+
+
काभा वुमन्स च्यालेन्ज कप :

परीक्षण विनै ठूला टिमसँग खेल्नुपर्ने बाध्यता

‘यतिबेला हामी मात्र होइन हाम्रा प्रतिस्पर्धी टिमहरु पनि आर्थिक समस्यामा छन् । उनीहरुलाई यहाँ बोलाउने वा हामी उनीहरुको देशमा जाने प्रस्ताव आर्थिक कारणले नै सम्भव भएन ।’

नमिता दाहाल नमिता दाहाल
२०८० वैशाख २८ गते २०:२४

२८ वैशाख, काठमाडौं । नेपाल भलिबल संघले इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा सेन्ट्रल एसियन भलिबल संघ (काभा) वुमन्स च्यालेन्ज कपको आयोजना गर्दैछ । घरेलु भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गरिरहेको संघले फेरिएको परिवेशमा आयोजित प्रतियोगिताका लागि आफ्नो टिमको तयारीलाई विशेष बनाउन भने चुकेको छ ।

काभामा आवद्ध क्याटागोरी ए र क्याटागोरी बीका ८ टिमबीच जेठ ८–१४ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रतियोगिता हुँदैछ । यसअघि सन् २०१९ र २०२१ गरी दुईपल्ट क्याटागोरी बीका टिमहरु सम्मिलित काभा सिनियर वुमेन्स महिला भलिबलको उपाधि जितेको नेपाल टिमलाई यसपल्ट ह्याट्रिकको अवसर छ ।

प्रतियोगिता आयोजना र पूर्वाधार तयारीमा ध्यान दिएको नेपाल भलिबल संघले ८ फागुनदेखि सुरु भएको टिमको तयारीलाई अहिलेसम्मकै उत्कृष्ट मानेको छ । तर, यति लामो समयसम्म प्रतियोगिता लक्षित तयारी गरेको टिमले आफ्नो क्षमताको परीक्षण गर्न नपाउनु भनेको माथिल्लो वरीयताका टिमहरुसँग खेल्ने आत्मविश्वासमा कमी हुनु पनि हो ।

‘विदेशमा एक्स्पोजर दिनु वा खेलाउनुलाई मात्र पनि राम्रो तयारी भन्न सकिँदैन । विदेशी प्रशिक्षकलाई ल्याएर अहिलेसम्मकै राम्रो तयारी भएको छ,’ भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले भने, ‘यतिबेला हामीमात्र होइन हाम्रा प्रतिस्पर्धी टिमहरु पनि आर्थिक समस्यामा छन् । उनीहरुलाई यहाँ बोलाउने वा हामी उनीहरुको देशमा जाने प्रस्ताव आर्थिक कारणले नै सम्भव भएन ।’

अध्यक्ष चन्दका अनुसार भारत, मलेसिया, बंगलादेश र श्रीलंकाजस्ता देशहरुसँग मैत्रीपूर्ण खेलको प्रस्ताव संघले गरेको थियो । उनीहरु सबैले सकारात्मक जवाफ नदिएपछि नेपाल टिमले सिधै प्रतियोगितामा आफ्नो परीक्षण गर्ने भएको छ ।

चैतको सुरुवातदेखि बेल्जियममा ६४ वर्षीय अनुभवी प्रशिक्षक जान डी ब्राण्टले नेपाल टिमलाई प्रशिक्षक दिइरहेका छन् । अघिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जिताएका जगदीश भट्ट र डी ब्राण्टको संयोजनले टिममा सकारात्मक प्रभाव परिरहेकै छ ।

नेपाल टिम प्रतियोगिताको समूह एमा छ । यो समूहमा भारत, बंगलादेश र किर्गिस्तान छन् । ८ जेठमा नेपालले किर्गिस्तानसँगको खेलबाट प्रतियोगिता सुरु गर्नेछ । समूह बीमा काजाकस्तानसँगै उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

आधिकारिक प्रतियोगितामा नेपालका लागि साफ प्रतिस्पर्धी भारत सधैं तगारो बन्दै आइरहेको छ । सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपालले सुरुवाती २ सेटको अग्रता लिएर पनि स्वर्ण भारतलाई सुम्पिएको थियो । एसियाली वरीयतामा पाँचौं र विश्वमा ४५औं स्थानमा रहेको काजाकस्तानसँग नेपालले अहिलेसम्म खेलेको छैन ।

