+
+

हरारी भन्छन् : एआईबाट मान्छे जोगिएला कि नजोगिएला यसै भन्न सक्दिनँ

नियामक निकायले एआईको कडा नियमन नगरेमा विकराल परिस्थिति सिर्जना हुनसक्ने हरारीको चिन्ता छ । चिकित्सा मामिलामा यसको नियमन झनै कडा हुनुपर्ने उनी बताउँछन् । 

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १६:०९

इजरायली इतिहासविद् तथा दार्शनिक युवल नोह हरारी विश्वका कथाहरूलाई निकै चाख दिएर हेर्छन् । ती कथालाई रोचकतापूर्वक प्रस्तुत गर्ने खुबी उनमा छ ।

हिजोआज उनी यान्त्रिक बौद्धिकता (एआइ)  का कारण चिन्तित छन् । उनको चिन्ता हो, कथा भन्ने शैलीलाई एआईले दिने चुनौती । ‘प्रविधिमा आविष्कारको इतिहासमा एआईनै यस्तो आविष्कार हो जसले रोचक कथा र गहन बहस सिर्जना गरेको छ’ उनले भने ।

हरारीका लागि यान्त्रिक बौद्धिकताको विकास जस्तो शक्ति प्रदर्शन अरू कुनै पनि हुनसक्दैन । उनको विचारमा पृथ्बीमा मानव जातिको प्रभुत्व वित्तीय स्थिति, नीति र राष्ट्रका आधारमा तुलना हुँदै आएको छ । तर पैसाको मूल्य नभएमा जतिनै रकम जम्मा गरेपनि त्यसको कुनै अर्थ नहुने हरारी बताउँछन् ।

यान्त्रिक बौद्धिकताले अहिले यस्तै अवस्था सिर्जना गरेको हरारीको भनाइ छ । यसको आविष्कार प्रविधिको क्षेत्रमा जति रोचक र सुन्दर छ यसले निम्त्याउने परिणाम उत्तिकै कुरूप रहेको उनी बताउँछन् । यान्त्रिक बौद्धिकता कुनै समय टाढा र सैद्धान्तिक विषयमात्र मानिन्थ्यो । अहिले भने वास्तविक भइसकेको छ ।

हरारीसहितका विज्ञहरूले यान्त्रिक बौद्धिकतामा आधारित च्याट बोटले रचनात्मक सिर्जनालाई ध्वंस पार्ने भएकाले रोक लगाउनुपर्ने धारणा राखेका छन् । ‘एआईमा आधारित सफट्वेयरहरूले मानव जातिले निर्माण गरेको सामग्री मात्रै फैलाउँदैन । यसले आफैँ सामग्री उत्पादन गर्नसक्छ । एआईले नै सबै कुरा उत्पादन गर्ने भएपछि मानव जातिको अस्तित्व के रह्यो त यसले मानव संस्कृतिमा कस्तो असर पार्ला कल्पना गरौँ त !’, हरारी भन्छन् ।

‘म माफी चाहन्छु तर यो वास्तविकता हो । एलन मस्क भन्नुस् वा मार्क जुकरवर्ग यिनीहरू जनताले चुनेको व्यक्ति होइन । यिनीहरू आफ्ना शेयर होल्डरबाहेक अन्यसँग उत्तरदायी हुँदैनन् त्यसैले उनीहरूलाई विश्वास गर्न नसक्ने भएकाले सरकारनै कडा रूपमा प्रस्तुत हुनुपर्छ’, हरारी भन्छन् ।

यसका खराब पक्ष अहिलेनै देखिन थालेको छ । उदाहरणका लागि गत साता जर्मनीको पत्रिकामा प्यारालाइसिसले थलिएका रेसिङ ड्राइभर माइकल सुम्याचरको अर्न्तवार्ता छापियो । पछि तथ्य जाँच गर्दा त्यो अर्न्तवार्ता एआईबाट तयार भएको पाइयो ।

एआई यो हदभन्दा पनि अघि बढ्नसक्ने हरारी बताउँछन् ।‘अनलाइनमा यदि कसैले राजनीतिक विषयमा वादविवाद गरेमा एआईले अब सम्बन्धित व्यक्तिकै आवरणमा उसका धारणासहितको अडियो भिडियो सामग्री तयार गरिदिनसक्छ । यसले कस्तो हंगामा ल्याउला’, हरारीको प्रश्न छ ।

एआईले अब मानिसले कल्पना नै नगर्ने किसिमले सार्वजनिक वादविवादलाई तोडमोड गरिदिने उनले बताए । विगतका दशकमा सामाजिक सञ्जालमा आउने स्क्यान्डल भन्दा यसले शक्तिशाली रूपमा गलत अफवाह सिर्जना गरेर फैलाउने स्थिति निर्माण भएको उनले बताए । त्यसको केही सुरूवात ब्राजिल र अमेरिकामा देखा पर्न थालिसकेको हरारीको भनाइ छ ।

