+
+

बार्सिलोनाको त्यो स्वर्णिम पुस्ताका सदस्य अहिले कहाँ छन् ?

बीबीसीबाट अनुदित बीबीसीबाट अनुदित
२०८० वैशाख ३० गते ८:००

३० वैशाख, काठमाडौं । सर्जियो बुस्केटले बुधबार क्याम्प नोउ छाड्ने निर्णय गरेका छन् । यो सिजनको समाप्तीपछि क्लब छाड्ने घोषणा गरेका उनी सन् २०११ को अभूतपूर्व बार्सिलोना टिमका अन्तिम सदस्य हुनेछन् ।

सर एलेक्स फर्गुसनले ‘आफूले देखेको सबैभन्दा उत्कृष्ट टिम’का रुपमा व्याख्या गरेको बार्सिलोनाको तत्कालीन टिममा लियोनल मेस्सी, जाभी र आन्द्रेस इनिएष्टा सामेल थिए । यो टिमलाई हालका म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सम्हालेका थिए ।

सन् २०११ को २८ मेमा वेम्बली रंगशालामा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गरी च्याम्पियन्स लिगको उपाधि जितेयता ग्वार्डिओलाले त्यसपछि बायर्न म्युनिख र म्यानचेस्टर सिटीबाट यो सफलताको स्वाद पाएका छैनन् ।

१२ वर्षको बीचमा बार्सिलोनाको त्यो स्वर्णिम टिमका सबै खेलाडीले अलगअलग यात्रा गरेका छन् । केहि विश्वकप उपाधिको खुसीमा छन् भने केहि आफूलाई प्रशिक्षकका रुपमा ढाल्न प्रयासरत छन् ।

गोलरक्षक  : भिक्टर भाल्डेस

भिक्टर भाल्डेसले १२ वर्षको योगदानपछि सन् २०१४ मा क्याम्प नोउ छाडेका थिए । उनले बार्सिलोनामा रहँदा ६ पल्ट ला लिगा, तीनपल्ट च्याम्पियन्स लिग र दुईपल्ट स्पेनिस कपको उपाधि जिते ।

त्यसपछि उनी म्यानचेस्टर युनाइटेड गए । तत्कालीन प्रशिक्षक लुइस भान गालको टिममा नपर्दा लोनमा बेल्जियन क्लब स्ट्यान्डर्ड लिजमा पुगे । सन् २०१८ मा सन्यास लिनुअघि उनले इंग्ल्याण्डको मिडिल्सब्रोबाट पनि खेले ।

४१ वर्षीय भाल्डेस त्यसपछि प्रशिक्षणमा लागे । उनले बार्सिलोनाको यू–१९ टिमका लागि १ वर्ष प्रशिक्षण गरे । सन् २०२१ मा उनले स्पेनिस तल्लो डिभिजनको यूए होर्टामा पनि काम गरे ।

लेफ्ट ब्याक : एरिक अबिडाल

फ्रेन्च स्टार अविडालले सन् २०११ को च्याम्पियन्स लिग फाइनलअघि कलेजोको ट्युमरबाट उल्लेखनीय सुधार पाएका थिए । तर, पछि जटिलता बढ्दै जाँदा सन् २०१२ मा उनले कलेजो प्रत्यारोपण नै गर्नुपर्‍यो।

६ अप्रिलमा शल्यक्रिया गराएका उनी १८ डिसेम्बर सन् २०१२ मा बार्सिलोनाका लागि प्रशिक्षणमा फर्किए । सन् २०१३ मा उनी आफ्नै पूर्व क्लब मोनाको फर्किए । सन् २०१४ मा सन्यास लिनुअघि उनले ओलम्पियाकोसका लागि पनि खेले ।

४३ वर्षीय अविडाल सन् २०१८ मा फुटबल निर्देशकका रुपमा बार्सिलोना फर्किएका थिए । तर, उनको कार्यकाल सन् २०२० को अगष्टसम्म रह्यो ।

सेन्टर ब्याक : जाभियर मास्केरानो

लिभरपुल र वेष्ट ह्याममा मिडफिल्डरबाट डिफेन्डर बनेका मास्केरानो अहिले ३८ वर्षका भए । उनी सन् २०२१ मा अर्जेन्टिनी यू–२० टिमको प्रशिक्षक बने । अहिले पनि उनी सोही पदमा छन् ।

अर्जेन्टिनी सुपरस्टार मास्केरानोले क्याम्प नोउमा ८ वर्ष विताए । त्यहाँ रहँदा उनले दुईपल्ट ट्रेवल उपाधि जितेका थिए ।

