+
+
पोखरा स्पोर्टस् अवार्ड :

क्रिकेटर करण र फुटबलर सावित्रा सर्वोत्कृष्ट

सुवास उदीयमान, स्व. निसिमलाई कीर्तिशेष

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १९:०३

२३ वैशाख, पोखरा । पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणको उत्कष्ट खेलाडीमा पुरुषतर्फ नेपाली राष्ट्रिय त्रिकेटका खेलाडी करण केसी र महिलातर्फ फुटबलकी सावित्रा भण्डारी साम्बा घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि अवार्ड वितरण गर्दै आइरहेको छ । उपाधिसँगै दुवै खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।

पुरुषतर्फ करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी केसीको जन्म बागलुङमा भएको थियो । राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेल खेलेका उनले त्यस अवधिमा ३ सय १४ रन बनाएका छन् ।

यसैगरी टि–२० मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि–२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् ।

करणले नेपाललाई आईसीसी विश्वकप लिग–२ मा शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चार वर्षसम्मलाई ओडीआई मान्यता जोगाउन महत्वपूर्ण योगदान दिएका थिए ।

नेपालका तीव्र गतिका बलर करण केसीले लिग–२ मा शानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए ।

उनले तीन पटक ४ विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध त्रिवि क्रिकेट मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडीआई क्रिकेटमा पाँच विकेट ३ पटक लिने नेपाली पहिलो खेलाडी हुन् ।

उनी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्ने टिमका सदस्यसमेत हुन् । यसका साथै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए ।

‘यसरी नै खेलाडीलाई सम्मान गरेर फ्युचरमा अझै राम्रो गर्ने मौका दिनु भएकोमा हार्दिक धन्यवाद’ पुरस्कृत भइसकेपछि खेलाडी केसीले प्रतिक्रिया दिए ।

यसअघि यो विधाबाट सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी,  प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसाइली र टेनिसका प्रदीप खड्का पुरस्कृत भइसकेका छन् ।

महिलातर्फ सावित्रा सर्वोत्कृष्ट

त्यस्तै महिलातर्फ पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको सर्वोत्कृष्ट फुटबलकी सावित्रा भण्डारी घोषित भएकी छन् । तर, उनी हाल खेलको दौरान भारतमा रहेकाले उनको पुरस्कार परिवारका सदस्यले ग्रहण गरेका थिए । उत्कृष्ट ३ मा सावित्रासँगै आर्चरीकी रोजिना थापामगर, तेक्वान्दोकी सुस्मिता थापामगर परेकी थिइन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर २६ वर्षीया सावित्रा भण्डारी ‘साम्बा’ लमजुङमा जन्मिएकी हुन् । १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबलभन्दा अघि एथ्लेटिक्स र भलिबल खेलाडी हुन् ।

उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् ।

त्यसपछि हालसम्म गरी उनले नेपालका तर्फबाट एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन् । उनी ०७० सालदेखि विभागीय एपीएफ क्लबसँग आवद्ध छिन् । उनी भारतको क्लबमा समेत आवद्ध रहदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छिन् ।

यसअघि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, करातेकी सुष्मी श्रेष्ठ छन् । भलिबलकी अरुणा शाहीले २ पटक सर्वोत्कृष्ट महिला खेलाडी बनेकी थिइन् ।

सुवास उदीयमान, स्व. निसिमलाई कीर्तिशेष

पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । उनीसँगै उत्कृष्ट ३ मा परेका फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै उनी वर्ष उदीयमान खेलाडी घोषित भएका हुन् ।

१९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु १९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशका सोही टोलीका टिम कप्तानसमेत हुन् । नेपाललाई यु–१९ विश्वकप छनोटमा पुर्‍याउन उनको ठूलो योगदान रह्यो । नेपालले क्रिकेटको यु–१९ विश्वकप खेल्दैछ ।

भण्डारीले यसअघि विश्वकप छनोटका लागि पाँच खेल खेले । पाँच खेलमा उनले कुल ७ विकेट लिए । चार खेलमा उनले विकेट लिएका हुन् । सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए । हङकङविरुद्धको खेलमा १० ओभरमा १० रन खर्चेर २ विकेट लिए । मलेसिया विरुद्धको खेलमा ९ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

भण्डारी बागलुङमा जन्मिएपनि उनले कास्कीमा नै रहेर क्रिकेट करिअर अघि बढाएका थिए । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले विकेटमात्र होइन ६ खेलमा १२४ रन बनाएका थिए ।

प्रदेश छनोट पश्चात उनी यु–१९ टिमको सुरुआती २८ मा पर्न सफल भए । त्यसपछि अन्तिम अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए ।

त्यस्तै, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई खेलकुद पत्रकार मञ्च, गण्डकीले कीर्तिशेष सम्मान अर्पण गरेको छ । थापाको प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?