+
+
समयान्तर :

बन्दीपुरको वैभव

विभिन्न समुदायको मिश्रित कला-संस्कृति, प्राकृतिक सौन्दर्य र यहाँको मीठो आतिथ्यको कोसेली नै बन्दीपुरको बान्की हो । बन्दीपुरको बजारलाई पुरानै शैलीमा आधुनिक तवरले सिंगारिएको छ, जुन बन्दीपुरको अर्को विशेषता हो ।

मनिकर कार्की मनिकर कार्की
२०८० वैशाख १६ गते १९:२१

बेला-मौकामा काठमाडौं शहरको कोलाहल र प्रदूषणयुक्त वातावरणबाट केही क्षणकै लागि भए पनि त्राण पाउने लालसा काठमाडौंवासीमा जहिल्यै हुन्छ । तर, व्यस्त शहरी जीवनशैली र रोजीरोटी जोहो गर्ने बाध्यताका बीच शहरवासीका घुमफिर गर्ने चाह सहजै पूरा हुन पाउँदैनन् । ती बिहान एउटा उत्साहका साथ घर, डेराबाट बाहिर निस्किन्छन्, बेलुका शहरको चाप र तापले मूर्झाउँदै घर फर्किन्छन् ।

मान्छे नै मान्छेको भीडमा आफ्नो भविष्य अजमाउन आतुर मानिसहरूको झुण्डको वेभ एकअर्कामा ठोक्किंदा अचम्मको चाप सिर्जना हुन पुग्दछ । त्यही चापको चाल नै काठमाडौंको दैनिकी हो । आखिर नियतिको यही गोलचक्करमा शहरवासीहरूको दैनिकी गुज्रिरहेको हुन्छ ।

हामी जस्ता स्थायी रूपले काठमाडौं बाहिर बसोबास गर्ने मनुवाहरूको लागि त झनै एकाध दिनको काठमाडौं बसाइले पनि उकुसमुकुस बनाइदिन्छ । वास्तवमा काठमाडौंको आवृत्तिले सिर्जना हुने अनौठो चाप र रापले वातावरण नै उकुसमुकुस भइदिन्छ । अनि त केही दिन, हप्ता र महिनाको बसाइसँगै तावाको माछा छट्पटाए जस्तो मान्छे काठमाडौंको गुम्फनमा छट्पटाउन थाल्छ । उसको काठमाडौंसँग न त दैनिकी मिल्छ, न त लय नै । झन् खल्ती रित्तिंदै गएपछि त काठमाडौंसँगको भाषाशैली पनि मिल्न छाडिदिन्छ ।

यस्तो गुम्फनयुक्त दैनिकीबाट केही दिन विश्राम लिन नरुचाउने को होला र ? यो पंक्तिकार पनि केही साताको काठमाडौं बसाइले उकुसमुकुस भएर एक छिमल पोखरासम्मको यात्रा तय गर्ने निधो गर्दै निस्कियो । काठमाडौं प्रदेशको पश्चिमी नाका थानकोटको नेटो काट्दै गर्दा मध्याहृनको प्रहर सुरु भइसकेको थियो । नागढुंगाको ओरालोमा राजधानी छिर्ने र बाहिरिने सवारी साधन खचाखच थिए ।

राजधानी प्रवेशको मुख्य नाका भएकोले यो मार्ग सधैं व्यस्त हुने गर्दछ । त्यसमाथि राजमार्ग मर्मत र थानकोट-खानीखोला सुरुङ मार्ग निर्माणका कारण यहाँ घन्टौं जाम लाग्ने गर्दछ । विगत सम्भिmने हो भने धेरैसँग नागढुंगाको यसै उकालोमा १२/१५ घन्टासम्म पनि जाम परेको अनुभव छ । तथापि कलंकीको अन्डरपास निर्माण र नागढुंगा-कलंकी सडक विस्तार हुँदा पछिल्ला वर्षहरूमा नागढुंगाको कहालीलाग्दो जाम भने घट्न गएको छ । अब यो निर्माणाधीन सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भइसकेपछि यहाँको सवारी चाप धेरै हदसम्म व्यवस्थापन हुने आकलन गर्न सकिन्छ । तथापि हाललाई यो सडकको सवारी चाप बढ्दो क्रममै रहेको देखिन्छ ।

