+
+

आत्मविश्वासी नेपाललाई पानीको पीर

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० वैशाख १७ गते २०:२७

१७ वैशाख, काठमाडौं । विश्व च्याम्पियन भइसकेका भारत र पाकिस्तान जस्ता महारथी टिमसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने सपना भेट्टाउन नेपाल टिम इतिहासमै सबभन्दा नजिक छ । त्यसका लागि जारी एसीसी प्रिमियर कपको फाइनलमा सोमबार त्रिवि मैदानमा यूएईको चुनौती पन्छाउनुपर्नेछ ।

इतिहास हेर्ने हो भने उमेर समूहदेखि सिनियर टिमसम्म नेपालका लागि यूएई ठूलो बाधा बन्ने गरेको छ । टी–२० विश्वकपदेखि उमेर समूहको विश्वकपसम्म निर्णायक क्षणमा यूएईले नेपाललाई अवरोध गर्ने गरेको इतिहास छ । यो त इतिहास हो, वर्तमान भने नेपालको अनुकूल छ ।

दुई महिनाअघि नेपालले हासिल गरेको दुई महत्वपूर्ण सफलताका लागि निर्णायक खेलमा यूएई नै पराजित भएको छ । १८ फागुनमा नेपालले घरेलु टिम यूएईलाई ७ रनले हराएर ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट पाएको थियो । २ चैतमा त्रिवि मैदान, कीर्तिपुरमा यूएईलाई डीएलएस प्रणालीमा ९ रनले पराजित गरी एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको थियो ।

प्रमुख प्रशिक्षकका रूपमा मोन्टी देशाईको आगमन भएसँगै नेपाल क्रिकेट टिम अविश्वसनीय लयमा छ । त्यसयता खेलेको १३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १२ जित हासिल गरेको छ भने घरेलु मैदानमा सबै फम्र्याटमा गरी १३ खेलसम्म अपराजित छ ।

५ वैशाखदेखि सुरु भएको एसीसी प्रिमियर कपमा समूहमा अपराजित रहँदै विजेताका रूपमा नेपाल सेमिफाइनल पुगेको हो । नेपालले समूह ए मा रहेर मलेसिया, ओमान र कतारलाई हराउँदा साउदी अरबसँगको खेल वर्षाले रद्द भयो ।

यूएईको प्रदर्शनमा उतारचढाव छ । प्रिमियर कपमै समूह बीमा रहेको यूएईले कुवेत, बहराइन र सिंगापुरलाई हराउँदा हङकङसँग भने हार व्यहोरेको थियो ।

सेमिफाइनलमा नेपाल र कुवेतको खेल वर्षाले रद्द भए पनि समूह चरणको प्रदर्शनका आधारमा नेपाल फाइनल पुग्यो । यूएईले भने ओमानमाथि डीएलएस प्रणालीका आधारमा २ रनको रोमाञ्चक जित निकाल्दै नेपालसँग भेट पक्का गर्‍यो ।

‘भारत र पाकिस्तानसँग खेल्नु एउटा ठूलो अवसर हो । त्यसैले सबैले आफूलाई शान्त राख्नुपर्छ र त्यो पनि एउटा खेल नै हो भनेर सामान्य रूपमा लिनुपर्छ’ फाइनल खेलबारे नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भने, ‘यो खेल दुवैका लागि महत्वपूर्ण छ । त्यो परिस्थितिमा जसले दबाबको सामना गर्न सक्छ, सायद त्यसैले जित्नेछ ।’

नयाँ प्रशिक्षक मोन्टी देशाईको वान बल ब्याटल र ह्याप्पी ड्रेसिङ रुमको रणनीतिले नेपाल क्रिकेट यतिबेला अविश्वसनीय लयमा छ । भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउने प्रेरणाले नेपाल टिम उत्साहित समेत छ । घरेलु माहोलको फाइदासहित पछिल्लो लयले यूएईलाई प्रतिस्पर्धात्मक क्रिकेट खेलेरै पराजित गर्न सकिनेमा नेपाल टिमका सदस्यहरू आत्मविश्वासी देखिएका छन् ।

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता नेपालले यूएईसँग खेलेको १३ मध्ये ७ खेल जितेको छ । लिग टूको पछिल्लो दुई शृंखलामा खेलेको चारमध्ये ३ खेल नेपालले जितेको छ । पछिल्लोपल्ट २ चैतमा ३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल स्थगित भएपछि ९ रनले विजय पाएको थियो ।

यूएईका कप्तान मोहम्मद वासिमसहित शीर्ष ब्याटिङक्रमको पछिल्लो लय नेपालका लागि चुनौती हुनसक्ने रोहित बताउँछन् ।

जारी प्रतियोगितामा यूएईका शीर्ष ब्याटरहरू कप्तान वासिमले सिंगापुरमाथि १६० रनको शतकीय पारी खेलेका थिए भने सेमिफाइनलमा ओमानसँग सर्वाधिक ४८ रन जोडेका थिए । २० वर्षीय विकेटकिपर ब्याटर वृत्य अरविन्दले कुवेत विरुद्ध करिअरकै सर्वाधिक १८५ तथा सिंगापुरविरुद्ध १७४ रनको शानदार पारी खेलेका थिए । उनले बहराइन विरुद्ध पनि अविजित ६२ रन बनाएका थिए ।

