+
+
गफ स्टेसनमा मिस पवि :

‘सेफ बन्न चाहन्थें, टिकटकले कलाकारिताको बाटो देखाइदियो’

‘नाचगानमा त रुचि थियो, गाउँमै केही देउडा गीतमा अभिनय पनि गरेको थिएँ,’ अनलाइनखबरको गफ स्टेसनमा गफिंदै मिस पविले भनिन्, ‘तर यसैलाई पेशा बनाउँछु भन्ने चाहिं सोचेकै थिइनँ । खासमा बुबा सेफ हुनु भएकाले म पनि सेफ बन्न चाहन्थें ।’

खेम रिसाल खेम रिसाल
२०८० वैशाख २८ गते १९:३२

काठमाडौं । टिकटक नहुँदो हो त डडेलधुराकी पवित्रा साकी मिस पविको रुपमा देश-विदेशमा चर्चित हुन्थिन् होला ? यो सायदै सम्भव हुन्थ्यो होला । किनकि दूरदराजको एउटा गाउँमा सामान्य दिनचर्याका साथमा कलेज पढ्दै गरेकी युवतीले ठूलो सपना देखेकै थिइनन् ।

सपना त देखेकी थिइन्, सेफ बनेर मीठामीठा परिकार खुवाउने । मोडल वा कलाकार बनेर देश विदेशमा चर्चित हुने चाहिं मनको अन्तरकुन्तरमा थिएन रे पवित्रा अर्थात् पविको ।

‘नाचगानमा त रुचि थियो, गाउँमै केही देउडा गीतमा अभिनय पनि गरेको थिएँ,’ अनलाइनखबरको गफ स्टेसनमा गफिंदै मिस पविले भनिन्, ‘तर यसैलाई पेशा बनाउँछु भन्ने चाहिं सोचेकै थिइनँ । खासमा बुबा सेफ हुनु भएकाले म पनि सेफ बन्न चाहन्थें ।’

तर उनको सपनाको बाटो मोडिदियो लकडाउन अनि टिकटकले । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नेपाल पनि त्यसबाट पर हुने कुरा भएन । नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन लागू गर्‍यो ।

लकडाउनले मानिसको दैनिक जीवन नै अस्तव्यस्त बनाइदियो । यहीबेला सामाजिक सञ्जाल टिकटकले भने फैलिने मौका पायो । टिकटकमा छोटो भिडियो बनाएर हाल्नेहरु बढे । यसै भीडमा सामेल भइन् डडेलधुराको अमरगढी नगरपालिकाकी पवि पनि । उनले पनि टिकटक अकाउन्ट खोलिन्, अनि अपलोड गर्न थालिन् भिडियोहरु ।

‘पहिले त खासै भ्युज जाँदैनथ्यो, कस्तो रिस उठ्थ्यो । अरुको त फोटोमा पनि धेरै लाइक आउँछ त हाम्रो त भिडियोमा पनि आउँदैन भन्ने लाग्थ्यो,’ बहिनी र उनी मिलेर भन्ने यसो गरेकोबारे पवि सुनाउँछिन्, ‘एक दिन मेलामा जाँदा सुदूरपश्चिमको डोटेली भाषामा भिडियो हालेको सबैले मन पराउनुभयो । त्यसपछि सबैले मिस पवि भनेर चिन्न थाल्नुभयो ।’

मिस पवि अहिले त चलेकी मोडल भइसकेकी छन् । उनले धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छन् । सुनिल गिरीको ‘जुम्ला’, हिमाल सागर र अनु चौधरीको ‘आहा कति राम्री’ उनले अभिनय गरेकामध्ये रुचाइएका गीत हुन् । ‘ठ्याक्कै काउन्ट त गरेको छैन, १५-१६ वटा भिडियो गरें होला, अहिले पनि थुप्रै अफर आइरहेको छ,’ मिस पवि भन्छिन् ।

हुन त उनी पहिले पनि स्कुलमा नाच्ने कार्यक्रममा सहभागी हुन्थिन् । केही देउडा गीतमा अभिनय समेत गरिसकेकी थिइन् । तर उनको व्यावसायिक यात्रा भने सुनिल गिरीको ‘जुम्ला’बाट नै तय भएको हो ।

‘कलाकार बन्थे बन्दिन थिएँ, त्यो अर्कै कुरा हो तर भिडियो खेल्ने चाहिं सानैदेखिको रुचि हो । अहिले भाग्यमानी ठान्छु आफ्नो सपना पूरा गर्न पाइरहेकी छु । अब त यसैमा नै लाग्छु,’ ‘सेफ सपना’ मारिसकेकी पवि भन्छिन् ।

कलाकारितामा सफलता पाइरहेकी छन् पविले, तर किन हो उनलाई कलाकारिता क्षेत्र आफूले कल्पना गरेजस्तो लागेको छैन । ‘म त धेरै आदर्श सोच्थें । अहिले थाहा पाए कलाकारिता क्षेत्रका मान्छेलाई सजिलै साथी बनाउनु चाहिं नहुने रहेछ, बाहिर एउटा कुरा गर्ने, भित्र अर्कै,’ कलाकारिता सुरु गरेको केही समयमै उनले भोगेको अनुभव बाँडिन् ।

टिकटकले जीवनमा यत्तिका परिवर्तन ल्यायो, अनि पैसा चाहिं कति कमाउनुभयो त ? गफ स्टेसनमा प्रश्न गर्दा उनले भनिन्, ‘टिकटकबाट पैसा कमाइनँ, लाइभ बस्दा आउँछ रे, म बस्दिनँ । अहिले म्युजिक भिडियोबाट चाहिं आफूलाई पुग्ने ठीकै कमाइराखेकी छु ।’

कुनैबेला टिकटक बनाउँदा गाउँमा राम्रो नजरले नहेर्नेहरुले पनि अहिले सुदूरपश्चिमको शान हौ तिमी, यहाँको भाषालाई सबैतिर फैलायौं भनेर हौसला दिने उनी सुनाउँछिन् । ‘पहिले बुबाले नै रुचाउनु भएको थिएन, अहिले त मिस पवि भनेर भन्नुहुन्छ उहाँले नै । ममीले त पहिलेदेखि नै राम्रो सपोर्ट गर्नुहुन्थ्यो,’ पवि भन्छिन् ।

गफ स्टेसनमा मिस पविले गत आम निर्वाचनमा चुनावी अभियानमा लागेका कुरादेखि गाउँघरको वातावरण, नेपाली कलाकारिता, आफ्नो सपना र लक्ष्यबारे खुलेर कुरा गरेकी छन् । उनीसँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिनेछ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?