सन् २०१८ मा बार्सिलोना छाडेर चिनियाँ क्लब हेवेई चाइना फर्चुनमा पुगेका उनी सन् २०२० मा सन्यास लिनुअघि अर्जेन्टिनास्थित आफ्नो गृहनगरमा अवस्थित क्लब एस्टुडियान्टेसका लागि खेलेका थिए ।

सेन्टर ब्याक : जेरार्ड पिके

बार्सिलोनाका लागि पिकेको प्रतिवद्धता बुस्केटको जत्तिकै छ । यी सेन्टर ब्याकले सन् २०११ मा च्याम्पियन्स लिगको उपाधि जितेपछि ११ वर्ष क्याम्प नोउमा बिताए र नोभेम्बर २०२२ मा सन्यास लिए ।

यी सुपरस्टारले स्पेनका लागि सन् २०१० मा विश्वकप र सन् २०१२ मा यूरोसमेत जितेका छन् । बार्सिलोनालाई सन् २०१५, २०१६, २०१८ र २०१९ मा ला लिगा उपाधि दिलाउन पनि उनको प्रमुख भूमिका थियो ।

सन् २०११ मा दोस्रोपल्ट ट्रेवल उपाधि जित्ने टिमका तेस्रो सदस्य ३६ वर्षीय पिकेले सन्यासपछि थुप्रै व्यावसायिक काममा हात हालेका छन् । तीमध्ये फुटबलको किंग्स लिगको अवधारणा पनि छ ।

राइट ब्याक : ड्यानी आल्भेस

४० वर्षीय आल्भेसले सन् २०१६ मा पहिलोपल्ट बार्सिलोना छाडेका थिए । तर, सन् २०२१–०२२ को सिजन पुनः अनुबन्ध भए । सन् २०२२ मा मेक्सिकन क्लब यूएनएएममा पुगे ।

सन् २०२३ को जनवरीमा यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएपछि क्लबले उनीसँगको सम्झौता रद्ध गरेको छ । आल्भेस आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका छन् ।

सन् २०१५ मा बार्सिलोनाले च्याम्पियन्स लिग जितेपछि आल्भेस दुईपल्ट घरेलु लिग, घरेलु कप र युरोपेली कपको ट्रेवल उपाधि जित्ने सात खेलाडीमध्ये एक हुन् । उनले बार्सिलोना छाडेर पुनः फर्कने समयसम्म युभेन्टस, पीएसजी र साओ पाउलोका लागि पनि व्यावसायिक फुटबल खेले ।

मिडफिल्डर : सर्जियो बुस्केट

सर्जियो बुस्केट १८ वर्षपछि बार्सिलोना छाड्ने तयारीमा छन् । उनी क्लबकै युवा एकेडेमीबाट आएका खेलाडी हुन् । उनको समयमा क्लब र देशको राष्ट्रिय टिममै एउटा अभूतपूर्व लयको बाटोमा थियो ।

बुस्केटले बार्सिलोनाका लागि ७१८ खेल खेल्दा घरेलु लिग, घरेलु कप र युरोपियन कप गरी सिजनको ट्रेवल उपाधि दुईपल्ट जितेका छन् ।

स्पेनिसबाट विश्व विजेता ३४ वर्षीय यी खेलाडीले सन् २०११ को च्याम्पियन्स लिग फाइनलयता बार्सिलोनाका लागि १८ उपाधि जितेका छन् ।

मिडफिल्डर : जाभी

सर्जियो बुस्केट बार्सिलोनामा त्यति समय रहे जति समयसाथी मिडफिल्डर जाभी आफ्नो करिअर समाप्त गरी सन्यासको घोषणासहित क्याम्प नोउमा प्रशिक्षक लाग्यो ।

जाभी ४३ वर्षका भए । सन् २०१५ मा कतारी क्लब अल सादमा जानुअघि उनी क्याटलान टिमको एक महत्वपूर्ण हस्ती थिए ।

खेलाडीका रुपमा अल साद पुगेका जाभी चार वर्षपछि सोही क्लबको प्रशिक्षक बने । उनको टिमले सन् २०२१ मा कतार स्टार्स लिगसमेत जित्यो । सन् २०२१ को नोभेम्बरमा रोनाल्ड कोम्यानलाई प्रतिस्थापित गरी जाभी बार्सिलोनाको प्रशिक्षक बने ।

मिडफिल्डर : आन्द्रेस इनिएस्टा

बार्सिलोनाको जादुयी मिडफिल्डको तेस्रा खेलाडी इनिएस्टा गत विहीबार ३९ वर्ष लागेका छन् । अहिले पनि उनी जापानी क्लब भिसेल कोबेका लागि खेलिरहेका छन् ।