कुनै बेला यस पृथ्वीराजमार्गमा मोटरसाइकल हुईंक्याउँदा निकै रोमाञ्चित भइन्थ्यो । तर, अहिले धुवाँ, धुलो र प्रदूषणकै कारण यहाँको यात्रा उति रोचक हुन छाडेछ । झन् सवारी साधनको चापका कारण यात्रा रमाइलो भन्दा जोखिमयुक्त हुन थालेछ । लगभग मुग्लिनसम्मको यात्रा यस्तै रूपमा बित्यो । जसै मुग्लिन पार भएपछि केही क्षण आँबुखैरेनीसम्मको यात्रा भने सहज थियो । तर, त्यसपछि पृथ्वीराजमार्गको आँबुखैरेनी-पोखरा विस्तारको काम जारी रहँदा यात्रा असहज हुन पुग्यो । जेनतेन डुम्रे पुग्दा झमक्कै साँझ परेको थियो । डुब्दै गरेको रातो घाम, सडकमा उडेको धुलोले साँच्चिकै गोधूलि साँझमा वनबाट गाईवस्तु र गोठालाहरू फर्किंदाको पदचाप प्रतीत हुन्थ्यो ।

 

तर, सडकको यथार्थसँग साक्षात्कार हुनेबित्तिकै कल्पनाका त्यान्द्राहरू यसै चुँडिन थाल्थे भने धुलो र हिलोले जोखिमयुक्त बनेका घुम्ती र मोडले झस्काउँथ्यो । साँझ झमक्क हुँदैगर्दा आकाश कालोनीलो भएर हल्का वषर्ात् भयो । वषर्ाले केही राहत त दियो तर, त्यसले सडक भने चिप्लो बनाइदिंदा सवारीको गति भने घट्न पुग्यो । झन् दुईपाङ्ग्रे यात्रीका लागि त चिप्लो सडकको यात्रा जोखिमयुक्त हुने नै भयो । तर पनि ‘स्लो ड्राइभ, लङ लाइफ’वाला ट्राफिक सचेतना नीति पछ्याउँदै अघि बढियो ।

डुम्रेबाट बन्दीपुरसम्मको बाटो भने नागबेली परेको उकालो र साँघुरो पनि छ । त्यसमाथि यो बाटो मर्मतसम्भारको अभावमा बिग्रिएर गेग्रानयुक्त भएको रहेछ । न त यहाँको बाटो विस्तार नै भएको देखियो, न त बिग्रिएको सडक मर्मत नै भएको रहेछ । यो एक लेनको पहाडी सडकमा पहिलो पटक मोटर चलाउनेलाई केही असहज हुनसक्छ ।

तथापि यो पंक्तिकार यो सडकमा निकैपटक यात्रा गरिसकेकाले यहाँको हरेक घुम्ती, मोड अपरिचित थिएन । यहाँका सुन्दर डाँडाकाँडा, बाटोको दायाँतर्फ देखिने विशाल फाँट, वरिपरिका स-साना थुम्काथुम्की विछट्टै सुन्दर लाग्छन् । खुलेको मौसममा वरिपरिको दृश्यावलोकन गर्दै हुइँकिंदा मन निकै रोमाञ्चित हुन्छ । बन्दीपुरको एक पाखो सुन्दरता यही बाटोको यात्राले पूरा हुन्छ । तर, साँझको यात्रामा भने त्यो दृश्यपान गर्न पाइएन ।

नामकरणको रोचक प्रसङ्ग

आज बन्दीपुरमा पहिलेको जस्तो व्यापारिक रुट पनि छैन र विशाल बजारको प्रभाव पनि । आफ्नो गुमेको विगतलाई नयाँ स्वरूपमा स्थापित गर्दैछ बन्दीपुर । त्यसैले अहिले समय परिवर्तनसँगै बन्दीपुरले आफूलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा उभ्याइसकेको छ

