+
+

‘मेयर भएँ भन्दैमा चुप लाग्नुपर्छ भन्ने हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते २०:२३

२९ वैशाख, धरान। गैरदलीय उम्मेदवारी दिएर हर्क साम्पाङले धरान उपमहानगरपालिकाको मेयर जितेको वर्ष दिन पुगेको छ। धरानवासीले खेपिरहेको खानेपानीको समस्या हल गर्ने प्रतिबद्धता जनाएर मतदाताको मन जितेका साम्पाङ मेयरका रूपमा वर्षभर नै चर्चामा रहे।

खानेपानीका लागि श्रमदान, लागूऔषध विरुद्धको अभियान, सामाजिक सञ्जालमा स्टाटस अनि वडाअध्यक्षहरूसँगको मतभेद उनलाई चिनाउने प्रमुख शब्दावली हुन्। मेयर साम्पाङ आगामी दिनमा पनि वितेका वर्षमा अपनाएको शैली कायमै राख्ने बताउँछन्।

धरानप्रतिको इमानदारी र सामाजिक अभियन्ताकै रूपमा मेयर बन्न सफल बनेको निष्कर्ष निकाल्ने साम्पाङ भन्छन्, ‘मैले आज यत्रो ठूलो अभियान सञ्चालन गरिरहेको सबै सामाजिक सञ्जालकै बलमा हो। आज म मेयर भएँ भन्दैमा चुप लाग्नुपर्छ भन्ने हुँदैन।’

प्रस्तुत छ, मेयर हर्क साम्पाङसँग अनलाइनखबरका सागर चन्दले गरेको कुराकानीको सम्पादित अंश :

खानेपानी भनेर चुनाव जित्नुभयो । एक वर्षदेखि त्यही भनिरहनुभएको छ । समस्या चाहिं कति समाधान भयो ?

सुधार मनग्ये भएको छ, समाधान भएको छैन । खोलाखोलीको पानी ट्यांकीमा जोड्ने काम भएको छ । वेलहरू मेन्टेन गर्ने, पम्प जडान गर्ने, जगेडा पम्प राख्ने काम भइरहेको छ । धरानको पानीको समस्या दीर्घकालीन गर्न भने कोशीकै भर छ । कोशीकै पानी ल्याउनुपर्छ ।

कोशीको पानी ल्याउन सम्भव छ त ?

अहिले हामीले गरिरहेको प्रयास अल्पकालीन समाधान हो । तर कोशीको पानी ल्याउने काम यही कार्यकालमा सम्भव हुन्छ । सम्भव गर्नैपर्छ, यसपालि हुनैपर्छ । यसका लागि म कहिले डिप्लोमेटिकल्ली, कहिले कडा आवाज उठाएर लागिरहेकै छु । यसपटक कोशीको पानी धरान ल्याउन बजेट चाहिन्छ भनेर मैले भनिरहेकै छु ।

धरान जस्तो आधुनिक शहरमा खानेपानी समस्या समाधान गर्न कोशीकै पानी चाहिन्छ । केन्द्र सरकारले धरान जस्तो पुरानो र ठूलो शहरलाई हेला गर्न पाउँदैन र सक्दैन पनि ।

कतै प्रशस्तै पानी आउने त कतै अपुग हुने रहेछ । वितरण प्रणाली सुधार किन हुन नसकेको ?

मैले कार्यपालिका बैठक बारम्बार बोलाइरहेको छु । केही वडाअध्यक्ष र कार्यपालिका सदस्यको के कुरामा चित्त बुझेको छैन मैले बुझ्न सकिरहेको छैन । मैले त मेरो काम गरिरा’छु, गरिराख्छु ।

वितरणको समस्या जति सक्दो समाधान गर्ने प्रयास भइरहेको छ । खानेपानी वितरण कर्मचारीले गर्छन्, सबै कुरा कर्मचारीलाई थाहा हुन्छ । कर्मचारीले यसमा लापरबाही गरेको देखिएको छ । काम नगर्नेलाई म घर जानुहोस् भनिहाल्छु ।

नियमन गर्दै जाँदा धेरै कर्मचारी छाँट्नुपर्ने देखेको छु । यसकारण वितरण समस्या समाधान गर्न सक्रियतापूर्वक लाग्न कर्मचारीलाई भनेको र आफैं खटिएको छु ।

  तपाईंले कार्यालयलाई भन्दा श्रमदानलाई बढ्ता समय दिनुभयो भन्ने सुनिन्छ नि ?

