+
+

कांग्रेसका भ्रातृ संस्थाले पूर्णता पाउन किन ढिलाइ ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते २०:४०

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेतादेखि केन्द्रीय सदस्यहरुले भ्रातृ संस्थाले छिट्टै पूर्णता प्राप्त गर्ने जवाफ फर्काइरहन्छन् । तर, १५ महिना बितिसक्दा समेत भ्रातृ संस्थाले पूर्णता पाउने छनक बुधबारसम्म देखिएको छैन ।

भ्रातृ संस्थाको पूर्णता दिनका लागि पटक-पटक शीर्ष नेताहरुको बैठक बसे पनि त्यसले सार्थकता पाउन सकेको छैन । प्रारम्भमा तीन भ्रातृ संस्थालाई पूर्णता दिने सहमति नेताहरु बीच जुटेको छ ।

नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघको पूर्ण कार्यसमिति ल्याउने तयारी गरिएको छ । बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि भ्रातृ संस्थाले पूर्णता पाउन थप समय लाग्ने नेताहरुले बताएका छन् ।

मुख्य तीन संगठनमा विधानको व्यवस्थाभन्दा बाहिर रहेर कार्यसमितिको आकार बढाउन पार्टीभित्रका सबै समूह सहमत भएका छन् ।

तदर्थ समिति भएको हुनाले ठूलो आकारमा कार्यसमिति बनाउन नेताहरू एकमत देखिएका छन् । ‘पार्टीभित्र लामो समय योगदान गरेका र अवसरबाट बञ्चित धेरै साथीहरु छन्,’ नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले भन्छन्,’धेरैलाई समेट्न सकिने गरी लचिलो हुन नेताहरुलाई सुझाव दिएको छु ।’

संगठनमा बस्न इच्छुकलाई अवसर नदिए पार्टी नै परित्याग गर्ने भयले तदर्थ समिति ठूलो आकारमा ल्याउन नेताहरु सहमत भएका छन् ।

वैशाख मसान्तभित्र मुख्य तीन भ्रातृ संस्थालाई पूर्णता दिने नेताहरुको दाबी छ । पार्टीभित्र उक्त समयमा पनि तिन भ्रातृ संस्थाले पूर्णता पाउनेमा संशय छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सभापति शेरबहादुर देउवाप्रतिको आक्रोशले भ्रातृ संस्था पूर्णता पर सर्ने डर कतिपयलाई छ । ‘महामन्त्रीहरु विद्रोहको भाषा बोलिरहनु भएको छ । टकरावको अवस्था बन्यो,’ संस्थापन पक्षका एक केन्द्रीय सदस्य भन्छन्,’त्यही कारणले छिट्टै गठन होला जस्तो मलाई लाग्दैन ।’

भ्रातृ संस्थामा बस्नेहरुको सूची तय गर्न सोमबार महामन्त्री थापा र शर्मा छलफलमा जुटेका थिए । उक्त छलफलबाट प्रारम्भिक सूची तय भएको नेविसंघका एक पूर्व नेताको दाबी छ ।

‘हाम्रो कारणले भ्रातृ संस्थाले पूर्णता पाउन नरोकियोस् भनेर महामन्त्रीले आफ्नो तर्फबाट नाम टुंगो लगाइसक्नु भएको छ,’ महामन्त्री थापा निकट एक विद्यार्थी नेता भन्छन् ।

पार्टीभित्रका समूह र समूहका पनि नेताहरुले आफू निकटका व्यक्तिहरुको सूची ल्याएपछि अन्तिम नामावली टुंग्याउन सकस परेको छ ।

संस्थापन पक्षको सूची बनाउने समन्वय गर्न सभापति देउवाले सहमहामन्त्री किशोरसिंह राठोरलाई जिम्मेवारी दिएका छन् । उक्त समूहबाट उपसभापति पूर्णबहादुर खड्का नेताहरु बालकृष्ण खाँण, प्रकाशशरण महत लगायतले आफ्नो निकटका नामहरु दिएका छन् ।

साथै, उक्त समूहमा नेविसंघका पूर्व नेताहरुले पनि आफू निकटका लागि तदर्थ समितिमा नेतृत्वलाई दबाब दिइरहेका छन् ।

पार्टीभित्रका सबै समूहबाट तदर्थ समितिमा बस्ने आकांक्षी धेरै भएपछि नेविसंघको आकार बढाएर तिन सय बढीको ल्याउने तयारी गरिएको छ ।

संघको विधानमा १०१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । आकार बढाउने सहमति शीर्ष तहका नेताहरुमा भएको छ ।

नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण आफूखुसी भ्रातृ संस्थाको आकार बढाउने निर्णय अमान्य हुने बताउँछन् । ‘केन्द्रीय समितिको बैठक पनि नबसी केही नेता बसेर बढाएको संख्यामा मेरो समर्थन हुँदैन,’ नेविसंघ पूर्वअध्यक्ष कर्ण भन्छन् ।

नेविसंघको तदर्थ समितिमा स्थान पाउनेहरुलाई ३२ वर्षे उमेर हद कायम गरिएको छ । वर्तमान अध्यक्ष दुजाङ शेर्पालाई अध्यक्षमा मनोनित गर्दाको समयलाई ३२ वर्षे हद मानेर कार्यसमितिमा ल्याउने तयारी गरिएको छ ।

२०७८ को चैतमा सभापति देउवाले नेविसंघ अध्यक्षमा शेर्पालाई मनोनित गरेका थिए । केन्द्रीय कार्यसमितिमा शेर्पा एकल व्यक्ति रहेर एकवर्ष बढी संगठन चलाए ।

ठूलो आकारको कार्यसमिति हुँदा संगठन चलायमान नहुने शंकाले पदाधिकारी बनाउनुपर्ने तर्क पनि पार्टीभित्र उठेको छ । तर, नेताहरु यस विषयमा एकमत हुन नसकेपछि पदाधिकारीविहीन कार्यसमिति बन्ने नेताहरु दाबी गर्छन् ।

पार्टीभित्रका सबै पक्षले आफ्नो तर्फको सूची नेविसंघका अध्यक्ष शेर्पा, तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई बुझाइसकेका छन् ।

नेविसंघ ३०० सदस्यीय बढी र तरुण दल २५० देखि ३०० सम्मको ल्याउने प्रारम्भिक सहमति नेताहरु बीच भएको छ ।

विधान अनुसार नेविसंघ १०१ र तरुण दलमा ९५ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ । आकार बढाएर ल्याउने कार्यसमितिमा बस्ने आकांक्षी बढी भएपछि काँटछाँट भइरहेको भ्रातृ संस्थाका नेताहरुले जानकारी गराएका छन् ।

तरुण दलका पूर्व-वर्तमान अध्यक्षहरु संगठनलाई पूर्णता दिने विषयमा बुधबार सभापति देउवासँग छलफल गरेका छन् ।

देउवालाई भेट्न पूर्वअध्यक्ष एवं सहमहामन्त्री महेन्द्र यादव, पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य जीतजंग बस्नेत र वर्तमान अध्यक्ष गुरुङलगायत धुम्बाराही पुगेका थिए । ‘तरुण दलमा भागबन्डा, उमेर, संख्याका विषयमा सभापतिसँग छलफल भएको हो,’ भेटका लागि पुगेका बस्नेतले भने,’१/२ दिनमा पूर्ण कार्यसमिति आउला ।’

२०७८ को फागुन ३ मा नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भंग गरिएको थियो । त्यसै महिनाभित्र सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने अधिकार दिइएको थियो । सभापति देउवाले तोकिएको समय कटाएर चैत ९ मा नेविसंघमा शेर्पा र तरुण दलमा गुरुङलाई अध्यक्ष मनोनीत गरे । देउवाले असार १० मा किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति महासंघको अध्यक्ष ओमबहादुर घर्तीमगरलाई मनोनीत गरेका थिए ।

सबै भ्रातृ संस्थाको अध्यक्ष देउवाले समयमा निर्णय गर्न नसकेपछि उक्त अधिकार पुनः केन्द्रीय समितिमा आएको थियो । २०७९ साउन २ मा सकिएको केन्द्रीय समिति बैठकले त्यसै महिनाभित्र भ्रातृ संस्थामा नेतृत्व चयन तथा कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको थियो ।

भंग गरिएको कार्यसमितिमध्ये नेविसंघ, तरुण दल, महिला संघमा अध्यक्षमा मात्रै तोकिएको छ । आदिवासी जनजाति र किसान संघले कार्य समिति विस्तार गरेपनि पूर्ण समिति आएको छैन ।

कांग्रेसले भ्रातृ संस्थामा लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ थपेको छ । लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ र लोकतान्त्रिक नेवाः खल अब लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा गाभिएका छन् ।

भंग गरिएका भ्रातृ संस्थाको तदर्थ समितिले प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने निर्देशन पार्टीले दिएको थियो । तर, यो बीचमा पूर्ण कार्यसमिति समेत बन्न सकेन । पूर्णता दिन लागिएका भ्रातृ संस्थाका तदर्थ समितिको अवधि कति रहेनसम्म अन्योल छ ।

निर्वाचन सकिएको तिन महिनाभित्र अधिवेशन गर्न नसके स्वतः विघटन गरिने साउनमा पार्टीले निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?