+
+

वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर छौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते ११:१४

२२ वैशाख, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताएका छन् ।

२५६७औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताए ।

लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गरिने उल्लेख गर्दै प्रधानमन्त्रीले तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको बताए ।

क्रान्ति र शान्ति एक अर्काका पूरक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तर यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरुपता हुन नसकेको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताए ।

उनले प्रधानमन्त्री प्रचण्डसँग क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मेवारी रहेको मन्त्री किरातीले बताए ।

लुम्बिनी विकास कोषमा अनेकौं विकृति विसंगती रहेको भन्दै उनले विकृति हटाउने बताए ।

उनले जेठ १६ गतदेखि नेपाल वायुसेवा निगमका जहाज गौतमबुद्ध विमानस्थलबाट चल्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनि अघि बढ्न नसकेकाले अघि बढाउनुपर्ने बताएका छन् ।

२५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकषिर्त गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।

बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरु निर्माण र हरेक महिना पुजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताए ।

मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरे ।

लुम्बिनीको धार्मिक पर्यटनबाट देशको आर्थिक विकासमा कायापलट गर्न सकिने औंल्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी विकास कोषको विनियमावली र विधान संशोधन गरी प्रदेश र स्थानीय सरकारले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्ने आवश्यकता औंल्याए ।

केन्जो टांगेले ४६ वर्ष अघि बनाएको गुरुयोजना सकिने चरणमा रहेकाले अब लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको गुरुयोजना बनाउनुपर्ने बताए ।

लुम्बिनी विकास कोषले अहिले स्थानीयलाई जोड्न नसकेको भन्दै मुख्यमन्त्रीले पर्यटकको बसाइ लम्बाउन सरोकारवाला सबैसँग सहकार्य गरेर नीति बनाउन आवश्यक रहेको बताए ।

कोषका उपाध्यक्ष अवधेश त्रिपाठी लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताए ।

उनले विश्वभरका करिब चार अर्ब बौद्ध धर्मावलम्बी रहेका उल्लेख गर्दै उनीहरुलाई बुद्ध सर्किटमा आकर्षित गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?