नेपालका लागि उच्च लयमा रहेका कुशल मल्ल, सोमपाल कामी र सन्दीप लामिछानेको प्रदर्शन फाइनलमा पनि उस्तै रहनुपर्नेछ । कुवेतसँग रद्द भएको खेलमा नेपालको ओपनिङ जोडीको ७७ रनको साझेदारीलाई हेर्दा फाइनलमा पनि त्यस्तै अपेक्षा राखिएको छ । लिग टूको अन्तिम खेलमा यूएईले पछिल्लो ६ ओभरमा १०८ रन बनाउँदा आसिफ खानले ४१ बलमै शतक पूरा गरेका थिए ।

यो प्रदर्शनले झस्किएका प्रशिक्षक मोन्टी देशाईले डेथ ओभर बलिङको समस्यालाई सुधार्न एक महिना मिहिनेत गरेका छन् । ओमानसँगको खेलमा समस्या केही हदसम्म सुधारिएको थियो । त्यो खेलमा नेपाल जित्नैपर्ने दबाबमा थियो भने यूएईलाई गुमाउनु केही थिएन । तर यसपल्ट भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एक्स्पोजर दुवै टिमका लागि उत्तिकै महत्वपूर्ण छ ।

सन् २०१९ मा यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा वर्षा बाधक बनेपछि यूएईसँग डीएलएस प्रणालीमा १ रनको हार व्यहोर्नुपर्दाको पीडाले नेपाल टिमलाई अहिले पनि झस्काउँछ । त्यतिबेला नेपाली युवा टिमको कप्तानी रोहितले नै गरेका थिए ।

लिग टूको अन्तिम खेलमा डीएलएस प्रणालीमा यूएईलाई ९ रनले हराएर एकदिवसीय विश्वकपमा पुगेपछि कप्तान रोहितले चार वर्षअघिको पराजयलाई सम्झिएका थिए । सोमबार अर्को महत्वपूर्ण खेलका लागि पनि वर्षाको पूर्वानुमानले नतिजामा डीएलएस प्रणालीमा आकर्षित हुने सम्भावना छ ।

पानीको पीर

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार नेपाल र कुवेतबीचको सेमिफाइनल र आइतबार ओमान र कुवेतबीचको तेस्रो स्थानको प्लेअफ खेल खराब मौसमका कारण रद्द भयो । दुवै खेलमा अरू कारणबाट विजेताको छिनोफानो गरिएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झा सोमबार (भोलि) काठमाडौं उपत्यकाको मौसम आजको भन्दा खराब रहने अनुमान गर्छन् । ‘काठमाडौंमा आजजस्तो बदली भोलि पनि कायमै रहनेछ’ मौसमविद् झाले भने, ‘भोलि बिहान १०/११ बजेको समयपछि दिउँसो २/३ बजेको समयसम्म मेघ गर्जन र चट्याङ सहितको वर्षा हुने सम्भावना उच्च छ ।’

प्रतियोगिताको फाइनलका लागि मंगलबार रिजर्भ डे राखिएको छ । पश्चिमी र स्थानीय वायुको सक्रियताले बिग्रिएको मौसम यो साताभरि यस्तै रहने भए पनि सोमबारको तुलनामा मंगलबार वर्षा कम हुने मौसमविद् झाले बताएका छन् ।

खेल नभए कसरी आउँछ नतिजा ?

नेपाल र यूएईबीचको फाइनल खेल सोमबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यो नेपालका लागि ५१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत हुनेछ ।

बिहान टस भएसँगै खेल सुरु भइसकेपछि वर्षाले बिथोलिएको अवस्थामा अपराह्न ४ः४० सम्मको समयमा कम्तीमा २० ओभरको खेल सञ्चालन गर्ने प्रयास गरिनेछ । एकदिवसीय क्रिकेटमा खेलको नतिजा आउन कम्तीमा २० ओभर खेल्नैपर्ने हुन्छ ।

बिहान ९ बजे हुने खेलको अधिकतम समय (कट अफ टाइम) साँझ ५ः२४ सम्म रहनेछ । यदि ४ः४० भित्र कम्तीमा २० ओभरको खेल संचालन गर्न असम्भव भएमा अम्पायरले सुपर ओभरबाट खेलको नतिजा निकाल्न पाउनेछन् ।

पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभरबाट पनि खेलको नतिजा ननिस्किएमा आईसीसी वरीयताका आधारमा विजेता छिनोफानो हुनेछ ।

तर सोमबार नियमित वा सुपर ओभरको खेल हुन सकेन भने मंगलबार खेलाइनेछ ।

टस भएर खेल संचालन भइसकेको अवस्थामा वर्षा बाधक भएको छ भने जुन अवस्थाबाट खेल स्थगित भएको छ सोही अवस्थाबाट भोलिपल्टको खेल सुरुवात हुनेछ ।

मंगलबार पनि वर्षाले असर गरेको अवस्थामा अघिल्लो दिनको जस्तै कम्तीमा २० ओभरको खेल खेलाउने प्रयास हुनेछ, त्यो पनि सम्भव नभए सुपर ओभर हुनेछ । खेलमार्फत हुने सबै प्रकारका नतिजा असम्भव भएको अवस्थामा आईसीसी वरीयताका आधारमा अगाडि रहने टिमलाई उपाधि विजेता बनाइनेछ ।

आईसीसी वरीयतामा नेपाल अगाडि (१४औं) स्थानमा रहेका कारण दुवै दिन कुनै पनि तरिकाबाट खेलको नतिजा नआएको अवस्थामा नेपाल विजयी हुनेछ ।

तेस्रो स्थानको प्लेअफमा आइतबार कुवेतले दिएको १३१ रनको लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा विना क्षति ४१ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । ५ः२४ को कट अफ समयसम्म पनि खेल खेलाउन मैदान योग्य नहुँदा आईसीसी वरीयताका आधारमा ओमानलाई विजयी घोषणा गरिएको हो ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?