+
+

त्रिविले किन रोक्यो सम्बन्धनको आवेदन ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते २१:४९

२६ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले केही शैक्षिक कार्यक्रमको सम्बन्धनका लागि क्याम्पसहरुबाट खुला गरेको आवेदन स्थगित गरेको छ ।

विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेका क्याम्पसबाट सम्बन्धन माग गरेकामा क्यूएए नपाएका क्याम्पसहरुले विरोध जनाएपछि सम्बन्धनका लागि आवेदन नै स्थगित गरेको हो ।

उपकुलपति कार्यालयको योजना निर्देशनालयले गत वैशाख ६ गते गोरखापत्रमा सूचना जारी गर्दै विज्ञान संकायको बीएस्सी सीएसआईटी र बीआईटी, व्यवस्थापन संकायको बीबीए, बीबीएम, बीआईएम, बीटीटीएम र बीएचएम, मानविकी तथा सामाजिकशास्त्र संकायका लागि बीसीए र बीएसडब्लु कार्यक्रमको सम्बन्धनका लागि आवेदन माग गरेको थियो ।

सूचना जारी भएपछि केही निजी कलेजहरुले त्रिविको मापदण्ड गलत भएको भन्दै विरोध जनाएका थिए । त्यस क्रममा गत वैशाख १९ गते क्यूएए प्राप्त नगरेका निजी कलेजका सञ्चालक तथा व्यवस्थापकले रजिष्टारको कार्यकक्षमा प्रवेश गरी रजिष्टार र कर्मचारीमाथि अभद्र व्यवहार गरेको त्रिविले जनाएको छ ।

त्यसपछि रजिस्ट्रारको कार्यालयले सूचना जारी गरी सम्बन्धनका लागि आवेदन दिन सकिने योग्यता तथा मापदण्डमा पुनर्विचार गरिदिन अनुरोध भई आएकाले योग्यता र मापदण्ड तोक्न समिति गठन गरिएको बताएको छ । त्रिवि कार्यकारी परिषदले २२ वैशाखमा समितिको राय सुझाव प्राप्त भएपछि मात्र प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पनि सूचनामा उल्लेख छ ।

त्रिविका शिक्षाध्यक्ष प्राध्यापक शिवराज भुसालले निश्चित मापदण्ड पुगेका क्याम्पसहरुलाई थप शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको भएपनि क्याम्पसहरुबीचको असमझदारीको कारण स्थगित गरिएको बताए ।

उनले भने, ‘हामीले क्यूएए प्राप्त भनेर मापदण्ड तोकेका छौं । त्यो नपुगेका साथीहरुले विरोध गर्नुभएको छ । निजी तथा सामुदायिकका साथीहरु छलफल गर्नुहोस् त्यसपछि गरौंला भनेर स्थगित गरिएको हो ।’

निजी र सामुदायिक कलेजलाई आपसमा छलफल गरेर निष्कर्ष दिन समय दिइएको उनले बताए । क्यूएए पाएका क्याम्पसहरुले त्रिविको मापदण्ड स्वीकार गरेको र क्यूएए नपाएकाहरुले सबैलाई दिनुपर्छ भनेकाले विवाद भएको शिक्षाध्यक्ष भुसालको भनाइ छ । ‘तपाईंहरु आपसमा छलफल गरेर आउनुहोस् यो पटक क्यूएएलाई दिनुहोस् अर्को वर्ष पनि खोल्नुहोस् भन्यो भने त्यो अनुसार हुन्छ, सबैलाई दिनुहोस् भन्यो भने सकिन्न ।’

तर निजी कलेजको गुन्डागर्दीका कारण त्रिविले आवेदन नै बन्द गर्नु गलत भएको एक प्राध्यापक बताउँछन् । उनी भन्छन् ‘त्रिविले यो विषयमा कडाइ नगर्ने हो अथवा उनीहरुको दबावमा क्यूएए प्राप्त नगरेका क्याम्पसलाई पनि शैक्षिक कार्यक्रम थप गर्न दिने हो भने शैक्षिक गुणस्तर घट्नुका साथै क्याम्पसहरुले विद्यार्थी नपाउने समस्या झन विकराल बन्छ ।’

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले भने थप कार्यक्रम स्वीकृतिको लागि खोलेको आवेदनमाथि नै विरोध गरिरहेको छ । अध्यक्ष श्यामराज ओझाले भने ‘पहिला विश्वविद्यालय आफू सुध्रिन जरुरी छ । आजसम्म भएको शैक्षिक कार्यक्रमको गुणस्तर, उत्पादन भएका जनशक्तिको खपत अनुगमन, परीक्षा, नतिजा प्रकाशनमा हुने लापरबाही अन्त्य नभएसम्म थप कायक्रम दिनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?