यसपटक बन्दीपुर घुम्दै गर्दा यहाँका सुन्दरताको परख गर्नुका साथै यसको इतिहास पनि जान्ने मनसुवा पलायो । बुझ्दै खोज्दै यहाँका एक स्थानीय अगुवा ज्येष्ठ नागरिक मणिकुमार प्रधानसँग भेट भयो । उनी बन्दीपुरबारे जानकार मात्र होइन, बन्दीपुरको बस्ती निर्माण, विकास र वर्तमानसम्मको साक्षी र यसको सुन्दर भविष्यको भाष्यकार पनि हुन् ।

उनै ८० वर्षीय प्रधानसँग बन्दीपुरको विगत, वर्तमान र संभावित भविष्यबारे रोचक र ज्ञानवर्धक कुराकानी हुन पुग्यो । आफूले ‘सुनेको, देखेको र भोगेको’ कुरा मात्र भन्न सक्ने भन्दै उनले बन्दीपुरको नामकरण बारे रमाइला तीन थरी दाबी सुनाए ।

उनका अनुसार पहिलो दाबी मगर समुदायको रहेको छ । मगर भाषामा ‘दि’ को अर्थ ‘पानी’ हो । अर्थात् ‘पानी भएको वन’लाई बन्दीपुर भनिएको हो । यो दाबी अनुसार उतिबेला बन्दीपुरमा प्रशस्त पानी थियो । पानीको स्रोतयुक्त वरिपरि वनले घेरेको पहाडी थुम्को नै बन्दीपुर हो । नजिकै पानीको स्रोत भएकाले विस्तारै आवादी पनि बढ्दै गयो । तर, अहिले पानीको स्रोतकै कारण बन्दीपुर नाम पाएको यहाँ पानीको अभाव बढ्दै गएको देखिन्छ ।

बन्दीपुर नामकरणको दोस्रो दाबी नेवार समुदायको रहेछ । बन्दीपुरमा व्यापार गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका र बनेपाबाट नेवारहरू बसाइँ सरी आए । बनेपाको बन्दीकापुर भन्ने ठाउँबाट बसाइँ सरेर आएका मानिसलाई ‘बन्दीकापुरे’ भनेर बोलाउँदै गर्दा सो शब्द अपभ्रंश भएर ‘बन्दीपुर’ भएको बन्ने दाबी नेवार समुदायको रहेछ ।

त्यसैगरी खस-आर्य समुदायको धारणा चैं यस भूमिमा ब्राहृमणहरूले आएर ‘बन्दना’ गरेको र त्यसरी बन्दना गर्दैगर्दा यहाँको प्राकृतिक छटा र पर्यावरणीय सुन्दरताले ‘बन्दी’ जस्तै भएर यहीं बसेको हुनाले यस ठाउँको नाम बन्दीपुर रहन गयो भन्ने दाबी रहेछ । बन्दीपुरको नामकरणको सवालमा यी र यस्ता अनेक दाबीयुक्त किस्साहरू प्रचलित रहेछन् ।

यहाँको नाम जे-जसरी रहन गए पनि आजको समयमा बन्दीपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण पारम्परिक ग्रामीण पर्यटकीय गाउँको रूपमा परिचित छ । मूलतः पोखरा भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरूले कम्तीमा एक रात बिताउने ठाउँ बनेको छ, बन्दीपुर । यसरी अहिले नयाँ स्वरूप र माध्यममा पर्यटकहरूको ‘ट्रान्जिट’ बनेको छ, यो सुन्दर गाउँ ।

इतिहासको व्यापारिक ‘ट्रान्जिट प्वाइन्ट’

बन्दीपुरको इतिहासबारे राम्रो अनुभवजन्य जानकारी अभिव्यक्त गर्न सक्ने उनै ज्येष्ठ नागरिक मणिकुमार हुन् । चार पुस्तादेखि खुद्रा किराना पसल गर्दै आएका उनी अहिले पनि बन्दीपुरको आफ्नै पुरानो घरमा पुरानै कामलाई निरन्तरता दिइरहेका छन् । यो पसल बन्दीपुरकै पुरानो पसल हो, जहाँ नपाइने केही छैन । उमेरले ८० नाघिसकेका उनी अब चैं आफ्नो पुस्तैनी व्यापारले निरन्तरता पाउनेमा सन्देह प्रकट गर्छन् ।

