+
+

विगतकै दृश्य दोहोरिइरहेको छ पोखरामा

आनन्दराज मुल्मी आनन्दराज मुल्मी
२०८० वैशाख ३१ गते १९:५०

पोखरा महानगरको अघिल्लो पाँच वर्ष मानबहादुर जिसीले नेतृत्व गरे । त्यसको तुलनामा विगत एक वर्षमा तात्विक परिवर्तन भएको महसुस म लगायतका पोखरेलीले गर्न सकिरहेका छैनौं । पोखरालाई कसरी व्यवस्थित गर्ने र कहाँ पुर्‍याउने भन्ने योजनाबद्ध कार्यतालिका छैन । के काम गर्ने, कहाँबाट सुरु गर्ने भन्ने कुराकै टुंगो छैन । यो नै पोखराको विकासको पहिलो अवरोध हो ।

जनताले चुनेपछि ‘वान म्यान आर्मी’ भने जस्तै म नै सर्वेसर्वा हुँ, मैले भनेपछि जे पनि हुन्छ, म जे गर्छु ठिक गर्छु, अरूले दिएको सरसल्लाह आवश्यक छैन भन्ने प्रवृत्ति विकास हुने रहेछ । अहिलेको नगरप्रमुखलाई भएको त्यही हो । हुन त पदमा पुग्ने व्यक्ति र हाम्रो अनुभूति फरक हुन सक्ला, हामी जनताका रूपमा त्यही प्रवृत्ति देखिराखेका छौं ।

स्थानीय तहको पहिलो पाँच वर्षको कार्यकालमा जे देख्यौं, पछिल्लो एक वर्षमा पनि ठ्याक्कै त्यही देखिराखेका छौं । अहिले मेयर साबले कहाँनेर के बनाइराखेका छन् भन्ने कुरा उनको भाषणबाट मात्रै सुन्न सक्छौं । होइन भने महानगरपालिकामा गएर के के कार्यक्रम छन् ? के के भइराखेका छन् ? यहाँ के के हुँदैछ भन्ने कुराको लेखाजोखा गर्न थाल्यौं भने हामी केही पनि पाउँदैनौं ।

एक वर्षमा प्रमुख प्रशासकीय अधिकृत तीन पटक फेरिइसकेका छन्, अहिले चौथो आउने प्रक्रिया सुरु भएको छ । यस्तोमा उनीहरू जिम्मेवार हुन सक्छन् कि सक्दैनन् भन्ने कल्पना गर्न सक्ने अवस्थामा हामी छैनौं ।

कर्मचारीतन्त्रमा पनि विश्वास छैन, किनभने महानगरपालिकामा अझै पनि ३/४ प्रकारका कर्मचारी छन् । उनीहरू एकले अर्कालाई नमान्ने निषेधको राजनीति गरिरहेका छन् । जागिर खाने संख्या बढ्दो छ । दरबन्दी होस् या नहोस्, मेयरले आफ्नो शक्ति देखाउनलाई पनि करारमा नियुक्ति गर्ने चलन रहेछ । यस्तो अभ्यास विगत ६ वर्षदेखि हेरिराखेका छौं ।

कर्मचारीतन्त्र हामीलाई निरन्तर चाहिन्छ, तर त्यसलाई ठिक ढंगबाट चलाउन सक्नुपर्छ । कर्मचारीतन्त्र घोडा हो, यसलाई कतिसम्म दौडाउने, कति उप|mन्छ, कति नाघ्छ भन्ने त घोडा चढ्नेले मात्रै थाहा पाउँछ । घोडाको क्षमता यति छ, मैले यो तहसम्म लैजानुपर्छ भन्ने घोडचढी गर्ने मान्छेले भन्न सक्नुपर्‍यो । चढ्नेले क्षमता देखाउन नसक्दा घोडा घाँस र चना खाएर बस्छ । ब्युरोक्रेसी कसरी चलाउने भन्ने कुरा नेतृत्वले देखाउने क्षमतामा भर पर्छ ।

नेतृत्वमा पुगेपछि कुनै पनि प्रकारको पूर्वाग्रह विना, कसैलाई तेरो मेरो नभनिकन अगाडि बढाउने हैसियत उसले देखाउनैपर्छ । तर, हामीले त्यो क्षमताको विकास गर्न सकेका छैनौं ।

