+
+

नेवार बस्तीमा हुने डबलीको के छ महत्व ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० वैशाख २२ गते १२:२१

काठमाडौं । कुनै सभा, समारोह, कन्सर्ट, आमसभा गर्न मञ्च बनाएको त सबैले देखेकै छौं । यस्तो मञ्च आवश्यक पर्दा बनाइने र काम सकिएपछि भत्काउने गरिन्छ ।

खासगरी काठमाडौं उपत्यकाका पुराना नेवारी बस्तीका यस्ता मञ्च देखिन्छन्, जुन स्थायी रुपमै बनाइएको हुन्छ । त्यसलाई नेपाल भाषामा दबु अर्थात् डबली भनिन्छ । यसको निर्माण यति वैज्ञानिक ढंगले गरिएको पाइन्छ कि यो बस्तीको बीचको खाली भागमा हुन्छ, जहाँ सबैले कार्यक्रम गर्न, हेर्न पाउन् ।

काठमाडौं उपत्यकाका तीनै मुख्य सहर काठमाडौं, ललितपुर र भक्तपुर यस्ता दबु अर्थात् डबली थुप्रै ठाउँमा देख्न सकिन्छ । त्यसमा पनि भक्तपुरका थुप्रै ठाउँमा दबु छन् ।

कहाँ कहाँ छन् भक्तपुरमा दबु ?

भक्तपुरमा मुख्य पर्यटकीय क्षेत्र तथा बस्तीमा धेरै डबली देखिन्छन् । पूर्वमा सूर्यमढी दबु, दत्तात्रय दबु (दत्तात्रयको भीमसेन मन्दिरको अगाडिको दबु), टौमढी दबु (पाँचतल्ले मन्दिर अगाडि), व्यत दबु (पाँचतल्ले मन्दिर अगाडि ठूलो दबुसँगै जोडिएको), नासमना दबु, दरबार स्क्वायर दबु (दरबार स्वायरको भण्डाल पुखु अगाडिको दबु) आदि ।

दबु चारपाटे आकारका हुन्छन् । नेपाल भाषाका शिक्षक कृष्ण प्रजापतिले दबु जुन ठाउँमा छ, त्यही ठाउँमा नामकरण गरिएको बताउँछन् । नेपालभाषाबाट नामकरण गरिएका दबुका नाम सुजमरी, तचपा (मम्पती) दबु, तरांग दबु, ब्यत दबु, नासमना दबु, ल्याकु दबु आदि छन् ।

किन बनाइन्थ्यो दबु ?

पहिले मनोरञ्जनका लागि अहिलेजस्तो माध्यम थिएनन् । अहिले घरघरमा टिभी, हातहातमा स्मार्ट फोन, कम्प्युटर, सिनेमा हलजस्ता मनोरञ्जनका अनेक साधन छन् । पहिले मनोरञ्जन गर्न दबु अर्थात् डबली मात्रै थियो ।

लिच्छविकाल र मल्लकालमा मनोरञ्जन गर्ने ठाउँ दबु मात्रै रहेको संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । ‘दबुमा सेनाले अभ्यास गर्ने, राजामहाराजाको उत्सव मनाउने, नाटक मञ्चन गर्ने, सभा समारोह गर्ने गरिन्थ्यो । कुनै निर्णय सुनाउनु परे पनि दबुमै सुनाइन्थ्यो,’ उनी भन्छन्, ‘गाईजात्राका बेला ल्याइने देवी प्याखं, (नाच) भैल प्याखं, ख्यागोरा प्याखं, कवांचा प्याखं, ख्यालहरु हेरेर मानिसहरु निकै रमाउँथे ।’

श्रेष्ठका अनुसार दबुको विकास लिच्छविकालमा भएको हो । त्यसबेला टोलैपिच्छे एउटा दबु अनिवार्य बनाउने गरेको पाइएको उनी बताउँछन् ।

कुनैबेला भक्तपुरका २१ टोलमा ३२ वटा दबु रहेकोमा अहिले नासिंदै गएर ५-७ वटा मात्रै रहेको श्रेष्ठ बताउँछन् ।

‘अधिकांश दबु मासिसकेका छन् र केहीको अवशेष मात्रै बाँकी छ,’ उनी भन्छन् ।

दबुमा के के गरिन्थ्यो ?

अन्य ठाउँका भन्दा भक्तपुरको टौमढीमा रहेको दबुको भने छुट्टै विशेषता छ । टौमढीको तरन दबुबाट मल्लकालमा कुनै कार्यक्रम गरेमा कर उठाउने चलन थियो । कसैले ऋण चुक्ता गर्न आनाकानी गरेमा दबुमा उभ्याएर माफी समेत माग्न लगाइने प्रचलन त्यसबेला रहेको संस्कृतिविद् श्रेष्ठ बताउँछन् ।

त्यस्तै टौमढीको ब्यत दबुमा बिस्का जात्रामा भैरवनाथको रथ अगाडि राखिने ब्यत द्यो बेताल देवतालाई त्यही राखेर पूजाआजा गर्ने गरिन्छ ।

अहिले दबुको प्रयोग जाडोमा घाम ताप्न र बेलुका भजनकीर्तन गर्न हुने गरेको छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?