विगत सात दशकदेखि बन्दीपुरको प्रत्येक परिवर्तनको साक्षी बनेका उनी अहिलेको मानवीय संवेदना हराउँदै गएको समाजदेखि दिक्क मान्दै भन्छन्, ‘उतिबेला मानवता थियो, मानवीय व्यवहार थियो । अहिले मानवता हराउँदै गयो । सबै व्यक्ति डन भएजस्तो हैकमवादी प्रवृत्ति हावी भएको छ । समाजमा मानवीय मूल्य, मान्यता र सामाजिक सम्बन्धहरू कम हुँदै गएकोले विगतमा व्यतीत गरेको समय गुमेको जस्तो, केही हारेको जस्तो अनुभव भइरहन्छ ।’

बन्दीपुर पुरानो बजार हो । यो इतिहासको एक प्रचलित व्यापारिक केन्द्र पनि हो । मूलतः राणाकालमा बन्दीपुर भारत र तिब्बतबीचको व्यापारिक मार्ग थियो । यही बाटो हुँदै भोटको व्यापारमा नेपाली र भारतीयहरू पुग्ने गर्दथे । तिब्बततिर बि्रटिश साम्राज्यका औद्योगिक उत्पादन निकासी हुन्थ्यो भने तिब्बतबाट जडीबुटी, धातुलगायतका सामान पैठारी हुन्थ्यो । त्यसैले बन्दीपुर त्यतिबेला भोट र भारतीय सामान व्यापारको ‘ट्रान्जिट प्वाइन्ट’कै रूपमा चर्चित थियो ।

तारालाल श्रेष्ठले आफ्नो पुस्तक ‘बन्दीपुरदेखि बन्दीपुरसम्म’ मा यहाँको भौगोलिकदेखि आर्थिक इतिहाससम्म उतारेका छन् । उनी लेख्छन्-‘आदिम कालदेखि बन्दीपुर व्यापारिक नाका थियो । व्यापारीहरू मगर र गुरुङ थिए …मर्स्याङ्दी नदीको किनारा हुँदै धरमपानीबाट दक्षिण झरेपछि मधेश र मुग्लान पुग्ने नाका बन्दीपुरै थियो । लमजुङ, मनाङ, मुस्ताङ हुँदै तिब्बत व्यापार गर्न जाने नाका पनि । लेकबाट भोटेकुकुर, जडीबुटी, जंगली जनावरका छाला, अनाज आदि बन्दीपुर आउँथ्यो । …झाडी फाँडेर मधेश छिचोल्दै, पहरा खनेर निकास निकाल्दै फिरन्ते व्यापारी इष्ट इन्डिया कम्पनीको अधीनस्थ भारतीय बजारदेखि तिब्बतसम्म पुग्थे ।’

उबेला विशेषतः नुन बोक्ने ढाक्रेहरूको बास बस्ने ठाउँ पनि हो, बन्दीपुर । कुनै समय उत्तरी पहाडी, हिमाली क्षेत्रबाट बजार गर्न आउनेहरूको लर्को लाग्ने ठाउँ हो । खासगरी २००७ सालको क्रान्तिपछिको आर्थिक र प्रशासनिक परिवर्तनले विगतको बन्दीपुरको रौनक ओझेलमा पर्दै गयो ।

२०२५ सालमा बन्दीपुरबाट तनहुँको सदरमुकाम दमौलीमा सारिएपछि त बन्दीपुरको व्यापारिक चहलपहलमा पूर्णविराम नै लाग्यो । आज बन्दीपुरमा पहिलेको जस्तो व्यापारिक रुट पनि छैन र विशाल बजारको प्रभाव पनि । आफ्नो गुमेको विगतलाई नयाँ स्वरूपमा स्थापित गर्दैछ बन्दीपुर । त्यसैले अहिले समय परिवर्तनसँगै बन्दीपुरले आफूलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा उभ्याइसकेको छ ।

‘पहाडकी रानी’ बन्दीपुर

बन्दीपुरको वैभव नियालेर फर्किंदै गर्दा होमस्टेका दिदीबहिनीहरूले पाहुनालाई स्वागत गर्दै गाएको गीत झन् झन् ताजा हुँदै जान्छ – ‘तीन धाराको त्यो चिसो पानी, लाग्छ माया छोडेर काँ जानी !’

सदरमुकाम सरेपछि बन्दीपुरबाट मानिसहरू पनि बसाइँ सर्दै गए । तनहुँको बस्ती क्रमशः पहाडको टुप्पोबाट फाँटतिर सर्दै गयो । एकातिर डुम्रे र दमौलीका बस्तीहरू गुल्जार हुँदै गए भने बन्दीपुरको सम्पदा ओझेलमा पर्दै गयो । तथापि कुनै कवि हृदयका मानिसले बन्दीपुरको सुन्दरतालाई परख गर्दै ‘पहाडकी रानी’ उपमा दिए । बन्दीपुरले त्यही प्राकृतिक सुन्दरताभित्र नयाँ परिचय खोज्दै गयो ।

हुन त ‘रानी’ शब्दले नारीलाई सुन्दर वस्तुको रूपमा प्रतिबिम्बित गरेको आरोप पनि लाग्न सक्छ । तथापि यस आलेखमा त्यस किसिमको भाष्यलाई स्थापित गर्न खोजिएको होइन । यहाँ त केवल बन्दीपुरको सुन्दरतालाई परख गर्ने सवालमा व्युत्पन्न भएको उपमालाई उजागर गरिएको मात्रै हो ।

बन्दीपुर एक निकै सौम्य, शान्त र शालीन पहाडी इलाका हो । जहाँ हरबखत सिर्सिर चल्ने मायालु बतासले स्पर्श गरेर यात्राको थकानले गलेको शरीरमा नयाँ ताजगी भर्न सकिन्छ । जाडोमा पारिलो घामले न्यानो बनाउने, गर्मीमा मायालु बतासले शीतल बनाउने बन्दीपुर साँच्चिकै ‘पहाडकी रानी’ नै हो ।

जहाँ दैनिक सयौंको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरू आउँछन् । यहाँको संस्कृति, परम्परा र प्राकृतिक छटासँग रमाउँछन् । जसरी नेपालका पहाडका थुम्काहरूलाई प्राकृतिक टावरको रूपमा हेर्ने गरिन्छ, उसैगरी बन्दीपुरको चुचुरो पनि उस्तै प्राकृतिक टावर हो । यहाँको स्वच्छ, सफा र स्निग्ध मौसमले जो-कोहीलाई मुग्ध पारिदिन्छ । त्यसैले बन्दीपुरको मौसमको मादकतामा मानिस आफैं ‘बन्दी’ बनिदिन्छ ।

बन्दीपुरबाट सूर्योदय र सूर्यास्तका सुन्दर दृश्यहरू हेर्न पाइन्छ । उत्तरतिरको लामो हिमालय र महाभारत पर्वतमाला शृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । बर्खाको झरीपछि उघारिएको आकाशमा प्रकृतिले सिंगो उपत्यकालाई इन्द्रेणीको सप्तरंगी मालाले सजाएको दृश्य हेर्न पाइन्छ ।

बन्दीपुरको टुँडिखेल क्षेत्रबाट ३६० डिग्रीकै चक्करमा देखिने वनजंगल, सुन्दर हिमशृंखला, पर्वतमाला, फाँट, मस्र्याङ्दी नदीको नागवेली दृश्य यहाँको अर्को मुख्य आकर्षण हो । त्यसैले यहाँ पर्यटकहरू बन्दीपुरको संस्कृति र पर्यावरणीय विविधता हेर्न आउँछन् ।

विभिन्न समुदायको मिश्रति कलासंस्कृति, प्राकृतिक सौन्दर्य र यहाँको मीठो आतिथ्यको कोसेली नै बन्दीपुरको बान्की हो । बन्दीपुरको बजारलाई पुरानै शैलीमा आधुनिक तवरले सिंगारिएको छ, जुन बन्दीपुरको अर्को विशेषता हो । कताकता भक्तपुरको झल्को दिने सानो तर सुन्दर बजार क्षेत्रले पनि पर्यटकहरूलाई केहीबेर पदयात्राको प्रमोद सञ्चार गरिदिन्छ ।

