+

टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने

२०८० वैशाख  ११ गते १७:०५ २०८० वैशाख ११ गते १७:०५

११ वैशाख, पोखरा । नेपाल भारत दुईपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने भएको छ । भोलिदेखि सुरु हुने प्रतियोगिता वैशाख १७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा सहभागी हुन भारतीय टोली सोमबार पोखरा आइपुगेको छ । नेपाली टोली विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा छ । सिरिजको दुई खेल पोखरा क्रिकेट मैदान र बाँकी ३ खेल काठमाडौं मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्ने गर्दछन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी समावेश हुनेछन् ।

नेपाली दृष्टिविहीन महिलाले ११ वर्षअघिबाट व्यावसायिक रुपमा क्रिकेट खेल्न सुरु गरेका हुन् । हालसम्म दृष्टिविहीन महिला क्रिकेट खेलाडीले सन् २०१४ मा बेलायत र सन् २०१९ पाकिस्तानसँगको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको थियो ।

नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोलीको सुष्मा पट्टेलले कप्तानी भूमिका निभाउनेछिन् । कप्तान भट्टराईले भारतीय टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन् ।

प्रतियोगितामा प्रथम हुनेले ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ४५ हजार रुपैयाँ र प्रति खेल उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा रिजन प्रजु तथा प्रशिक्षकमा नहेन्द्र निरौला छन् ।

नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले प्रतियोगिता जित र हारभन्दा पनि दृष्टिविहीनप्रतिको सोच बदल्नका लागि आयोजना गरिएको सुनाए । ‘दृष्टिविहीनप्रति राखिने सोच परिवर्तन गर्न र अवसर पाए दृष्टिविहीन महिलाले पनि राष्ट्रका नाम राख्न सक्छन् भन्ने सन्देश दिन खेल आयोजना गरिएको हो,’ उनले भने ।

दृष्टिविहीन महिला क्रिकेट टोलीमा भगवती भट्टराई, गीता पौडेल, प्रतिभा राई, माया लुंगेली, सुस्मा तामाङ, मुना अर्याल, रिता थापा, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, बिनिता मगर सोमाई, विनिता पुन, विमला राई, निशा चौधरी र दिल्लीशरा धमला सहभागी हुनेछन् ।

दृष्टिविहीन क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय