनवरीमा अदालतले उक्त मुद्दामा फैसला गर्दै राज्यका सबै बजारबाट ‘घोस्ट गन’ प्रभावकारी रुपमा हटाउन आदेश दिएको थियो ।
उता अमेरिकाको सबैभन्दा ठूलो ‘घोस्ट गन’ निर्माता कम्पनी पोलीमार ८० सांसदहरुको सर्वाधिक आलोचनाको शिकार बनिरहेको छ ।
ग्राहकहरुलाई अवैध बन्दुकहरु बिक्री गरेको तथा आफ्ना हतियारहरु वैध रहेको झुटो दाबी गरी उपभोक्ता संरक्षण अधिकार कानूनको उल्लंघ गरेको अभियोगमा सो कम्पनीमाथि वाशिङटन डिसीमा ४० लाख डलर जरिवाना समेत भएको छ ।
तर ‘घोस्ट गन’ निर्माता कम्पनी पोलीमार ८० का सहसस्थापक लोरान केली भने ‘घोस्ट गन’ का विषयमा उठाइएको चासो फगत एउटा मिथक तथा विभाजनकारी गैर मुद्दा रहेको दाबी गर्दछन् । वासिंटन डिसीको अदालतमा भएको आफविरुद्धको फैसलाउपर कम्पनीले पुनरावेदन गर्ने उनले बताएका छन् । उक्त कम्पनीको मुख्यालय रहेको नेवादामा चाहीँ अदालतले कम्पनीको पक्षमा फैसला सुनाएको छ र राज्यका विभिन्न भागमा लगाइएको ‘घोस्ट गन’ माथिको प्रतिबन्ध गैरसंवैधानिक रहेको भन्दै खारेज गरेको छ ।
केलीका अनुसार कानून कार्यान्वयन निकायहरुले बरामद गरेका हतियारमध्ये ‘घोस्ट गन’ को अनुपात निकै कम छ । सन् २०२१ मा एटीएफले अमेरिकामा कूल ४ लाख ६० हजार २४ वटा बन्दुक बरामद गरेकोमा जम्मा १९ हजार २७३ वटा घोस्टगन बरामद गरेको उनी बताउँछन् ।
‘घोस्ट गन’ बाट गोली प्रहार गरी मारिएकी एन्जेलिहको परिवारप्रति आफ्नो सहानुभूति रहेको भन्दै केलीले आफू अमेरिकी संविधानको दोश्रो संशोधनले ग्यारेन्टी गरेको हतियार बोक्न पाउने अधिकार संकुचित हुनेगरी आउने कुनै पनि सरकारी कानूनहरुको विपक्षमा रहेको बताएका छन् ।
साथै अमेरिकी बालबालिका तथा किशोर किशोरीहरुको मृत्युको प्रमुख कारकको रुपमा बन्दुक रहेको भन्ने तथ्यांकलाई पनि उनले खारेज गरेका छन् । उनी भन्छन्, ‘मानिसहरुले आफ्नो दिमागमा हिंसा र बन्दुकबीचको फरक छुट्टाउनु आवश्यक छ ।’
तर पीडितहरु भने बन्दुक निर्माताहरु नै दोषी रहेको बताउँछन् । मृतक एन्जेलिहका बुवा याम्बोले आफ्नी छोरीको मृत्युमा ‘घोस्ट गन’ निर्माताहरु नै दोषी रहेको भन्दै बन्दुक हिंसाबाट प्रभावितहरुको सहयोगका लागि एउटा फाउन्डेसन स्थापना गर्दैछन् ।
उनी प्रश्न गर्छन्, ‘ती बन्दुकहरु कसको लागि बनाइएका थिए ? कानून मन्त्रालयत तथा एटीएफले पत्ता लगाउन नसक्ने गरी किन त्यसलाई पाटपुर्जामा बिक्री गरिन्छ ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4