+
+

कायाकल्पको प्रतीक्षामा अंकुरी महादेव

अंकुरी महादेव मन्दिरमा नेपाल तथा भारतको विभिन्न स्थानबाट भक्तजनहरु दर्शन, पूजाआजा तथा जल–रिसालका लागि आउने गर्छन् । यहाँ शिवरात्री र अनन्त चतुर्दशी लगायतको चाड पर्वका दिन भक्तजनको निकै भीड हुन्छ ।

अजयकुमार झा अजयकुमार झा
२०८० वैशाख ३० गते १३:२६

सप्तरीको महादेवा गाउँपालिकाको महादेवा गाउँ सय वर्षअघि कुन नामले परिचित थियो भन्ने कुराको जबाफ दिन सायद अहिले कोही समर्थ छैन । उपलब्ध ऐतिहासिक जानकारीबाट के देखिन्छ भने महादेवा भनी यस गाउँको नाम सय वर्षअघि घटित एक घटनापछि रहन गएको हो ।

मुक्तिनाथ मण्डलको ‘सप्तरी दर्पण’ को पूरक संस्करणमा उल्लेख भए अनुसार सयौं वर्षअघि यहाँ माटो मुनिबाट शिवलिङ्ग प्रकट भएपछि यस ठाउँको नाम महादेवा रहेको हो ।

महादेवा भन्ने स्थानमा अंकुरी महादेव मन्दिर छ । महादेवा परिसरमा अरु पनि मन्दिर छन् तर महादेवको मन्दिर यस ठाउँको सुरुको मन्दिर हो । महादेवा गाउँपालिकाको नामकरण यसै महादेव मन्दिरका कारण गरिएको हो । यसअघि गाउँ विकास समिति हुँदा पनि यसको नाम महादेवा नै थियो ।

सप्तरीको साविकको महादेवा गाउँ विकास समिति वडा नं. ९ हाल परिवर्तित महादेवा गाउँपालिका वडा नं. २ मा अवस्थित यस मन्दिरको आसपास बस्ती छैन । महादेवा नामको बस्ती यहाँबाट पाँच सय मिटर उत्तरमा पर्छ । राजविराजबाट हनुमाननगरतर्फ जाँदा खा‌ँँडो नदी, तोपा, सडेपार कटेपछि मनसापुर चोक आउँछ । यो मनसापुरबाट दक्षिणतर्फ गएको बाटोमा गए बभनगामाकट्टी गाउँ पर्छ भने र उत्तरतर्फ गए अंकुरी महादेव र महादेवा गाउँ पुगिन्छ ।

नेपाल र भारत सरकारबीच २०११ साल वैशाख १२ गते भएको कोशी सम्झौता अनुसार कोशी ब्यारेजको निर्माणसँगै निर्माण गरिएको कोशी पश्चिमी नहर महादेवा गाउँ र यस महादेव मन्दिरको बीचबाट गएको छ । नहरको उत्तरी भागमा महादेवा र दक्षिणी भागमा अंकुरी महादेव मन्दिर आउँछ ।

गाई भैंसी चराउन आउने गोठालाहरूले खेलकुद गर्ने क्रममा शिवलिङ्गलाई यताउति हुत्याइदिने गरेका हुन्थे, तर राति त्यो शिवलिंग आफैं आफ्नो स्थानमा फर्किन्थ्यो । गोठालोहरू भोलिपल्ट आउँदा त्यो शिवलिङ्गलाई फेरि पुरानै स्थानमा देखेर आश्चर्यचकित हुन्थे ।

वरिपरि टाढा टाढासम्म बस्ती नभएको खुला चौरमा हरियालीका बीच यस मन्दिरको अवस्थितिले आगन्तुकको मन शान्त बनाउँछ । नहरकिनारको भेग भएकाले यो क्षेत्र बाह्रै महिना हरियाली वा पिताम्बरा ओढेको प्रतीत हुन्छ । हिजो आजको जस्तो, जहाँ पनि केही धुर, कट्ठा जग्गा पायो, चन्दा उठाएर मन्दिर बनाइदिने प्रवृत्ति पहिले थिएन ।

दुईचार वटा मन्दिर, धर्मशाला, कुवा, मेलासँगै पोखरीसमेतका लागि आवश्यक जग्गा चर्चेर मन्दिर निर्माण गरिन्थ्यो । अंकुरी महादेव मन्दिर पनि भूसम्पत्तिको दृष्टिले सम्पन्न देखिन्छ । पोखरी र त्यसको डिलबाहेक मन्दिर परिसरले पाँच कट्ठा क्षेत्रफल ओगटेको छ ।

