News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा बर्डफ्लू संक्रमण पुष्टि भएको छ र संक्रमित स्थानमा कुखुरा नष्ट गर्ने काम भइरहेको छ।
- विराटनगर र सुनसरीका विभिन्न पोल्ट्री फार्ममा हजारौं कुखुरा बर्डफ्लूका कारण मरेका वा नष्ट गरिएका छन् भने नमुना परीक्षणका लागि काठमाडौं पठाइन्छ।
- पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा कमल गिरीले कुखुरा पालनमा तालिम र स्वास्थ्य व्यवस्थापन आवश्यक भएको बताए।
९ चैत, विराटनगर । कोशी प्रदेशका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा बर्डफ्लू भेटिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार, मोरङका ५, सुनसरीका ५ र झापाको १ स्थानमा बर्डफ्लू संक्रमण भेटिएको हो ।
पछिल्लो केही दिनयता बोइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम बढ्दो छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरमा दैनिक ५–७ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेका छन् ।
विराटनगरमा परीक्षण गर्दा शंकास्पद देखिए थप परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा नमुना पठाइन्छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डाक्टर अजयकुमार साहका अनुसार, विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्म, सुन्दरहरैँचा नगरपालिका–४ स्थित हलेसी महादेव कृषि फार्म, उर्लाबारी नगरपालिका–८ स्थित अठियावारी कृषि फार्म, कटहरी गाउँपालिका–२ स्थित ए टु जेड पोल्ट्री फार्म, कटहरी–६ स्थित कामख्या पोल्ट्री फार्ममा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।
संक्रमण देखिएपछि ती स्थान आसपास शिल गरेर पन्छी र पन्छीजन्य सामग्री नष्ट गर्ने काम भइरहेको उनले बताए ।
विराटनगरको दाहाल कृषि फर्ममा ६ हजार लेयर्स कुखुरा थिए । तीमध्ये ३ हजार कुखुरा आफैं मरेका थिए । बाँकी ३ हजार कुखुरा बर्डफ्लू देखिएपछि नष्ट गरिएको थियो । नष्ट गरिएको कुखुरा विराटनगर महानगरपालिकाले नष्ट गरिरहेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका १९ मा रहेको ओको कृषि फर्म, इटहरी १७ मा रहेको लक्ष्मी पोल्ट्री फार्म, इटहरी १८ मा रहेको रानी कृषि फार्म, इटहरी ११ मा रहेको आलम कृषि फर्म, गढी गाउँपालिका ५ मा रहेको संगित कृषि फर्ममा बर्डफ्लू पुष्टि भएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा मनोजकुमार महतोका अनुसार, सबैभन्दा धेरै ओको कृषि फर्मममा रहेको ११ हजार २० कुखुरा नष्ट गरिएको छ ।
उनका अनुसार अन्य केही स्थानको स्याम्पल परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
झापा दमक नगरपालिका १० मा रहेको दमक एग्रिकल्चरमा बर्डफ्लूको संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएका क्षेत्रहरूमा सरकारी टोलीले ‘स्ट्याम्पिङ आउट’ (पन्छी नष्ट गर्ने) प्रक्रिया अघि बढाएको छ । संक्रमण पुष्टी भएको फर्मका कुखुरा, अण्डा, दाना र फर्ममा ओछ्याइएको सामग्री समेत नष्ट हुन्छ ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डाक्टर कमल गिरीका अनुसार प्रयोगशालामा परीक्षण गर्दा शंकास्पद देखिएका करिब ५० वटा स्याम्पल परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा पठाउँदा ११ वटा नमुनामा एच५एन१ पुष्टि भएको हो । उनका अनुसार गत साउन यता शंकास्पद देखिएका १९८ नमुना परीक्षणका लागि केन्द्रमा पठाउँदा ४५ नमुनामा बर्डफ्लू पुष्टि भएको छ ।
क्षेत्रीय प्रयोगशालामा परीक्षण गर्दा अधिकांश मरेका कुखुरामा एच ९ भाइरस देखिएको छ । यो (एच९) भाइरस एच५एन१ (बर्डफ्लू) भन्दा कमजोर हो । गिरीका अनुसार एच पाइभ एन वान अत्यन्त घातक भाइरस हो । यो मानिसमा समेत सर्ने जोखिम हुन्छ । मानिसमा सर्ने जोखिम भएका कारण सतर्कताका साथ कुखुरा र फर्ममा भएका सामग्री नष्ट गरिन्छ ।
एच९ भाइरसका कारण पनि धेरै फर्मका कुखुरा मरेका छन् । जसको क्षतिको विवरण संकलन भइसकेको छैन । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख महतोका अनुसार एच ९ भाइरसका कारण मरेका कुखुराको बीमा दाबी गर्न मिल्छ । तर, बिमा नगरेकाको हकमा भने क्षति कभर गर्न मिल्दैन । ‘बर्डफ्लु पुष्टि भएका स्थानमा सरकारले क्षतिपूर्ती दिन्छ, एच ९ भाइरसको हकमा बिमा दाबी गर्न मिल्छ,’ उनले भने ।
ज्ञानको अभाव
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरका प्रमुख डाक्टर गिरीका अनुसार कुखुरा पालन गरिरहेका धेरै किसानमा कुखुरा पालन सम्बन्धी ज्ञानको अभाव देखिन्छ । कुखुरा पालनसम्बन्धी तालिम लिएर मात्रै कुखुरा पालन गर्नुपर्ने उनको आग्रह छ ।
‘कुखुरा पालनमा आधारभूत तालिम र ज्ञानको अभावले पनि रोग छिटो फैलने जोखिम हुन्छ,’ उनले भने, ‘किसानका लागि स्वास्थ्य व्यवस्थापन र जैविक सुरक्षा सम्बन्धी तालिम आवश्यक छ ।’
कुखुरा पालनसम्बन्धी तालिम स्थानीय तहहरूले गरिदिए किसानलाई सहज हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4