तीन महिनाभन्दा लामो समय तयारी गरेर पनि आफ्नो क्षमता परीक्षण गर्न नपाउनु प्रशिक्षक डी ब्राण्टका लागि खड्किएको विषय हो । ‘यो बीचमा हामीले कुनै पनि टिमलाई बोलाएर मैत्रीपूर्ण खेल खेल्न पाएनौं । हामीले खेलाडीलाई खेलको प्रेसर कसरी सम्हालेर खेलछ परीक्षण गर्न पाएनौं,’ उनले भविष्यमा बलिया टिमहरुलाई बोलाएर एक्स्पोजर दिनुपर्ने उनको सुझाव छ ।

संघका अध्यक्ष चन्दले प्रतियोगिता अघि अन्तर्राष्ट्रिय टिमहरुसँग खेल्न नपाए पनि स्थानीय महिला तथा पुरुषका टिमहरुसँग अभ्यास खेल सञ्चालन गरिएको बताए । प्रशिक्षक ब्राण्टका अनुसार नेपाल टिमले साता दुईवटा त्यस्ता अभ्यास खेल खेल्ने गरेको छ । पुरुष टिमसँग खेलेर आफ्ना खेलाडीको क्षमता पहिचान गरिरहेको उनले बताए ।

नेपाल टिमको परम्परागत कमजोरीका रुपमा रहेको डिफेन्सलाई सुधार गर्न प्रशिक्षकहरु लागिपरेका छन् । पुरुष टिमसँगको खेलमा पनि टिमलाई रक्षापंक्तिमा ध्यान दिन लगाइएको छ । यो तयारीले खेलाडीमा डिफेन्स एट्याक र ब्लक राम्रो भएको प्रशिक्षक बताउँछन् ।

‘नेपाली टिमको हाल सबैभन्दा बलियो पक्ष भनेको डिफेन्स हो । हाम्रो डिफेन्सले बलियो टिमहरुलाई पनि गाह्रो पार्छ,’ प्रशिक्षक ब्रान्टले अनलाइनखबरसँगको कुराकानीमा भने ।

मालीको चोट मुख्य चिन्ता

तीन महिनाको तयारीपछि प्रशिक्षक ब्रान्टले १४ सदस्यीय टोली घोषणा गरेका छन् । घुँडाको चोट बल्झिएपछि नेपालकी मुख्य स्पाइकर प्रतिभा माली टिमबाहिर रहनु नेपाल टिमको अहिलेको मुख्य चिन्ता हो ।

यस पटक अन्तिम टोलीमा ६ नयाँ अनुहारले स्थान बनाएका छन् । स्पाइकर रिमा कुँवर र पूजा चौधरी, मिडल ब्लकर कविता भट्ट र संगम महतो, सेटर प्रगति नाथ र लिबेरो शान्तिकला तामाङ टिममा नयाँ हुन् । पुनम चन्द र निरुता ठगुन्नाले पुनरागमन गरेका छन् ।

कप्तान अरुणा शाहीसहित सरस्वती चौधरी सबैभन्दा अनुभवी खेलाडी हुन् । सलिना श्रेष्ठ, सफिया पुन, उषा भण्डारी र कामना विष्टले निरन्तर टिममा छन् । सलिना र सफियाले २०१९ को सेन्ट्रल जोनमा डेब्यू गरेका थिए भने उषाले २०१९ मै भएको १३औं सागबाट डेब्यू गरेकी थिइन् । कामनाले २०२१ मा भएको सेन्ट्रल जोनबाट डेब्यु गरेकी हुन् ।

नेपाली महिला भलिबलमै ब्राण्डका रुपमा स्थापित प्रतिभाको अनुपस्थितिले टिमको आत्मविश्वासमै असर पार्न सक्छ । तर, प्रशिक्षकद्वयले नयाँ खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने अवसरका रुपमा लिनुपर्ने बताए । प्रशिक्षक ब्रान्टले सामुहिक खेलमा एउटा खेलाडीको चोटले टिमको प्रणाली नै बदलिने भन्ने सोच राख्न नहुने बताए ।

‘निःशन्देह प्रतिभा उत्कृष्ट खेलाडी हुन् तर, भलिबल टिम गेम हो । एउटा खेलाडी भएन भने अर्कोले उसको जिम्मेवारी लिनुपर्छ । उनीहरुका लागि आफूलाई प्रमाणित गर्ने मौका हुन्छ,’ उनले थपे, ‘१४ जना खेलाडीलाई मैले जुनसुकै पोजिसन पनि दिन सक्छु । मैले सबै पोजिसनको लागि प्रतिस्थापन तयार गरेको छु ।’