त्यस्तो होइन, कार्यालयमा पनि बस्छु । फुर्सद हुने बित्तिकै र श्रमबार (शनिबार) म श्रमदानमा खटिन्छु । म काम गर्छु र अरूलाई पनि काम गर भन्छु ।

तिमी काम गरेर मलाई देखाऊ भन्ने मान्छे होइन, म । आफैं जोतिन्छु । अफिसको घुम्ने कुर्सीमा बस्ने मेयर होइन । खोलामा पुग्छु, पाइप तान्छु, ढुंगा बोक्छु, जनतालाई पानी खुवाउँछु ।

सुरुमा मान्छेहरूले श्रमदान एक-दुई दिनको रमाइलो हो भन्ने गरेका थिए । तर, अब भने मान्छेहरूले यो रमाइलो थिएन भन्ने थाहा पाएका छन् ।

प्रत्येक शनिबार श्रमबार भनेका छौं, हामीले । शनिबार प्रमुख अतिथि बन्न, विशिष्ट अतिथि बनिदिनुपर्‍यो भन्दै अनेक मान्छे आउँछन् । तर, म कुनै कार्यक्रममा जान्नँ, शनिबार श्रमबार हो । श्रमबार म बिहानदेखि बेलुकासम्म काम गर्छु । श्रमबारको दिन म खाना पनि खान पाउँदिनँ, चाउचाउ र पानी खाँदै काम गर्छु ।

सबैभन्दा सुरुमा गएर अन्तिमसम्म काम गर्छु । त्यसैले मान्छेले बुझिसके, मैले श्रमदान भनेर स्टन्ट गरेको थिइनँ । अहिले हजारौं मानिस श्रमदानमा आएका छन् । कर्मचारी लगायो भने वर्षौं लाग्ने काम श्रमदानबाट एकैछिनमा हुन्छ ।

वडाअध्यक्षहरूसँग विवाद बढेको देखिन्छ, यसले धरानलाई नै घाटा हुन्छ होला नि ?

धरानलाई घाटा हुन्छ कि भनेर मानिसले चिन्ता लिनु स्वाभाविक हो । तर, धरानलाई केही घाटा हुँदैन । मैले कार्यपालिका बैठक बारम्बार बोलाइरहेको छु । केही वडाअध्यक्ष र कार्यपालिका सदस्यको के कुरामा चित्त बुझेको छैन मैले बुझ्न सकिरहेको छैन । मैले त मेरो काम गरिरा’छु, गरिराख्छु ।

म बेथिति, अनियमितता पालेर त्यसलाई सहेर सहकार्य गर्न चाहन्नँ । बेथिति मास्न, उन्मूलन गर्न जनताले मलाई यहाँ पुर्‍याएका हुन् ।

मैले राजीनामा माग्न पाउन्न भनेर कहाँ लेखेको छ ? मैले उहाँहरूलाई शपथ खुवाएको होइन, म त उहाँहरूको सुपर भाइजर हो । उहाँहरूले जे पायो त्यही भन्ने, भाँडभैलो गर्ने किसिमले आइसकेपछि मैले त्यो सहेर बस्ने ?

उहाँ (कार्यपालिका सदस्य)हरूले त तपाईंले विधि र कानुनी प्रक्रिया मान्नुभएन भनिरहनुभएको छ नि !

यो चैं उहाँहरूले खानेपानीको विषयलाई लिएर भन्नुभएको हो । खानेपानीको विषय कार्यपालिकाले अनुमोदन गरेकै छ । खानेपानीको विषय सबै तपाईंले गर्नु भनेर मलाई भनेकै छन् ।

एकीकृत शहरी विकास परियोजना अन्तर्गत खानेपानी परियोजना चलेको थियो । त्यसमा भएको भ्रष्टाचारका विषयमा जनताले गुनासो गरेपछि मैले त्यसको छानबिन हुनुपर्छ भनेर कार्यपालिकामा एजेण्डा बनाएर लगें ।

अनि, उहाँहरूले खानेपानीसँग सम्बन्धित सबै कुरा खानेपानी व्यवस्थापन बोर्डले गर्ने हो नगरप्रमुखले गर्ने होइन भन्न थाल्नुभयो । कार्यपालिकाबाट खानेपानीको कुरा अनुमोदन किन गराइराख्ने भन्छु म त ।

कुनै ठेक्कापट्टाको काम त होइन । जनताको काम जनता आफैं गरिरहेका छन् भने अनुमोदन गर्ने हामी को हौं ? जनता भन्दा ठूलो यो देशको प्रधानमन्त्री, राष्ट्रपति होइन भने हामी मेयर, वडाअध्यक्ष ठूलो हौं त ?

