+
+

समाजवादी मोर्चा बनाउने प्रचण्ड र माधव नेपालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १६:३०

१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छिट्टै समाजवादी मोर्चा गठन हुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गदै अध्यक्षद्धय प्रचण्ड र नेपालले यस्तो बताएका हुन् ।

छिट्टै, केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ र त्यहीँबाट कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुविकरणतिर जानेछौं । त्यो मोर्चाले नेकपातिर फर्किनका लागि सबै सबैलाइ अपिल गर्नेछ’ प्रचण्डले भनेका छन् ।

२०७४ सालको चुनावअघि एकताको घोषणा गर्दै वाम तालमेल गरेका एमाले र माओवादी केन्द्रले झण्डै दुई तिहाइ बहुमत पाएको थियो । २०७५ साल जेठमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्दबीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो । तर, पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि दुइ पार्टी अलग भएका थिए । त्यसपछि एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी बनेको हो ।

नेपालमा कम्युनिस्ट आन्दोलनको विस्तार ब्यापक रुपमा भएको तर, कम्युनिस्ट पार्टीहरु अलग अलग हुँदा जनताले र राष्ट्रले जस्तो अपेक्षा गरेको हो त्यस अनुसार परिणाम दिन नसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अब समय आयो । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरौं ।’

एमाले र माओवादी मिलेर बनेको विगतको नेकपालाई आम कार्यकर्ता र बहुसंख्यक जनताले अनुमोदन गरेपनि उक्त एकतालाई जोगाउन नसकिएको उल्लेख गर्दै उनले फेरि पनि कम्युनिस्ट एकताको आवश्यकतामा जोड दिएका हुन् । व्यक्तिवादका कारण तत्कालिन नेकपाको एकता टिक्न नसकेको उनको बुझाइ छ ।

नाम नलिएर प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरे । ‘कम्युनिस्ट पार्टीलाई जनवादी आधारमा ब्यापक छलफल र बहसको बीचबाट एकता पैदा गर्ने रुपमा लिएर जाने हो कि ? एउटा नेताको आदेशमा चल्ने, समूहको रुपमा वा एउटा गिरोहको रुपमा लिएर जाने हो भन्ने विवाद सुरु भयो र त्यो संघर्षको परिणाम आज हामी यो ठाउँमा छौं’ प्रचण्डले भनेका छन् ।

तत्कालीन नेकपामा ‘आत्मनिर्भर अर्थतन्त्रका योजना, नीति अगाडि बढाउँदै लैजाने हो कि, दलाल पुँजीवाद या सामन्तवादका अवशेषहरुसँग सम्झौता गरेर दाल पुजीँवादलाई बढावा दिन हो भनेर संघर्ष’ भएको पनि उनले स्मरण गरे ।

फेरि पनि वामपन्थी एकता र आवश्यकता रहेको उनले बताए । ‘… हामी भनिराखेका छौं नेकपातिर नै फर्किनुपर्छ ।’ प्रचण्डले भनेका छन्, ‘आउनुहोस् बसौं सबै, बिना आग्रह र पूर्वाग्रह समीक्षा गरौं । एकताको फेरि नयाँ एउटा पहल सुरु गरौं ।’ यसका लागि समाजवादी मोर्चा हुँदै अगाडि बढ्न सकिने प्रचण्डको भनाइ छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताए ।

‘हाम्रो पार्टीले बाम-समाजवादी शक्तिहरुसँग सहकार्यको नीति अघि सारेको छ । अझ अगाडि बढेर समाजवादी मोर्चा निर्माण गर्ने सोच पनि अगाडि सारेको छ’ उनले यसैमा थपेका छन्, ‘छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर हामी प्रस्तुत हुन गईरहेका छौं।’

अझै त्यो भन्दा अगाडि बढेर विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा,संगठनात्मक सोचहरु मिल्यो भने पार्टी एकता नै गरेर अगाडि बढिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?