महादेवा गाउँ निवासी चन्द्र दास तीर्थाटनका लागि भारतको असम (आसाम) तर्फ गएका थिए । असममा कामाख्यादेवीको प्रसिद्ध मन्दिर छ, जो तन्त्रशक्तिको साधनास्थलको रूपमा संसारमै प्रसिद्ध छ । यो मन्दिर शक्तिकी देवी सतीको मन्दिर हो । सतयुगीन तीर्थ कामाख्या वर्तमानमा तन्त्र सिद्धिको सर्वोच्च स्थल हो ।

असम राज्यको राजधानी दिसपुरबाट ६ किलोमिटरको दूरीमा रहेको नीलाञ्चल अथवा नीलशैल पर्वतमालामा भगवती कामाख्याको सिद्ध शक्तिपीठ सतीको ५१ शक्तिपीठहरूमा सर्वोच्च स्थान राख्दछ । यहाँ भगवतीको महामुद्रा (योनि–कुण्ड) स्थित छ । यो अष्टादश महाशक्तिपीठ स्तोत्र अन्तर्गत पर्दछ, जो आदि शंकराचार्यले लेखेका थिए । कामाख्यादेवीको दर्शनबाट उपासक सांसारिक भवबन्धनबाट मुक्ति प्राप्त गर्दछ भन्ने मान्यता छ ।

चन्द्रदास शिव र शक्तिको भक्त थिए । सायद उनी कुनै विशेष प्रेरणाबाट कामाख्या पुगेका थिए । महादेव र महादेवीप्रतिको सच्चा भक्तिका कारणले त्यहाँ रहँदा उनले सपना देखे कि आफ्नै गाउँठाउँको अमुक स्थानमा माटोमुनि शिवलिङ्ग छ ।

तीर्थाटनबाट फर्की उनी सपनामा देखेको ठाउँमा पुगी गाउँलेलाई बोलाएर आफूले देखेको सपनाको कुरा बताए । गाउँलेहरूले विमर्श गरी उत्खनन गर्दै जाँदा त्यहाँ शिवलिङ्ग फेला परयो । त्यही शिवलिङ्ग अंकुरी महादेव मन्दिरमा स्थापित छ । गाउँलेले शिवलिङ्ग भेटिएकै स्थानमा स्थापित गरी पूजाआजा गर्न थाले ।

रेखदेखको कुनै व्यवस्था नहुँदा दिउँसो गाई भैंसी चराउन आउने गोठालाहरूले खेलकुद गर्ने क्रममा शिवलिङ्गलाई यताउति हुत्याइदिने गरेका हुन्थे, तर राति त्यो शिवलिंग आफैं आफ्नो स्थानमा फर्किन्थ्यो । गोठालोहरू भोलिपल्ट आउँदा त्यो शिवलिङ्गलाई फेरि पुरानै स्थानमा देखेर आश्चर्यचकित हुन्थे । विस्तारै विस्तारै त्यो कुरा फैंलिदै गयो ।

गाउँलेले एक दुई पटक परीक्षण गर्नकै लागि जानीजानी शिवलिङ्गलाई टाढा टाढा पुर्‍याई छाडि दिए भने भोलिपल्ट आई हेर्दा शिवलिङ्गलाई फेरि आफ्नै स्थानमा यथावत रहेको देखेर विस्मित हुन्थे । पछि यो खबर सुनेर टाढा टाढाका मानिस आउन थाले । उनीहरुले चकित भएर त्यसलाई महादेवको लीला र शिवलिङ्गको पराक्रम मान्न थाले । त्यस घटनाले महादेवालाई चारैतिर चर्चित बनाई दियो ।

अंकुरी महादेव शिवलिङ्गको पराक्रम बढ्दै गएपछि त्यसबाट प्रभावित भएर छिमेकी गाउँ बभनगामाकट्टी निवासी नरसिंह प्रसाद सिंहले मन्दिर निर्माण गराएका थिए । नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंह यसै क्षेत्रबाट प्रतिनिधित्व गर्दथे । उनले आफ्नो संसदीय विकास कोषको बजेटबाट मन्दिर परिसरमा धर्मशाला निर्माण गरेका थिए ।

त्यसैगरी पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ता (आनन्द)ले पनि आफ्नो संसदीय विकास कोषको बजेटबाट यस मन्दिर परिसरमा धर्मशाला निर्माण गरेका छन् । मन्दिर परिसरमा पार्वती, गणेश, हनुमान मन्दिर र नन्दी निर्माण गरिएको छ ।

महादेवको वाहन बसाहाको नाम नन्दी हो । प्रत्येक महादेवको मन्दिरमा कुनै न कुनै रुपमा नन्दीको वास अनिवार्य हुन्छ । तसर्थ महादेवको मन्दिरसँगै नन्दीको पनि निर्माण गरिएको हुन्छ । अंकुरी महादेव मन्दिरमा २०७९ साउन ३ गते र २३ गते नन्दी निर्माण गरिएको छ । तर एउटा होइन दुई वटा ।