अनि पब्लिक आफैं आएर काम गर्न चाहन्छ भने उसलाई रोक्ने, छेक्ने हामी को हौं ? पाइप बोकेर जनता आफै हिंड्न चाहन्छन् । जनताले गर्न चाहेको कामलाई अनुमोदन गर्ने कि ! नगर्ने भन्ने त हुँदैन ।

यही काम उहाँहरूले पहिला नगरेका कारण जनताले मलाई चुनेका हुन् । जनताले मलाई छानेपछि मैले काम गर्नुपर्छ । म हावामा हल्लेर हिंड्ने, नहुने भाषण गर्ने, खादा-माला लगाएर सभा-सम्मेलनमा व्यस्त हुने व्यक्ति होइन । सार्वजनिक विदा हुने बित्तिकै काम गर्न जानुपर्छ र अरूलाई पनि काम गराउनुपर्छ भन्ने मानसिकताको मान्छे हुँ म ।

फेसबुकमा तपाईंले राख्ने स्टाटसका कारणले आलोचित भइरहनुहुन्छ । पदको मर्यादा नै गुम्ने गरी अभद्र हुनुभयो भन्ने गरिन्छ नि !

म अरूभन्दा फरक छु । अंग्रेजीमा भनाइ नै छ ‘एभ्रिबडी इज डिफरेन्ट बट नट ब्याड ।’ आफूभन्दा खराब भयो भने त्यसलाई नराम्रो भन्ने होइन । फरक हुनु भनेको भिन्न हुनु हो, खराब हुनु होइन । यो अर्थमा सबैले सबैलाई सकारात्मक तरिकाले बुझ्नुपर्छ ।

सामाजिक सञ्जाल प्रयोगका हकमा त म आफूलाई आजीवन सामाजिक अभियन्ता ठान्छु । सुधारका लागि सक्रिय सामाजिक अभियन्ता हुँ म ।

बेथिति, अनियमितता विरुद्ध हिजोको दिनदेखि उभिंदै आएको मान्छे हुँ । आज म मेयर भएँ भन्दैमा चुप लाग्नुपर्छ भन्ने हुँदैन । भ्रष्टाचार गर्ने मान्छेसँग साँठगाँठ गरेर उनीहरूसँग अंकमाल गरेर हिंड्नुपर्छ भन्ने म मान्दिनँ ।

पदमा रहँदा पनि मैले मेरो अभियान छाड्नुहुन्न । म त यो देशको सुधारका लागि हिंडेको मान्छु हुँ । केही घण्टा निदाउने बाहेक अरू समय देशकै बारे सोचिरहेको हुन्छु ।

मेरा फेसबुक स्टाटस पनि देशकै बारेमा लेखिरहेको हुन्छ । देशकै बारेमा गीत लेख्छु, देशकै बारेमा चिन्तन गरिरहेको हुन्छु । देशकै बरोमा काम गरिरहेको हुन्छु । अफिस सकिएपछि श्रमदान गर्छु ।

धेरै जनाले मैले सामाजिक सञ्जालमा भद्रता अपनाएन भन्ने गुनासो गर्छन् । खै कस्तो भद्रता अपनाउनुपर्ने हो ? जे छ त्यही ठिक छ भन्नुपर्ने हो कि ? मैले आज यत्रो ठूलो अभियान सञ्चालन गरिरहेको सबै सामाजिक सञ्जालकै बलमा गरेको हुँ । मैले जस्तै अरू मेयरले पनि गरेर देखाउन् त ? मैले जस्तै गर्ने हो भने उहाँहरूले पनि मैले जस्तै अभद्र शैलीमा बोल्नुपर्छ ।

मैले लेखेका स्टाटसले १०० मा ७० जनालाई राम्रो गर्छ र ३० जनालाई नराम्रो गर्छ भने मैले ३० जनाका लागि आत्मालोचित हुनुपर्छ जस्तो लाग्दैन ।

म टिकटकमा पनि लाइभ बस्छु, कतिपयले मलाई टिकटकमा किन लाइभ बसेको भन्दै सोध्छन् । बोल्न पाउने सबैको स्वतन्त्रता हो । डेमोक्रेसीमा स्वतन्त्रता नहुने, बोल्न नपाउने ? मेयर भएपछि चुप लागेर बस्नुपर्ने पनि कहीं हुन्छ त ?