क्लबस्तरमा पनि प्रतिभासँग एउटै टिमबाट खेलेकी कप्तान अरुणा भने अनुभवी खेलाडीको अभाव टिमलाई खड्किने बताउँछिन् । यद्यपी प्रतिभालाई प्रतिस्थापन गर्ने सम्भावित खेलाडीको रुपमा हेरिएकी उषा भण्डारीको क्षमतामा अरुणालाई विश्वास छ ।

अरुणा शाही

‘प्रतिभा टिमलाई सम्हालेर टिमसँगै अघि बढ्न सक्ने खेलाडी हुन् । उनको स्थानमा अहिले उषा तथा अरु नयाँ बहिनीहरु छन् । उनीहरुले प्रशिक्षणमा राम्रो प्रदर्शन गरिरहेका छन् । अब खेलामा उनीहरुले उत्तिकै जिम्मेवारी बहन गर्नुपर्छ,’ उनले भनिन् ।

चार वर्षअघि राष्ट्रिय टिमबाट डेब्यू गरे पनि सरस्वती चौधरी र प्रतिभाको प्रभाव रहिराख्दा उषाले धेरै अवसर पाएकी छैनन् । यसपल्ट सरस्वतीलाई साथ दिने गरी उनको काँधमा ठूलो जिम्मेवारी छ । ‘मैले अवसर पाएको खण्डमा प्रमाणित गर्छु भन्ने त छ तर प्रतिभा दिदीको अभाव कतै न कतै खड्किने छ,’ उषा भन्छिन् ।

प्रशिक्षक ब्रान्टले आफ्नो सुरुवाती दिनभन्दा अहिले टिमका हरेकले आफ्नो भूमिका राम्रोसँग बुझेर खेल्न थालेको बताए । ‘यो तीन महिनामा खेलाडीले राम्रोसँग खेल बुझेका छन् । टिमको अर्गनाइजेसन (संगठन)राम्रो भएको छ । अहिले नेपाली टिमको अट्याक र डिफेन्स तथा पोजिसनिङमा पनि सुधार भएको छ,’ उनले भनेका छन् ।

भारतलाई हराएर फाइनल खेल्ने लक्ष्य

नेपाली टिमसँग अहिलेको अवस्थामा बलियो पक्ष भनेको सुगठित र एकजुट टिम नै हो । हाल टिममा सबै खेलाडीलाई आफ्नो भूमिका राम्रो सँग थाहा छ । नेपाली खेलाडीमा क्विकनेस (छरितोपन) आएको छ । हरेकले एक अर्कालाई सहयोग र प्रेरणा दिने गर्छन् ।

पछिल्लो चार वर्षमा दुई एसियाली उपाधि दिलाएकी कप्तान अरुणा भन्छिन्, ‘टिम पहिलाभन्दा सन्तुलित र सुगठित छ, त्यो मात्रै होइन पहिला एउटा खेलाडीले गर्छ भन्ने थियो अहिले सबैको स्तर एउटै छ ।’

नेपालको मुख्य धेय भनेको समुह चरणमा भारतलाई हराएर फाइनल पुग्ने हो । जसरी पनि हामी हाम्रो समुहमा भारतलाई हराएर फइनल पुग्ने हो । ‘हामीसँग भएको उत्कृष्ट १४ छानिएका छौं । मुख्य स्पाइकर नै घाइते छ तर हामी जति छौं त्यतिले राम्रो गछौं भन्ने विश्वास छ,’ कप्तान भन्छिन् ।

प्रमुख प्रशिक्षक ब्रान्टका अनुसार नेपाली राष्ट्रिय टिम पहिलाभन्दा संरचनात्मक हिसाबले बलियो बनेको छ । यो खेल नेपालका लागि ठूलो प्रतियोगिता भएका कारण यसपटक राम्रो प्रतिस्पर्धीसँग खेल्दा सिक्ने अवसर पनि मिल्ने उनले बताए । ‘हामी यो प्रतियोगितापछि कुन अवस्थामा कहाँ छौं भनेर थाहा पाउनेछौं । यस कुराले भविष्यमा सिक्ने अवस्था हुनेछ,’ उनले थपे ।

१४ सदस्यीय नेपाली टोली

अरुणा शाही (कप्तान र सेटर), सरस्वती चौधरी (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), रिमा कुँवर (स्पाइकर), उषा भण्डारी (स्पाइकर), कामना विष्ट (स्पाइकर), पुनम चन्द (स्पाइकर), पुजा चौधरी (स्पाइकर), कविता भट्ट (मिडल ब्लकर), साफिया पुन (मिडल ब्लकर), संगम महतो (मिडल ब्लकर), प्रगति नाथ (सेटर), सलिना श्रेष्ठ (लिवेरो) र शन्तिकला तामाङ (लिवेरो) ।

भिडियो तथा तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?