+
+

काठमाडौंको खर्च गर्ने क्षमता खस्कियो, ९ महिनामा २४ प्रतिशत बजेट खर्च

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते २०:४८

१४ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८०मा काठमाडौं महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको छ । महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

तर, खर्च हुन नसक्ने देखेपछि महानगरपालिकाले २२ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।

संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चैतसम्ममा  ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ । महानगरपालिकाले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ ।

गत आर्थिक वर्ष २०७८/०७९को पहिलो ९ महिनामा  महानगरले ३० दशमलव ३४ प्रतिशत खर्च गरिसकेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अन्तिम बजेट रुपमा आएको १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

पछि उनले संशोधन गराएर १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँमा झारेका थिए । गत वर्ष चैत मसान्तसम्म ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो ।

४३ करोड रुपैयाँको खर्च रकम भने केही बढेपनि चालु आवको बजेटको तुलनामा ९ महिनामा महागरको खर्चदर ६ प्रतिशतले कम छ ।

शिक्षामा बाहेक अन्यमा छैन प्रगति

काठमाडौं महानगरपालिकाले ५ वटा क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको थियो । जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाहेक अन्य खर्चहरु न्यून देखिएका छन् ।

प्रशासनिक खर्चमा काठमाडौं महानगरपालिकाले ३ अर्ब ५३ करोड ८१ लाख छुट्याएकोमा १ अर्ब ८८ करोड ५० लाख खर्च गरेको हो, जुन विनियोजनको ५३ दशमलव २८ प्रतिशत हो ।

आर्थिक विकासको क्षेत्रमा महानगरले राखेको २२ करोड ९२ लाख रुपैयाँमध्ये १ करोड ७१ लाख रुपैयाँ अर्थात ७.४७ प्रतिशत मात्रै खर्च गरेको छ ।

सामाजिक विकासतर्फ ३ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ कुल बजेटमध्ये ३५.५१ प्रतिशत अर्थात् १ अर्ब ३० करोड रुपैयाँ, ८७ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकास क्षेत्रतर्फ खर्च भने १५ प्रतिशत मात्रै भएको छ । पूर्वाधार विकास १३ अर्ब ६ करोड ८४ लाख  रुपैयाँमध्ये १ अर्ब ९८ करोड ३० लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ पनि महानगरको खर्च न्यून रहेको छ । यो क्षेत्रमा महानगरले २ अर्ब १ करोड १६ लाख छुट्याएकोमा २४ करोड ६६ लाख ३४ रुपैयाँ हजार अर्थात् १२.२६ प्रतिशत मात्रै खर्च गरेको हो ।

काठमाडौंले सबैभन्दा धेरै खर्च चालु आवमा सामाजिक विकासको क्षेत्रगत बजेट अन्तर्गत शिक्षामा गरेको छ । शिक्षातर्फ १ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ बजेट रहेकोमा १ अर्ब ८ करोड २१ लाख खर्च गरेको छ । जुन विनियोजित रकमको ६० दशमलव ५९ प्रतिशत हो ।

३ शीर्षकमा शून्य खर्च

आगामी आर्थिक वर्षको बजेटको लागि तयारी सुरु गर्ने समय भइसक्दा पनि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ३ वटा शीर्षकमा अझै खर्च गर्न सकेको छैन ।

जलस्रोत र सिँचाइको लागि छुट्याएको ८ लाखमध्ये एक लाख रुपैयाँ पनि खर्च गर्न सकेको छैन । यस्तै वन शीर्षकमा छुट्याएको १० लाख पनि महानगरले चलाउन सकेको छैन ।

यस्तै प्रशासनिक सुशासनको लागि छुट्याएको ७५ लाख पनि महानगरले एक रुपैयाँ पनि खर्च गर्न नसकेको हो । यस्तै काठमाडौंको २ वटा शिर्षकमा एक प्रतिशत भन्दा कम खर्च गरेको छ । विज्ञान प्रविधिको लागि छुट्याएको बजेटमा ०.२१ प्रतिशत मात्रै खर्च गरेको छ भने सामाजिक सुरक्षा तथा संरक्षणमा ०.७८ प्रतिशत मात्रै खर्च गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरका वित्त विभागका निर्देशक बुद्धरत्न मानन्धरले धेरै योजनाहरुको बजेट भुक्तानी पाइपलाइनमै रहेकोले खर्च प्रतिशत कम देखिएको बताए । ‘अघिल्लो वर्षको तुलनामा खर्च प्रतिशत कम भएपनि भुक्तानी हुँदा असारसम्म बढ्ने छ, यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्च प्रतिशत बढ्दैछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?