यो एक वर्षमा पानी बाहेक अरू केही काम गरेको देखिएन नि त तपाईंले ?

एक वर्ष मुख्यगरी पानीकै प्रयासमा गयो । बेसार उद्योग बनाउँदैछौं । साबुन उद्योग बनाउन खोज्दा मुद्दा लगाइदिए । यही अवस्थालाई चित्रित गर्न मैले ‘टेक्दै काँडा विकासको बाटोमा हिंड्दैछु, म यो देशलाई सम्झेर’ भन्दै गीत बनाएको छु ।

अगाडि नबढौं विकास हुँदैन । तर, यहाँ त पाइलैपिच्छे काँडा टेक्नुपर्छ । प्रक्रिया मिलेन, समन्वय गरेन भन्ने मसिना कुरा हुन् । मूलभूत रूपमा जनताले परिवर्तन महसुस गरे कि गरेनन्, जनताको आवश्यकता पूरा भयो कि भएन भन्ने ठूलो कुरा हो । त्यो प्रक्रियाको कागजको टुक्रो, खोस्टाले के गर्छ ?

धराने जनताको घरमा बिहान उठेर शौचालय गर्न जान पानी छैन भने मैले पानी ल्याउनु पर्दैन ? पानी पनि ल्याइनँ भने म के को नगरप्रमुख ? जनतालाई पानी खुवाउन प्रक्रियाका नाममा मैले तीन वर्ष पर्खिनुपर्ने ? पर्खिन्नँ म !

यस्ता कानुन, प्रक्रिया जसले जनताको तत्काल चाहिने आधारभूत आवश्यकतालाई पूरा गर्दैनन् । ती सबै टेक्दै, कुल्चिंदै, जबर्जस्ती च्यात्दै म अगाडि बढ्छु । जे सुकै कानुन लागोस्, मैले देश बेचेको छैन क्यार, भ्रष्टाचार गरेको छैन । पहिला जनतालाई पानी खुवाउँछु अनि विस्तारै प्रक्रिया पूरा गर्छु ।

 तपाईंले वडाअध्यक्षको राजीनामा माग्नुभयो । मेयरले वडाअध्यक्षको राजीनामा माग्न पाउँछ ?

राजीनामा त मैले अहिले पनि मागिरहेकै छु । मैले राजीनामा माग्न पाउन्न भनेर कहाँ लेखेको छ ? मैले उहाँहरूलाई शपथ खुवाएको होइन, म त उहाँहरूको सुपर भाइजर हो । उहाँहरूले जे पायो त्यही भन्ने, भाँडभैलो गर्ने किसिमले आइसकेपछि मैले त्यो सहेर बस्ने ?

मैले पनि भाँडभैलो गरें भने कसैले राजीनामा माग्छ होला नि त ! उहाँहरू (कार्यपालिका सदस्य) विरोध गरिरहनुहुन्छ । उहाँहरूकै कारण कार्यपालिका बसिरहेको छैन।

 कार्यपालिका सदस्यसँग सधैं दूरी बढाएर समस्या समाधान हुँदैन होला । दायित्व त तपाईंमा बढी होला नि ?

सानातिना कुरा लिएर तिलको पहाड बनाउँदा यो समस्या आएको हो । समस्या मिनीमाइज गर्दै जाने हो । यो विवाद भनेको त आगो जस्तो हो, आगोलाई निभाउनुपर्छ। निभाउनु सट्टा फुकेर पेट्रोल, डिजल छर्किन थाल्यो भने त्यसले संसार जलाउँछ।

आफूलाई पनि जलाउँछ र आफू बस्ने घर पनि जलाउँछ। यस्तो भयो भने भोलि खरानी हुनुपर्ने अवस्था आउँछ। त्यसैले नेगेटिभ र विवादित कुरालाई जतिसक्दो मिनीमाइज गरेर आगो निभाउँदै लैजानुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?