बेलायती सरकारका सञ्चार प्रमुख जेमी फ्लेमिङले अफवाह फैलाउने मामिलामा एआई मुख्य चुनौती रहेको बताएका छन् । फेसनेबल ज्याकेटमा पप फ्रान्सिसको तस्वीर एआइकै सहारामा बनाइएको थियो । उक्त तस्वीर निकै नै भाइरल भयो । ‘एआईले प्रजातान्त्रिक मुलुकहरूमा चुनौती बढाएको छ । प्रजातन्त्रको सौन्दर्य नै संवादमा छ । यदि संवादमा एआई हाबी भयो भने प्रजातन्त्रनै समाप्त हुनेछ’ हरारी भन्छन् ।

अधिनायवादी राष्ट्रवादले दुर्भावनापूर्वक एआईको प्रयोग गर्‍यो भने त्यसले कस्तो प्रभाव पार्ला त ? हरारी भन्छन्, ‘नाजी शासनमा प्रविधिका नाममा उनीहरूसँग रेल, विद्युत र रेडियो थियो । अहिलेको अवस्थामा शासकहरूसँग अत्याधुनिक प्रविधि छ । एआई प्रविधिमा आधारित हतियार समेत बनेकाले यसको प्रभाव निकैनै विनाशकारी हुनेछ । एआई युगमा मानवताको अस्तित्व सबैभन्दा चुनौतीको विषय हो ।’

यो भन्दा पनि कठोर परिस्थिति एआईले सिर्जना गर्नसक्ने उनको भनाइ छ । एआईले धेरै मानिसको रोजगारी कटौती गर्नसक्ने भएकाले समाजमा मनोवैज्ञानिक र राजनीतिक रूपमा भयंकर असर पार्ने हरारीको बुझाइ छ । ‘एउटा विन्दुमा यस्तो अवस्था आउनसक्छ मानिसहरू क्षणिक रूपमा मात्रै नभएर भविष्यको श्रम बजारमा पनि बिक्री हुन अदक्ष बन्न सक्छन् । आर्थिक प्रणालीले करोडौँ मानिसलाई काम नलाग्ने महशुस गर्नसक्छ । यसले समाजमा पार्ने मनोवैज्ञानिक र राजनीतिक असर निकै भयंकर हुनेछ’, उनले भने ।

हरारी जटिल विषयलाई सरल भाषामा बुझाउन माहिर छन् । तर एआईको विषयमा उनले बुझेको कुरा अरूलाई बुझाउन नसक्दा वा अरूले नबुझ्दा उनी निराश सुनिन्छन् । ‘हामीले बुझ्नुपर्ने कुरा के छ भने एआईले आफ्नो निर्णय आफैँ लिन्छ । आफ्ना बारेमा मात्रै होइन तपाईं हाम्रा बारेमा पनि उसले आफैँ निर्णय लिन्छ । मैले कुनै भविष्यवाणी सुनाइरहेको छैन । मैले वर्तमानमा भइरहेको गतिविधि भनिरहेको छु’ हरारीले भने ।

ऋण आवदेकलाई ऋण दिने वा नदिने निर्णय लिन र कैदीलाई माफी दिने कि नदिने भन्ने निर्णय लिन पनि एआईको प्रयोग भएको पाइएको हरारीको जिकिर छ । ‘मानवजातिले यस्तो प्रविधिको निर्माण गर्‍यो त्यसले मानवकै शक्तिमाथि चुनौती थप्यो । एआईले हाम्रा  विषयमा सही निर्णय लिएको कुरामा हामी निश्चिन्त हुनुपर्छ । तर हामी यसैमा चुकेका छौँ’, उनले भने ।

नियामक निकायले एआईको कडा नियमन नगरेमा विकराल परिस्थिति सिर्जना हुनसक्ने हरारीको चिन्ता छ । चिकित्सा मामिलामा यसको नियमन झनै कडा हुनुपर्ने उनी बताउँछन् । ‘औषधि उत्पादन कम्पनीले नियामक निकायको लामो प्रक्रिया पूरा नगरी औषधी बिक्री गर्न पाउँदैनन् । कुनै दिन  एआई उकपरणबाटै जाँचबुझ गर्न थालियो भने मानव जातिको स्वास्थ्यमा कस्तो प्रभाव पर्ला’, उनी भन्छन् ।

