
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थालाई सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई बैंकको विभिन्न शाखाहरुले सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकको नेपालगञ्ज शाखाले कोहलपुर नगरपालिका-११ मा रहेको निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोकेमेस्ट्री एनलाइज मेसिन सहयोग गरेको छ । स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्यूनतम मूल्यमा किडनी, लिभर, सुगर र युरिक एसिड सम्बन्धी प्रयोगशाला चेकजाँचमा सहजता पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकका लुम्बिनी प्रदेश ‘ख’ का प्रदेशिक प्रबन्धक खगेन्द्रबहादुर साउद र नेपालगञ्ज शाखाका शाखा प्रबन्धक बिन्दुप्रसाद शर्माले प्रतिष्ठानका अध्यक्ष पूर्णिमा शाहीलाई संयुक्त रुपमा उक्त मेसिन हस्तान्तरण गरेका थिए ।
बैंकको डल्लु र ठमेल शाखाले जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा सहयोग गरेको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तीव्र गतिमा सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानका लागि बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ ।
बैंकको वीरगञ्ज शाखाले वीरगञ्ज महानगरपालिका-१४ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयलाई ६ थान स्मार्ट टेलिभिजन सहयोग गरेको छ । बालविकास ईसीडीदेखि १२ कक्षासम्म अध्यापन गराइने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन सहयोग पुग्ने उद्देश्यका साथ ईसीडीदेखि ५ कक्षा सम्मका विद्यार्थीहरुका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4