+
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट :

रौनकको शानदार शतकमा भुटानविरुद्ध नेपालको विशाल योगफल

२०८२ असार  १७ गते ११:२० २०८२ असार १७ गते ११:२०
रौनकको शानदार शतकमा भुटानविरुद्ध नेपालको विशाल योगफल

१७ असार, काठमाडौं । रौनक श्रीवास्तवको शतक तथा दुई अर्धशतक मद्दतमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध बलियो योगफल खडा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको हो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।

रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू-१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए । आजको खेलमा नेपालका २ ओपनर चाँडै आउट भएका थिए । १७ रनमा २ विकेट गुमाएपछि रौनकले शिवांशसँग मिलेर ९१ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनको साझेदारी गरे । सुगमले ३५ रन बनाए ।

त्यसपछि १८०-४ को अवस्थाबाट रौनकले जोयसँग मिलेर १७० रनको साझेदारी गरे । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।

हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

समूह ए मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल यस खेलमा विजयी भएपछि सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

एसीसी यू१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय