+
+
खाँणबारे कांग्रेसमा चर्को विवाद :

देउवालाई गगनको प्रश्न : ओलीले बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते २०:०३

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने चर्को विवाद भएको छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय  गगनकुमार थापा र विश्वप्रकाश शर्माले खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने अडान लिएका छन् ।

तर संस्थापन पक्ष भने निलम्बनको विपक्षमा देखिएको छ । सहमहामन्त्री महेन्द्र यादवले त चर्को प्रतिवाद नै गरेका छन् ।

खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी र केही नेताहरुलाई परामर्शका लागि बोलाएका थिए । आफ्नै निबास, धुम्बाराहीमा भएको छलफलको सुरुमै देउवाले छोटो बोलेका थिए । लगत्तै उपसभापति पूर्णबहादुर खड्काले खाँण पक्राउलगायतका घटनाबारे ब्रिफिङ गरे । त्यसक्रममा उनले बुधबार पार्टीको बैठकमा भएको छलफलको विषय बाहिर कसरी आयो भनेर असन्तुष्टि समेत पोखेका थिए । पार्टीमा फरक फरक विचार आउनु स्वभाविक भएपनि बाहिर लैजानु राम्रो नभएको उनको तर्क थियो ।

बैठकमा महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्य खाँणले आफू निर्दोष भएको दाबी गरेको र आफूहरुलाई पनि त्यही विश्वास रहेको बताए । तर अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिइसकेपछि खाँण आफैंले पार्टीको जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नु उपयुक्त हुने बताएको एक नेताले जानकारी दिए । ‘त्यसो गर्ने हो भने एउटा विन्दुमा पार्टीले निलम्बन गर्नुपर्छ’, उनले भने ।

उपसभापति गुरुङ र महामन्त्री शर्माले थापाको मतमा सहमति जनाएका थिए । तर सहमहामन्त्री महेन्द्र यादवले प्रतिवाद गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । अरु कतिपय नेताले पनि विगतमा पनि यस्ता घटना हुँदा निलम्बन नगरेको तर्क गरेका थिए भने पूर्व उपसभापति विजयकुमार गच्छदारले दुःख परेको बेला हेर्नुपर्ने तर्क गरेका छन् ।

तर महामन्त्री गगन लगायतका नेताहरुले भने अहिले परिस्थिति फरक रहेको तर्क गरेका छन् । विगतमा पनि निलम्बन गर्नुपर्छ भनेर कुरा उठाएको स्मरण गर्दै उनीहरुले अहिले बाहिर चर्को दबाव रहेको बताएका थिए ।

एक नेताका अनुसार खाँणलाई निलम्बन गर्ने कि नगर्ने भनेर लामै छलफल चलेको थियो ।

संस्थापन पक्षका नेताहरुले अनुसन्धान मात्र भइरहेको बेलामा किन निलम्बन गर्ने भनेर प्रश्न गरेका छन् । ‘हाम्रो कारणले अनुसन्धान प्रभावित नहोस् भन्ने हाम्रो कुरा हो । निलम्बनले पनि अनुसन्धानलाई बल पुग्छ भन्ने हो,’ गगन थापाको जवाफ थियो ।

उनले सभापति देउवालाई तत्काल पार्टीको बैठक बोलाएर यसबारे धारणा तय गर्न माग गरेका छन् । नभए सभापति देउवा स्वयंले बोल्नुपर्ने भन्दै महामन्त्री गगनले भने, ‘केपी ओलीले ४ गते संसदमा बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो ? पार्टीले हस्तक्षेप गर्दैन, जघन्य अपराधमा संलग्न जो सुकैलाई छोड्नु हुन्न भनेर सभापतिले बाहिर बोल्नुस् ।’

सभापति देउवाले भने आफूले बोलिरहेको जवाफ दिएको एक नेताले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?