+
+

मूलपानी मैदानमा पहिलो ओडीआई खेल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १३:५१

१५ वैशाख, काठमाडौं । एसिया कप क्रिकेटको छनोट प्रतियोगितामा रुपमा जारी एसीसी प्रिमियर कपअन्तर्गत शनिबार दुई सेमिफाइनल खेल हुँदा नेपालको अर्को एउटा मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलको आतिथ्य गर्ने भएको छ ।

नेपालमा त्रिवि मैदान कीर्तिपुरमा मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिँदै आएको छ ।

प्रिमियर कपको फाइनल प्रवेशका लागि शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिमहरु यूएई र ओमान मूलपानी (माथिल्लो) मैदानमा खेल्दैछन् । दुई ओडीआई टिमले मूलपानीमा पहिलोपल्ट खेल्न लागेका हुन् ।

१० टिम सम्मिलित यो प्रतियोगितामा यूएई, ओमान र नेपाल गरी तीन टिमसँग ओडीआई मान्यता छ ।

घरेलु टिम नेपालले त्रिवि मैदानमा कुवेतसँग अर्को सेमिफाइनल खेल्नेछ । जारी एसीसी प्रिमियर कपको प्रतियोगिता निर्देशकसमेत रहेका नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दासले दुई ओडीआई मान्यताप्राप्त टिमबीच खेल हुनेभएपछि यसले ओडीआई मान्यता पाउने जानकारी दिए ।

एसीसीको प्रतियोगिता भएको हुनाले आफूहरुले आईसीसीलाई पनि यसबारे जानकारी गराइसकेको उनको भनाइ छ ।

ओडीआई खेल आयोजनाका लागि आधारभूत मापदण्डहरु पूरा भएको हुनुपर्छ ।

पीच, आउटफिल्ड (मैदान), डगआउट, पभिलियन, डाइनिङ हललगायतका सुविधाहरु मूलपानी मैदानमा पूरा भइरहेका छन् ।

प्रतियोगिताअघि आईसीसीले ओडीआई टिमहरुबीचको खेललाई ओडीआई मान्यता दिने बताइसकेको थियो ।

‘मूलपानीमा ओडीआई खेलका लागि आवश्यक सबै मापदण्डहरु पूरा छन् । दुई ओडीआई टिमबीच खेल हुने भएपछि यसले मान्यता पाउनेछ,’ दासले अनलाइनखबरसँग भनेका छन् ।

ओमान समूह ए को उपविजेता र यूएई समूह बीको विजेताका रुपमा सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।

समूह ए को विजेता बनेको नेपाल र समूह बीमा निर्णायक खेलमा हङकङलाई पराजित गरी उपविजेता बनेको कुवेतबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको छ ।

सेमिफाइनलमा पराजित हुने दुई टिमले तेस्रो स्थानका लागि आइतबार त्रिवि मैदानमा खेल्नेछ । फाइनल खेल १८ बैशाख (सोमबार) हुनेछ ।

यो प्रतियोगिताको विजेताले सेप्टेम्बरमा पाकिस्तान/यूएईमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ ।

शीर्ष तीन टोलीले एसीसी इमर्जिङ कप खेल्नेछ । इमर्जिङ कपमा टेष्ट मान्यताप्राप्त देशको ए टिमको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?