+
+

प्रधानमन्त्रीसँग रविले भने : तीन पार्टी मात्रै बसिरहँदा आशंका भयो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १७:५१

२९ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय सरोकारका विषयमा तीन प्रमुख दलबीच मात्रै छलफल नराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सभापति लामिछानेले राष्ट्रिय सरोकारका विषयमा कुरा गर्दा संसदका अरु दललाई पनि बोलाउन आग्रह गरेका हुन ।

‘तीन दल बसिरहनुभएको छ । रास्वपा चौथो दल हो, जनमत पार्टी छ, राजेन्द्र लिङदेन पुरानै भए पनि नयाँ अभिमतसहित आउनुभएको छ, यसतर्फ ध्यान दिनुहोस्’ लामिछानेले प्रचण्डसँगको संवाद सुनाए ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन चलिरहँदा ठूला तीन दलका नेता मात्रै निरन्तर छलफल गर्नुले आशंका जन्मिएको लामिछानेले प्रचण्डलाई सम्झाएका थिए । ‘यो प्रकरणमा बालकृष्ण खाँण जोडिनुभएको छ, टोपबहादुर रायमाझी पहिले माओवादी हो, तपाईहरु मात्रै नबस्नुहोस्’, प्रधानमन्त्री प्रचण्डलाई लामिछानेको आग्रह छ ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले अहिले तीन पार्टीका नेताहरुबीच भइरहेको कुराकानी अरु नै विषयमा भएको बताएका थिए । ‘संसद चलिरहेको छ, विषय अरु नै हो’ प्रचण्डले भनेका थिए । तर लामिछानेले भनेजस्तै रााष्ट्रिय सरोकारका विषयमा सबैलाई समेटेरै जाने लामिछानेलाई आश्वासन दिएका छन् ।

लामिछानेका अनुसार प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता नगरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘यो विषयमा (नक्कली शरणार्थी) आशंका नगर्नुहोस्, दोषीलाई उम्कने गरी काम हुँदैन’ प्रधानमन्त्रीले भनेका थिए ।

सत्ता सहयात्राको प्रस्ताव

रास्वपा सभापति लामिछानेसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पुनः सरकारमा आउनसमेत आग्रह गरेका छन् । यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा पनि प्रचण्डले गुनासो गरे ।

‘तपाईहरु पनि आउनुहोस्, सँगै अगाडि बढ्दा सजिलो हुन्छ भन्नुभएको थियो’ सभापति लामिछानेले भने, ‘तर, हामी प्रतिपक्षमै बसेर सहयोग गर्छौ भनेको छु’ भेटपछि लामिछानेले भनेका छन् ।

अप्ठ्यारो परे साथ दिने वचन

प्रधानमन्त्री प्रचण्डले सरकारमै आउन गरेको आग्रह रास्वपा सभापति लामिछानेले ठाडै अस्वीकार गरेनन्। तर, सरकारमा सहभागी हुने वातावरण नभएको र भविष्यमा अप्ठ्यारो पर्दा साथ दिने आश्वासन रास्वपा सभापति लामिछानेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई अगाडि बढाएकै कारण अप्ठ्यारो परे जुनसुकै बेला सरकारलाई समर्थन दिन र आवश्यक परे सरकारमै सहभागी भएर साथ पनि तयार रहेको बचन प्रधानमन्त्री प्रचण्डलाई दिएको रास्वपा सभापति लामिछानेले अनलाइनखबरसँग भनेका छन्।

‘भ्रष्टाचारीलाई कार्बाही गर्दा किन सरकार ढल्ला र ? तर त्यस्तो अवस्था आएमा हाम्रो साथ रहन्छ भनेको छु’ लामिछानेले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?