पालिका कर्मचारीको ‘डम्पिङ साइट’को रूपमा स्थापित हुन पुगेको छ । मान्छेहरू थुप्रै छन्, तर काम कहींबाट हुनसकेको छैन । काम गर्ने कसैको नयाँ सोच छ भने पनि ‘अँ’ भन्ने बाहेक अगाडि बढौं भन्ने भाव अहिले पनि अभाव छ ।

२०४६ सालदेखि अहिलेसम्म धेरै घोषणापत्र र प्रतिबद्धता हामीले पढ्यौं । तर, कुनै पनि पार्टीले आफ्नो घोषणापत्र लागू गरेको उदाहरण छैन । नेपाल सरकार चलाउनेहरूमा त यो प्रवृत्ति छ भने तल्लो तहको त झन् के कुरा गर्नु ?

पोखरा महानगरपालिकाको चुनावताका पनि गठबन्धनले निकालेको घोषणापत्र बारे त्यतिबेलै भनेका थियौं, ‘यसमा यति धेरै कुरा छन् कि ती कुराहरू काम त के कल्पनै गर्न नसकिने छन् ।’

महानगरका धेरै सूचना पढ्यौं, धेरै निर्देशन सुन्यौं । तर, कहीं काम भएका छन् त ? भत्काएको अन्डरग्राउन्ड उही अवस्थामा छ । मुख्य बजारमा राख्न नपाइने भनिएको वर्कसप त्यहीं छन् । मापदण्ड विपरीत बनिरहेकै छन् । यदाकदा भत्काइएको कुरा सुनिन्छ । तर, तरिका त्यो होइन । नतिजा मूलधारमा आउनुपर्छ

त्यसो त, यहाँका नागरिकमा पनि घोषणापत्र नै अध्ययन नगर्ने प्रवृत्ति धेरै छ । घोषणापत्र पढेर औंलो ठड्याउने सचेतना नै छैन । आज पनि ‘घोषणापत्रमा भनेको यो काम किन पूरा भएन ?’ भनेर प्रश्न गर्न सक्ने हैसियत आम नागरिकमा छैन ।

जतिसुकै आन्दोलन र परिवर्तनको कुरा गरे पनि जितेर जाने जनप्रतिनिधिलाई काम गराउन सक्ने अवस्था बनाउन सकेका छैनौं । ‘यी आफ्नै मान्छे हुन्, के भन्ने ?’ भनेर जनप्रतिनिधिले केही काम नगर्दा पनि आलोचना गर्ने पक्षमा छैनौं ।

हाम्रो नेतृत्व तहमा पनि आलोचना सहन सक्ने क्षमता छैन । अबको नेतृत्वमा आलोचना सहन सक्ने क्षमता विकासको जरूरी भइसकेको छ । नेतृत्वलाई गरिने आलोचना संस्थागत हो । तर, यहाँ मेरो आलोचना भयो भनेर व्यक्तिगत रूपमा लिने प्रवृत्ति छ, जुन नहटेसम्म पोखरा महानगरपालिकालाई हामीले सोचेको, परिकल्पना गरेको शहर बनाउन गाह्रो छ, अझै समय लाग्छ ।

म पोखरा महानगरपालिकाले बनाएको ३२ जनाको सल्लाहकार समितिमा छु । मैले सल्लाहकारको भूमिकाबारे पनि मेयरलाई प्रश्न गरेको थिएँ, ‘हाम्रो पृष्ठभूमि के हो ? के गनुपर्ने हो ? कि कार्यविधि हामीलाई दिनुुस् कि तयार गर्नुस्, होइन भने कार्यविधि बनाउन दिनुस् ।’ तर, आजसम्म पनि छलफल हुनसकेको छैन ।

दुई पटक महानगरपालिका प्रमुखले ३२ जनालाई नै बोलाएर ‘यो गर्दैछौं, त्यो गर्दैछौं’ भनेर सुनाए । हामीले एकोहोरो सुन्यौं । त्यसपछिको हाम्रो प्रतिक्रिया छैन । सल्लाहकार नियुक्त गर्दा विभिन्न क्षेत्रका विज्ञका रूपमा नियुक्त गरेका थिए । त्यतिबेला ‘आवश्यकताअनुसार सल्लाह लिन्छौं’ भनेका थिए । तर, सामूहिक रूपमा आजसम्म सल्लाह लिने काम भएको छैन ।

