१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा खेलेका सबै ३ खेल हारेको कतारसँग सेमिफाइनल पुगिसकेको नेपालको खेल सहज हुने अपेक्षा थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेल नेपालले ६८ रनको अन्तरले जित्यो, तर त्यो जितको प्रदर्शन अपेक्षा अनुसारको भएन ।
अघिल्ला तीन खेलको नतिजाले सेमिफाइनलमा पुगिसकेको नेपालले ६ वर्षअघि आईसीसीको एसोसिएट सदस्य पाएको कतारसँग टस हारेर ठूलो योगफलको लक्ष्यसहित ब्याटिङ थाल्यो । त्रिवि मैदानको पीचमा ३ सय आसपासको योगफल हिजोआज स्वभाविक हुन थालेको छ । अघिल्ला खेलहरुमा यूएई र ओमानले जस्तै गर्ने नेपालको प्रभावशाली ब्याटिङ योजना कतारले ध्वस्त पारिदियो ।
लामो समयपछि नेपालले ब्याटिङमा बिर्सनलायक प्रदर्शन गर्यो । कमजोर प्रतिस्पर्धी कतारसँग त नेपाली ब्याटरबाट यो प्रदर्शनको अपेक्षा नै थिएन । ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखको साझेदारी समस्यालाई प्रशिक्षक मोन्टी देशाईको वान बल ब्याटल र ह्याप्पी ड्रेसिङ रुमको रणनीतिले पनि सुधार गर्न सकेको छैन ।
दोस्रो ओभरमै कुशल भुर्तेलले लेन्थमा आएको बललाई लेगसाइडतर्फ प्रहार गर्दा मिडविकेट क्षेत्रमा क्याचआउट हुँदा रनको खाता खोल्नै पाएनन् । ओमानसँगको अघिल्लो खेलमा पनि उनले रन बनाउन सकेका थिएनन् ।
बिहानको समयमा टर्निङ विकेटमा खेल्न नेपाली ब्याटरलाई यसै पनि कठिन भइरहेको थियो । अधिकांश नेपाली ब्याटर ठूलो शट खेल्ने चक्करमा बाउण्ड्रीमा क्याचआउट हुन पुगेका थिए ।
अघिल्ला दुई खेलमा भरपर्दो ब्याटिङ गरेका भीम सार्की (६ रन) चौथो ओभरमा रिभर्स स्वीप खेल्ने चक्करमा आउट भए । त्यसपछि आएका कप्तान रोहितले ओपनर आसिफसँग मिलेर तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे ।
१२.४ ओभरमा इक्रामुल्लाह खानको गतिलाई बुझ्न नसक्दा पूल शट प्रहार गरेका आसिफ १९ रनको स्कोरमा फाइनलेग क्षेत्रमा क्याच आउट भए । तीन ओभरपछि कप्तान रोहित पनि २७ रन बनाएर कट बिहाइण्ड आउट भए । क्वाइस अहमदको अर्थोडक्स बलिङमा एज लागेको रोहित आफैंले विश्वास गर्न सकेका थिएनन् ।
नेपालले बिहीबार अप्रत्यासित रुपमा सोमपाल कामीलाई पाँचौं नम्बरमा पठाएको थियो । तर, नेपालको त्यो रणनीति पनि सफल रहेन । ओमानसँगको खेलमा अर्धशतक बनाएको सोमपाल र शतक बनाएका कुशल मल्लले लामो पारी खेल्न सकेनन् । आसिफ शेख र दीपेन्द्रसिंह ऐरी पनि ठूलो शटकै चक्करमा आउट हुनुपरेको थियो । नेपालको अन्तिम भरोसाका रुपमा रहेका गुल्सन झालाई ७ रनमा गुमाउँदा नेपालले २८ ओभरमा १११ रनको योगफल बनाएको थियो ।
त्यसपछि सन्दीप लामिछाने र ११ नम्बरमा आएका ललित राजवंशीले ४६ रनको साझेदारी गरेपछि नेपालले १५० को योगफल पार गरेको हो । सन्दीपले ५८ बलमा ६ चौकासहित ४२ रनको अविजित पारी खेले । ४०.३ ओभरमा ललित एलबीडब्लू आउट हुँदा नेपाल १५७ अलआउट भयो ।
जवाफमा कतारका ओपनर कमरान खानले ललितलाई नै छक्का प्रहार गरी पारीको सुरुवात गरेका थिए । पहिलो ओभरमै ११ रन जोडेर कतारले दबाव बनाउने प्रयास गरेको थियो । तर, नेपाली स्पिन बलिङको गहिराई नबुझेका कतारी ब्याटरहरु तेस्रो अोभरदेखि लगातार आउट हुन थाले ।
ललितले पहिलो विकेटका रुपमा तिनै कमरानलाई दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गरेपछि नेपाल हावी हुन थालेको हो । सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएपछि १० ओभरमा कतारले ३२ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । त्यसपछि खेल पूरा नेपालको नियन्त्रणमा रह्यो ।