सन् २०११ मा च्याम्पियन्स लिग फाइनलपछि इनिएस्टा सात वर्षसम्म बार्सिलोनामा रहे । क्याटलानमा निकै धेरै सफलताको अनुभवपछि सन् २०१८ मा उनी एसिया प्रस्थान गरे ।

त्यसयता उनले जापानी क्लबका लागि १३३ खेल खेलेका छन् । सन् २०१९ मा उनको टिमले इम्पेरर्र कपको उपाधि जितेको थियो ।

फरवार्ड : लियोनल मेस्सी

३५ वर्षीय मेस्सीले सन् २०२२ को डिसेम्बरमा विश्वकप जिते । बार्सिलोनाबाट बहिर्गमनपछि निश्चित रुपमा उनको यो सबैभन्दा ठूलो उपलब्धी थियो ।

क्याटलान क्लबका लागि दुईपल्ट ट्रेवल उपाधि जित्ने टिमका सदस्य मेस्सी सन् २०२१ मा क्लबमा ब्याप्त वित्तीय संघर्षका बीच ठूलो पीडा बोकेर पेरिस सेन्ट जर्मेइन (पीएसजी) पुगे ।

यो सिजन उनी पीएसजी छाड्न तयारी गरिरहेका छन् । सातपल्टको बेलोन डी’ओर विजेता मेस्सीका लागि मेजर लिग सकर टिम इन्टर मियामी तथा साउदी अरबको अल हिलालसँगको अनुबन्ध सम्भावित विकल्पहरु हुन् । उनलाई फिर्ता ल्याउन बार्सिलोना पनि इच्छुक छ ।

फरवार्ड : डेभिड भिया

भिया वर्तमान समयमा भारतीय क्लब उडिसा एफसीको प्राविधिक सल्लाहकार तथा ग्लोवल फुटबल अफरेसन प्रमुख छन् । उनी अमेरिकाको दोस्रो डिभिजनको क्लब क्वीन्सबोरो एफसीका मालिकसमेत हुन् । जसले यही सिजनदेखि न्युयोर्कभन्दा बाहिर खेल्न सुरु गर्दैछ ।

४१ वर्षीय भिया आफ्नो गतिका साथसाथै एक असाधारण स्ट्राइकरसमेत थिए । उनले बार्सिलोनामा आफ्नो समयमा ८ उपाधि जिते ।

सन् २०१३ मा एट्लेटिको मड्रिडमा अनुबन्धनका लागि उनले क्याम्प नोउ छाडे । सन् २०२० मा सन्यास लिनुअघि उनले न्युयोर्क सिटी, मेलवर्न सिटी र भिसेल कोबेका लागिसमेत खेले ।

फरवार्ड :  पेड्रो

पेड्रो ३५ वर्षका भए । अहिले सिरी ए टिम लाजियोका लागि खेलिरहेका छन् । सन् २०१५ मा उनी बार्सिलोना छोडेर चेल्सी पुगेका थिए । पाँच वर्ष लण्डनमा विताएर उनी सन् २०२० मा रोमा पुगेका थिए ।

बार्सिलोनाका लागि दुईपल्ट ट्रेवल उपाधि जित्नेमध्येका एक पेड्रोले सन् २०११ यता सन् २०१७ मा चेल्सीका लागि प्रिमियर लिग र सन् २०१२ मा स्पेनका लागि युरो उपाधि जिते ।

सब्स्टिच्युडहरू :

त्यतिबेला वेम्बलीमा सफलता हासिल गरेको बार्सिलोनाको बेञ्चमा पनि केहि उल्लेखनीय नाम थियो ।

थियागो आल्कान्तारा, जसको करिअर भर्खरै सुरु भएको थियो । अहिले उनी लिभरपुलका लागि खेलिरहेका छन् । ३२ वर्षीय यी खेलाडीले बार्सिलोनामा आफ्नो समयपछि जर्मन च्यानम्पियन बायर्न म्युनिसबाट आफूलाई एक शीर्ष व्यावसायिक खेलाडीका रुपमा स्थापित गरे ।

फरवार्ड बोजान र इब्राहिम अफेलेपनि स्टोक सिटीका लागि प्रिमियर लिग खेल्न गए । क्लबका पूर्व कप्तान कार्लोन पुयोल पनि त्यतिबेला बेन्चमा थिए । करिअरको पूरा १९ वर्ष क्याम्प नोउमा विताएका उनले सन् २०१४ मा सन्यास लिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?