शासकीय सञ्चालनमा सबैभन्दा गम्भीर पक्ष नै व्यवस्थित कसरी गर्ने भन्ने हो । यो भनेको घर चलाउनु जस्तै हो । मुलुकको घरमूलीले शासकीय कला-कौशलता देखाउन सक्नुपर्छ । हाम्रो महानगरपालिकाको हकमा पनि के, कहाँ, कसरी लैजाने भन्ने थाहा नहुँदा अव्यवस्थित हुन्छ । अहिलेको परिस्थिति त्यही हो ।

ठूला दलका बीचमा एक्लै जितेका मेयरका आफ्नै दुःख होलान्, स्रोत साधनको अभाव होला । कतिपय कुरा पूरा गर्न असमर्थता पनि होला । तर, ती सबै कुरा पारदर्शी राख्न सक्ने हैसियत हुनुपर्छ । केवल भोटका लागि जे पनि हुन्छ भन्ने प्रवृत्तिले न व्यक्ति अगाडि बढ्न सक्छ न मुलुक । यो प्रवृत्तिमा परिवर्तन गर्नु अहिलेको सर्वाधिक आवश्यकता हो ।

जिम्मेवारीमा रहँदासम्म कर्तव्य र दायित्व पूरा गर्न इमानदारीपूर्वक संघर्ष गर्न जरूरी छ । शहरको विकासका लागि सबैले राजनीतिक रूपमा समान धारणा राख्न जरूरी छ । विकास निर्माण, शहरको सौन्दर्य, व्यवस्थापकीय क्षमता, हरियाली र प्रदूषणरहित शहरको एजेन्डा कसले इन्कार गर्ला र ?

पोखरा बनाउने स्वामित्व सबैले लिन जरूरी छ । अहिलेको होडबाजी पोखरालाई सुन्दर बनाउन कसले सबैभन्दा बढी योगदान दियो भन्ने कुरा न हो ! यो देखाउन त एमाले, माओवादी, कांग्रेस, एकीकृत समाजवादी, राप्रपा सबैलाई पर्ला नि ? यी सबैलाई एकठाउँमा राखेर अगाडि बढाउने कामको थालनी मेयरले नै गर्ने हो ।

पोखरा एउटा शहर मात्र नभएर गण्डकी प्रदेशकै राजधानी हो । त्यसैले पनि पोखरालाई अझ विकसित र उन्नत बनाउने दायित्व हाम्रो पनि हो । पोखरालाई पोखरा बनाउने जिम्मेवारी पोखराको मात्रै नभएर गण्डकी प्रदेश सरकारको पनि उत्तिकै रहन्छ । तर, आवश्यक समन्वय नै हुनसकेको छैन ।

गण्डकी प्रदेशले आफ्नो राजधानीलाई के दियो दिएन, के सघाउ पुर्‍यायो पुर्‍याएन, यो उनीहरूले नै जानून् । तर, बाहिरबाट हेर्दा केही पनि देखिंदैन । महानगरपालिकाले प्रदेश सरकारसँग सामूहिक रूपमा हातेमालो गरेर यो यो, त्यो त्यो गरौं भनेर कतिपटक छलफल चल्यो ? हामीले थाहा पाएका छैनौं । यो अहंको टकराव जस्तो लाग्छ ।

महानगरपालिका ‘म प्रदेश सरकारभन्दा के कम ?’ भनेर अगाडि बढेको छ कि ? प्रदेश सरकारलाई ‘यो महानगरपालिका आफैं स्रोत र साधनले भरिपूर्ण छ आफैं गर्छ’ भन्ने पो छ कि ? राष्ट्रलाई अगाडि बढाउने कुरामा सबैले स्वामित्व र सामूहिक प्रयासको खाँचो हुन्छ, त्यसको अभाव पोखरामा देखिन्छ ।

महानगरका धेरै सूचना पढ्यौं, धेरै निर्देशन सुन्यौं । तर, कहीं काम भएका छन् त ? भत्काएको अन्डरग्राउन्ड उही अवस्थामा छ । मुख्य बजारमा राख्न नपाइने भनिएको वर्कसप त्यहीं छन् । मापदण्ड विपरीत बनिरहेकै छन् । यदाकदा भत्काइएको कुरा सुनिन्छ । तर, तरिका त्यो होइन । नतिजा मूलधारमा आउनुपर्छ । यो आवेशमा, आवेगमा एक्लो व्यक्तिलाई लक्षित गरेर गर्ने काम होइन । मापदण्ड आवश्यकता अनुसार सबैलाई बराबर लागू गरिनुपर्छ ।

(नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मी पोखराका चिन्तक तथा विश्लेषक पनि हुन् । मुल्मीसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?