त्यसैले सम्भावित खतरा रोक्न सरकारले नै कडा नियमन गर्नुपर्ने हरारीको तर्क छ । प्रविधि कम्पनीका मालिकहरू आफ्ना सेयर होल्डरभन्दा अरुप्रति उत्तरदायी नहुने भएकाले सकारले नै कडा नियमन गर्नुपर्ने उनको धारणा छ । ‘म माफी चाहन्छु तर यो वास्तविकता हो । एलन मस्क भन्नुस् वा मार्क जुकरवर्ग यिनीहरू जनताले चुनेको व्यक्ति होइन । यिनीहरू आफ्ना शेयर होल्डरबाहेक अन्यसँग उत्तरदायी हुँदैनन् त्यसैले उनीहरूलाई विश्वास गर्न नसक्ने भएकाले सरकारनै कडा रूपमा प्रस्तुत हुनुपर्छ’, हरारी भन्छन् ।

हरारीको तर्कलाई प्रमाणित गर्ने काम एलन मस्कले गरे । मस्कले अन्य एआई निर्माणका लागि अनुसन्धान बन्द गर्नुपर्ने पत्रमा हस्ताक्षर गरेकै केही दिनमा आफ्नै च्याटबट निर्माणको घोषणा गरे ।

हरारी आफैँले प्रयोग गर्ने फोनसँग पनि निकै सशंकित छन् । उनी प्राय फोनलाई बन्द गरेर घर्रामा राखिदिन्छन् । स्मार्टफोनलाई उनी आकस्मिक अवस्थामा प्रयोग गर्ने फोन भन्छन् । त्यसैले विदेश जानुपर्ने अवस्थामा बाहेक उनी त्यसको प्रयोग गर्दैनन् । ‘स्मार्ट फोनको सहाराविना कुनै काम गर्नै नसक्ने स्थिति पनि छ । तर त्यहाँ चाहिने भन्दा नचाहिने सूचना आएर झन्झट छ’, हरारी भन्छन् ।

स्मार्ट फोनमा मानिसको लतबारे हरारी भन्छन्, ‘हामीले जंक फुड धेरै खाँदा हाम्रो शरीरलाई फाइदा गर्दैन । तथापि हामी खाइरहेका हुन्छौँ । स्मार्ट फोन पनि जंक फुड जस्तै हो । यसको लतले हामी बोधो हुन्छौँ ।’

मानिहरूलाई गुगलको सूचनाले बोधो बनाएको उनको तर्क छ । प्राविधिक लतबाट बच्नका लागि बेलाबखत ध्यानमा जानुपर्ने उनको सुझाव छ । ‘हालसालै म लामो ध्यानबाट फर्किएँ । त्यहाँ मोबाइल, इन्टरनेट सबै निषेधित थिए । त्यसले मलाई मेरो दिमाग सफाइमा धेरै सहयोग गर्‍यो । नवीनतम युगमा प्रविधिको लतबाट बच्न यस्ता कुरा सहयोगी छन्’, उनले भने ।

हरारी भन्थे अधिनायकवादी सरकारले एआई प्रयोग गर्नु भनेको प्रजातन्त्रको लागि ठूलो संकट हो । अहिले इजरायलमा प्रजातन्त्र संकटमा परेको छ । ‘इजरायलमा सरकारले अधिनाकयवादी शासन लाद्न खोजिरहेको छ । इजरायली लोकतन्त्रको अस्तित्व वास्तवमै धरापमा छ’, उनले भने ।

यदि इजरायलको संसदले  अरब पृष्ठभूमिको नागरिकलाई मताधिकारमा रोकेमा त्यो निर्णय सर्वोच्च अदालतले मात्रै खारेज गर्न सक्ने हरारीको भनाइ छ । ‘अरब पृष्ठभूमिका नागरिक महिला तथा अल्पसंख्यका अधिकार खोस्ने प्रयास भएमा निर्वाचन पनि बिथोलिने स्थिति आउन सक्छ । यदि सरकार त्यो कानुन पारितका लागि सफल भएमा इजरायलमा लोकतन्त्रनै समाप्त हुनेछ’, उनले भने ।

इतिहासमा मानिसहरूको त्रुटीले ठूला संकट आएको उदाहरण दिँदै हरारी भन्छन्, ‘मानव जातिले त्रुटि  गर्दा आफैँमाथि संकट आएका प्रशस्तै उदाहरण छन् । मानिसहरूले गल्ती गर्नसक्छन् तर गल्ती नसच्याउँदा परिणाम भयंकर हुन जान्छ । एआईले यस्तै खतरा निम्त्याउने अवस्था छ । असल संस्था र राष्ट्र तीनै हुन् जो आफूलाई सच्याउने दिशामा अग्रसर हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?