तिलाठी कोइलाडी गाउँपालिका– ६ बभनगामा निवासी चनरदेव यादवले संगमरमरको ६० किलो तौलको नन्दीको मूर्ति स्थापना गरे भने वैदेशिक रोजगारीमा रहेका तिलाठी कोइलाडी गाउँपालिका–६ र ७ का युवाहरुको सौजन्यमा पित्तलको ३० किलोको अर्को नन्दीको मूर्ति स्थापना गरिएको छ ।

अंकुरी महादेव मन्दिरमा भाकल गरेपछि पूरा हुने जनविश्वास रहेको छ । भाकल पूरा भएपछि मन्दिरमा भक्तजनले झाँप, चनमा आदि चढाउने गर्छन् । यसैगरी प्रसादको रुपमा लड्डु, पान, सुपारी, खीर आदि चढाउने गरिन्छ ।

अंकुरी महादेव मन्दिरमा नेपाल तथा भारतको विभिन्न स्थानबाट भक्तजनहरु दर्शन, पूजाआजा तथा जल–रिसालका लागि आउने गर्छन् । यहाँ शिवरात्री र अनन्त चतुर्दशी लगायतको चाड पर्वका दिन भक्तजनको निकै भीड हुन्छ । मन्दिर अगाडि रहेको पोखरीमा भक्तजनले स्नान गरी जल ल्याएर मन्दिरमा स्थापित शिव लिङ्गमा चढाउने गर्छन् । साउने सोमबारका कारण साउन महिना उत्सवमय हुन्छ ।

फागुन महिनामा पर्ने महाशिवरात्रिको अवसरमा यहाँ मेला लाग्दछ । यस दिन भक्तजन सप्तकोशी नदीबाट र सुल्तानगन्जसमेत पुगेर गंगा नदीबाट जल भरेर अंकुरी महादेवलाई अभिषेक गर्ने परम्परा रहेको छ । अहिले अंकुरी महादेव मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको रुपमा आकर्षणको केन्द्र बन्दै गएकोले सप्तरी जिल्लाको विकासमा मद्दत पुग्ने स्थानीय स्वास्थ्यकर्मी प्रमोद कुमार मण्डलको भनाइ छ ।

पहिले यस क्षेत्रबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जित्दै आएका थिए । गत ४ मंसिरको चुनावमा भने जनमत पार्टीका डा. सीके राउत निर्वाचित भए । महादेवा गाउँपालिका– २ का वडाअध्यक्ष जागेश्वर प्रसाद इसरका अनुसार मन्दिरलाई नयाँ रूप प्रदान गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) बन्दै छ ।

मन्दिरमा धार्मिक पर्यटकलाई तान्न स्थानीय तहले प्रचार प्रसारको काम पनि योजनाबद्ध रूपमा गर्नुपर्छ । यसका लागि मन्दिरको व्यवस्थापन गर्न सक्षम र सबल समिति निर्माण गर्नुपर्छ । अहिले मन्दिर व्यवस्थापन समिति गठन गर्ने कानूनी व्यवस्था छैन । स्थानीय तहले गाउँ सभाबाट नियम पारित गरी अंकुरी महादेव मन्दिरको व्यवस्थापन समितिको गठन तथा त्यसको काम, कर्तव्य, अधिकार, निगरानी र फेरबदलसम्बन्धी प्रक्रिया सुनिश्चित गर्नुपर्छ ।

महादेवा गाउँपालिकाको वेबसाइटमा मन्दिरमा धार्मिक पर्यटकलाई आकर्षित गर्ने सामग्री उपलब्ध गराउन आवश्यक छ । भक्तजनलाई आकर्षित गर्न मन्दिरको नामैले पनि धेरै मद्दत गर्छ तर त्यस कुराको प्रचार भने पर्याप्त हुनुपर्छ ।

यस मन्दिरलाई चन्द्रेश्वरनाथ महादेव पनि भनिन्छ तर यस मन्दिरको अधिक प्रचारित नाम भने अंकुरी महादेव नै हो । यस मन्दिरको महादेवलाई अंकुरी भन्नुपर्ने कारण के हो भने शिवलिङ्ग स्वतः अंकुरित भएको हो । यो शिवलिङ्ग अन्यत्रबाट ल्याइएको होइन, यही स्थानमा माटो मुनि फेला परेको हो भन्ने विश्वास छ ।

सप्तरी जिल्लामा अंकुरीसँगै हनुमाननगर कंकालिनी, अग्निसाइर कृष्णा सवरण, रूपनी, शम्भुनाथ, डाक्नेश्वरी, छिन्नमस्ता, राजविराज जस्ता स्थानीय तहको नामकरण त्यहाँ प्रसिद्ध मन्दिरको नाममा गरिएको छ । यी स्थानीय तहहरूले आपसमा सहकार्य र साझेदारीको आधारमा समेत धार्मिक पर्यटकीय विकास अघि बढाउन सक्छन् ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?