 
																						२१ वैशाख, विराटनगर । हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकेदारले काम रोकेपछि संघीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मोरङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, मोरङ–५ बाट निर्वाचित योगेन्द्र मण्डल, कोशी प्रदेशसभा सदस्य गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनबर्षी नगरपालिका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार, कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।
पटक पटक आग्रह गर्दा काम अघि नबढेपछि आन्दोलन गर्नुपर्ने अवस्था आएको मोरङ–२ का सांसद ऋषिकेश पोखरेलले बताए । ‘हामीले यो विषय प्रदेश, केन्द्रका सबै ठाउँमा उठ्यौं, सिडिओ कार्यालयमा पटक पटक छलफल गर्यौं, तर पछिल्लो एक महिनादेखि काम ठप्प भयो’, उनले भने, ‘हामीले राज्य संयन्त्रलाई दबाव सिर्जना गरेका छौं ।’
मोरङमा हुलाकी राजमार्गको ४४ किलोमिटर पर्छ । जसमा रंगेली क्षेत्रको साढे ७ किलोमिटर सडक निर्माणको काम सकिएको छ । हुलाकी मार्गमा पर्ने विराटनगर बजार क्षेत्रका सडक पहिले नै कालोपत्रे भइसकेको थियो । बाँकी क्षेत्रको करिब ३० किलोमिटर खण्डमा काम रोकिएको हो ।
हुलाकी मार्गको लिङ्क रोडको काम पनि ठप्प छ । काम रोकिएको सडकमा धुलोका कारण हिँड्न सक्ने अवस्था नरहेको उनले बताए । सांसद पोखरेलले भने, ‘एक हप्ताभित्र सडक निर्माणको काम प्रारम्भ भएन भने हामी जनताको दुःख हेरेर बस्न सक्दैनौं ।’

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाका अनुसार रंगेली दक्षिणको बेतौनादेखि विराटनगर जोड्ने सिंघिया खोलाको पुलसम्मको काम ठप्प छ । दुई वटा प्याकेजको यो क्षेत्रको काम गर्न पीएस गजुरमुखी मोतीदाम जेभी र श्रेष्ठ कन्ट्रक्सनले ठेक्का पाएका छन् ।
अन्य क्षेत्रमा भने काम सुस्त भएको उनले बताए । ‘काम नहुने कारण सय प्रतिशत निर्माण व्यवसायी हुन्, कार्यालयका कारणले कुनै अवरोध छैन, भुक्तानीमा पनि समस्या छैन’, इन्जिनियर खतिवडाले भने, ‘लिखित, मौखिक पत्राचार गरेर भनेका छौं तर काम नभएपछि कारवाही प्रक्रियामा अगाडि बढेका छौं ।’
तीन वर्षअघि ठेक्का लिएका ठेकेदारले बजार मूल्य बढेको कारण देखाएर काम रोकेको उनले बताए । आर्थिक कारण भने ठेकेदारको आन्तरिक भएको बताउँदै उनले भने, ‘हाम्रो भुक्तानीमा (कार्यालयले ठेकेदारलाई दिने) कुनै समस्या छैन ।’ हुलाकी सडकको मोरङ खण्डमा ठेक्का पाएर काम नगरेका ठेकेदारलाई दिएको पेश्की फिर्ता ल्याउने तयारी भएको उनले बताए ।
को को छन् ठेकेदार ?
इन्जिनियर खतिवडाका अनुसार मोरङमा सडक निर्माणका लागि विभिन्न प्याकेजमा ठेक्का लगाइएको छ । रतुवामाइदेखि रंगेलीको भूमि टोलसम्मको १६ किलोमिटर निर्माण ठेक्का पिएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ । यो खण्डको काम सुस्त छ ।
भूमि टोलदेखि बेतौनासम्म साढे सात किलोमिटर निर्माणको ठेक्का कालिका मैनाचुली वेदाङ्सी जेभीले पाएको थियो । यो खण्डको काम भने ठेकेदार कम्पनीले समयमा नै पूरा गरेको थियो ।
बेतौनाबाट कटहरीको नयाँ बजारसम्म १२ किलोमिटर निर्माणको ठेक्का पीएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ । नयाँ बजारदेखि विराटनगर हाटखोलासम्म ६ किलोमिटरको ठेक्का श्रेष्ठ कन्ट्रक्सनले लिएको छ । विराटनगर बजार क्षेत्रमा सडक विस्तारको योजना छैन ।
विराटनगर बरगाछीदेखि केसलिया खोलासम्म चार किलोमिटर देव एण्ड सायर भूमि जेभीले ठेक्का लिएको छ । बरगाछी– केसलिया खण्ड निर्माणको जिम्मा पाएको भूमि कन्ट्रक्सनका सञ्चालक फरार भएपछि रोकिएको कामदेव एण्ड सायरले सुरु गरेको छ ।
बेतौनादेखि विराटनगरको खण्डमा ठेकेदारले साइटवाल निर्माण र माटो भर्ने काम सुरु गरेर एक महिनादेखि अलपत्र छाडेका छन् । अलपत्र सडकको दायाबायाका जनतालाई बस्न मुश्किल भएको सांसद पोखरेलले बताए ।
हुलाकी राजमार्गले विराटनगर महानगरपालिका, मोरङका रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रलाई समेटेको छ । ६ वटै पालिकाका सर्वसाधारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।
सडक नबनेपछि विराटनगर जमुनगाछीका सर्वसाधारणले भने बस्तीमा नेता निषेध अभियान नै सञ्चालन गरेका थिए । सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नरहेको धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारले बताए । बर्खामा पानी पर्न थालेपछि गाडी, बाइक, साइकल चलाउन नसकिने उनले बताए ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीको गुनासो पनि उस्तै छ । मोरङ–५ का सांसद योगेन्द्र मण्डलले सडक निर्माणका लागि आवाज उठाउन नसुनेका कारण लाठी उठाउनुपर्ने अवस्था आएको बताए । प्रदेश सांसद भीम पराजुलीले काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्ने बताए । प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले हुलाकी सडक हिँड्न नसक्ने अवस्था रहेको बताए ।
बिना जानकारी सडक ठप्प पारेर ठेकेदार बेपत्ता भएपछि संघर्षमा उत्रिनुपर्ने अवस्था आएको सांसद र पालिका प्रमुखले गुनासो गरे ।
लिङ्क रोडको अवस्था पनि उस्तै
पथरीदेखि रंगेलीसम्म हुलाकी मार्गको लिङ्क रोड निर्माणको ठेक्का दुईवटा प्याकेजमा कान्छाराम कन्ट्रक्सनले पाएको छ । कान्छारामले पनि काम ठप्प पारेको प्रदेश सांसद लिलाबल्लभ अधिकारीले बताए ।
‘हुलाकी राजमार्गको भन्दा कम समस्या छैन रंगेली पथरी सडक खण्डको’, उनले भने, ‘ठेकेदारले काम रोकेपछि जनताले सास्ती पाएका छन् ।’
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर खतिवडाले पटक पटक काम सुरु गर्न ताकेता गर्दा अटेर गरेपछि कान्छारामलाई कारवाहीको प्रक्रिया सुरु गरिएको बताए ।
‘बेतौनादेखि विराटनगरसम्म र पथरी रंगेली (दुई प्याकेजमा) ठेक्का लिएका ठेकेदार कम्पनीलाई कारवाही प्रक्रिया सुरु गरेका छौं’, उनले भने, ‘काम सुरु नगरेपछि पेश्की फिर्ताका लागि बैंकलाई पत्र लेखिसक्यौं ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4