२५.१ ओभरमा ८९ रनमा समेटिँदा सन्दीपले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रनमात्र खर्चिए । सोमपाल कामीले ३ तथा ललितले २ विकेट झारे । ‘उनीहरुले सुरुदेखि नै ठूला शट खेलेर हामीलाई दवावमा राख्ने प्रयास गरेका थिए,’ पहिलो विकेट लिएका ललितले खेलपछि भने, ‘हामीले हाम्रो रणनीति फेरेनौं ।’
नेपालले यो प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्य लिएको छ । त्यसका लागि दुई खेल टाढा छ । शनिबार सेमिफाइनलमा कुवेतसँग जितेमा नेपालले फाइनलमा ओमान वा यूएईलाई पन्छाउनुपर्नेछ । पछिल्ला वर्षहरुमा एशोसिएट क्रिकेटमा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र यूएई नै हो ।
एसिया कपमा विश्व क्रिकेटमा महारथप्राप्त टिमलाई चुनौति दिने लक्ष्य राखेको नेपालको ब्याटिङपंक्तिबाट कतारसँग यस्तो प्रदर्शन प्रशिक्षक मोन्टी देशाईका लागि पनि अप्रत्यासित नै रह्यो । तर, ६ महिना अगाडिसम्म पनि नेपालको ब्याटिङ प्रदर्शन यस्तै अप्रत्यासित हुने गरेको थियो । उनले यस खेललाई आफूहरुको परीक्षण र अनुभवका रुपमा ब्याख्या गरे । प्रशिक्ष देशाई नेपाल टिमले पूरा ओभर खेल्नुपर्ने र २५० देखि २७० सम्मको योगफल बनाउनुपर्ने बताउँछन् ।
‘हरेक खेलमा एउटा नयाँ अनुभव हुन्छ । हामीमाथि नयाँ बलिङ परीक्षण भए,’ खेलपछि देशाईले भने, ‘हामीले अहिलेसम्म राम्रो साझेदारीले खेल जितिरहेका छौं । शीर्षक्रमका चारजना ब्याटरमध्ये कम्तिमा एक जनाले एकतर्फबाट इनिङ्स सम्हालनुपर्छ । आज हामीले त्यही छुटायौं ।’
एसिया कपमा परिवेश, रणनीति र नियमहरु फरक हुन्छन् । तर, ब्याटिङको चिन्तामा हल गर्न नेपालले धेरै काम गर्नुपर्ने यो प्रदर्शनले प्रमाणित गरेको छ । प्रशिक्षक देशाईको वान बल ब्याटलको रणनीतिसमेत काम लागेन । धन्न बलिङपंक्तिको ठोष योगदानले नेपाली टिम धेरै आलोचित हुनुपरेन ।
‘यसलाई म ठूलो चुनौतीको रुपमा लिन चाहन्न । सबैकुरा वान बल ब्याटलबाट नै समाधान हुन्छ । कहिलेकाहीँ अनुकुल हुँदैन तर, अवस्थाको बारेमा जानकारी राख्नुपर्छ । आज हामी केही न केही चुक्यौं । हामीले एक क्षणमा कस्तो साझेदारी लयाउने भन्ने कुरामा चुक्यौं । नयाँ अनुभवले धेरै कुरा सिकाउँछ । आजको खेलले र लक्ष्यले मलाई नयाँ कुरा सिकायो,’ देशाईले थपे ।
नेपाल क्रिकेटमा मोन्टीको आगमनयताको तीन महिना नेपालले निकै सकारात्मक र सन्तुलित क्रिकेट खेलिरहेको थियो । लिग टूमा अपार सफलतापछि एसिया कप छनोटका लागि प्रयासरत छ । अघिल्ला खेलहरुमा पहिला ब्याटिङ गर्दा नेपालले कीर्तिमानी योगफल बनाइरहेको थियो । त्यहीअनुसार रक्षा गर्न सहज हुन्थ्यो ।
बिहीबार कमजोर योगफल रक्षा गर्नुपर्ने स्थितिमा खेलाडीको सकारात्मक मानसिकताले काम गर्यो ।
‘ललितले आज गरेको ब्याटिङ पार्टनरसिप निकै राम्रो थियो । जसरी उनले एक तर्फबाट डिफेन्ड गरिरहे त्यसरी नै सन्दीपले अर्को तर्फबाट अट्याक गरिरहे,’ प्रशिक्षक देशाई भन्छन्, ‘त्यसरी नै सोमपालले सम्हाले । यहि कुराहरु बिस्तारै सिक्दै जाने हो । हामी च्याम्पियन मानसिकताले खेल्ने हो ।’
प्रशिक्षक देशाईले आफ्नो बलियो पक्षमा काम गरी विजयको कथा लेख्ने बताएका छन् । उनले नयाँ नयाँ अनुभवका साथ टिमले जितिरहेकोमा खेलाडीप्रति गर्वसमेत गरे ।
‘ब्याटिङको यो प्रदर्शनले चुनौती थपिएको हो तर, डर नै चाहीँ होइन । आज कसैले केही गर्लान भन्ने सोचेको थिएँ, भएन,’ उनले थपे, ‘सबैलाई थाहा छ हामी को हौं भनेर । हामीमा एक अर्काको लागि विश्वास छ जसले अझै बलियो हुन सक्छौं ।’
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4