पर्यटनको खानी

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बन्दीपुरको शान्त वातावरणमा शरद ऋतुको सुगन्धित हरियाली बीच प्रेमालाप गर्दै टुँडिखेलमा विचरण गर्नुमा अर्को आनन्द हुनेछ । यो भूमिको सौम्य, निख्खर र शान्त वातावरणले जो-कोहीलाई मुग्ध बनाउँछ । साँझको समयमा बन्दीपुर बजारको सन्ध्याकालीन सफर पनि उत्तिकै यादगार हुनेछ । किनकि यहाँको मुख्य बजार क्षेत्रमा सवारी साधन निषेध गरिएको छ ।

त्यसैले सन्ध्याकालीन बन्दीपुर बजारको पैदल यात्रा निकै रोमाञ्चक हुन्छ । पोखरेली ढुंगाले छापिएको सिंढीयुक्त पैदलमार्ग, सफा चिटिक्क परेको सानो बजार क्षेत्र, पुराना कलात्मक झ्यालढोकाले सजिएका पुराना घरका लहर यहाँको भौतिक वैभव हो ।

मल्लकालीन संस्कृति र कला झल्किने संरक्षित पुराना घरका झ्यालढोकाले बजारको पुरातात्विक महत्व दर्शाउँछ । नेवारी, गुरुङ, मगर परम्परा र कला संस्कृतिले यहाँको सांस्कृतिक गरिमा बढाएको छ ।

यसर्थ ! प्राकृतिक, भौतिक र सांस्कृतिक वैभवले बन्दीपुरलाई साँच्चिकै सुन्दर त बनाएको छ- यही वैभव नियाल्न आन्तरिक तथा बाहृय पर्यटकहरूले बन्दीपुरलाई पोखरा यात्राको ट्रान्जिट प्वाइन्ट बनाएका हुन्छन् । पाहुनाहरूका लागि सर्वसुलभ बसाइ र स्वस्थकर खानाका लागि विभिन्न स्तरीय होटल, लजसहित यहाँ सामुदायिक होमस्टे पनि संचालित छ ।

२०६८ सालबाट सुरु गरिएको बन्दीपुर सामुदायिक होमस्टे स्थानीय समुदायका महिलाहरूको अग्रसरतामा व्यवस्थापन गरिएको तनहुँ जिल्लाकै पहिलो होमस्टे हो । झण्डै २०० जनासम्म पाहुनालाई राख्ने क्षमता भएको यो होमस्टे आफैंमा इन्द्रेणी राष्ट्रियताको प्रतिबिम्ब झैं लाग्छ । किनकि यहाँ संचालित होमस्टेमा कुनै एक समुदाय विशेष मात्र नभई नेवार, गुरुङ, मगर, सुनार, बाहुन-क्षत्री सबै मिलेर होमस्टे संचालन गरेका छन् ।

विशेषतः होमस्टेमा बास बस्ने आन्तरिक पर्यटक नै बढी हुन्छन् । यहाँ आउने पाहुनाहरूलाई होमस्टेको नियम अनुसार घरलौरी विभाजन गरेर राखिने गरिन्छ । आन्तरिक तथा बाहृय पर्यटकलाई हृदयदेखि नै स्वागत गर्ने बन्दीपुरवासी आमा दिदीबहिनीहरूको मिहिनेत र आतिथ्यताले बन्दीपुरको सम्झना जो-कोहीको मनमस्तिष्कमा ताजै रहन्छ ।

बन्दीपुरको वैभव नियालेर फर्किंदै गर्दा होमस्टेका दिदीबहिनीहरूले पाहुनालाई स्वागत गर्दै गाएको गीत झन् झन् ताजा हुँदै जान्छ – ‘तीन धाराको त्यो चिसो पानी, लाग्छ माया छोडेर काँ जानी !’

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?