+
+

जनकपुर उपमहानगर : फोहोर व्यवस्थापनमा सुधार, छैन दिगो योजना

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० जेठ १ गते ७:०१

१ जेठ, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामको सबैभन्दा ठूलो समस्या हो फोहोर व्यवस्थापन । उपमहानगर सडक र गल्लीका छेउछाउ जताततै फोहोरको डंगुर छ ।

गत वर्ष वैशाखमा स्थानीय चुनावमा सबैजसो उम्मेदवारले फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएका थिए । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोज साह सुडीको पनि प्रमुख चुनावी एजेण्डा फोहोर व्यवस्थापन नै थियो ।

‘उमहानगरपालिका भित्रको फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने, फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिने,..’ २१ बुँदे चुनावी प्रतिबद्धताको पहिलो बुँदामै लेखिएको थियो ।

निर्वाचित भएपछिको उनको पहिलो निर्णय पनि फोहोरमैला व्यवस्थापनसम्बन्धी नै थियो । शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरले गरिरहेकामा मेयर साहले आफ्नो वडाको फोहोर वडाले नै उठाउने जिम्मेवारी दिने निर्णय गरे । तर फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा नियमित उठाइएको छैन ।

‘फोहोर उठाएपछि कहाँ फाल्ने, फोहोर फाल्ने ठाउँ नभएर बजारबाहेक अन्यत्रको फोहोर कहिलेकाहिँ मात्र उठाउँछौं’, सरसफाइ शाखाका एक कर्मचारी भन्छन् । दीर्घकालीन फोहोर व्यवस्थापन तथा शहर सफाइको मुख्य विकल्प हो ल्याण्डफिल साइट । तर ल्याण्डफिल साइट निर्माण सुरु गर्ने प्रतिवद्धता मेयर साहले पूरा गर्न सकेका छैनन् ।

उनी भने ल्याण्डफिल साइटको लागि जग्गा छनोट अन्तिम चरणमा पुगेको र एक वर्षमा यो पनि ठूलो उपलब्धि भएको बताउँछन् । ‘प्राथमिकता अनुसार नै एकवर्षमा सेनेटरी ल्याण्डफिल साइटको लागि ३० विघा जग्गा छनोट गरेर लिजमा लिने सुनिश्चितता भएको छ । केन्द्रीय गुठीमा यो प्रक्रिया अन्तिम चरणमा छ । १० दिनभित्र हाम्रो हातमा कागजात आइपुग्ने सम्भावना छ । यो आर्थिक वर्षमा जग्गा पाउनु हाम्रो ठूलो उपलब्धि हो’, मेयर साहले भने ।

उपमहानगरपालिकाले वडा नं २४ स्थित बसहियामा गुठी संस्थानको ३० विघा जग्गा भाडामा पाएको छ । तर प्राप्ति प्रक्रिया अझै टुंगिसकेको छैन । त्यहाँ व्यवस्थित ल्याण्डफिल साइट बनाउने उपमहानगरपालिकाको योजना छ ।

जनकपुर बजार क्षेत्रको सफाइ विगतको तुलनामा सुधार भएको छ । तर सडकपेटी र चोकका कुनाकाप्चामा फोहोरको डंगुर यथावत छ । त्यस्ता ठाउँको फोहोर कहिलेकाहीँ मात्र उठाइन्छ । उपमहानगरले फोहोर उठाएर पनि बजार क्षेत्रभन्दा केही पर अव्यवस्थित रुपमै र नदी किनारमा फाल्ने गरेको छ ।

अघिल्ला मेयर लालकिशोर साहको समयको तुलनामा बजार क्षेत्रको सफाइमा केही सुधार भएको जनकपुरका बासिन्दा सदासिव मिश्र बताउँछन् । ‘पहिले भन्दा सरसफाइ अलि राम्रो त भएको छ । तर जबसम्म ल्याण्डफिल साइट बन्दैन तबसम्म पूर्ण सरसफाइ र फोहर व्यवस्थापन गर्न कठिन छ’, मिश्र भन्छन् ।

वडास्तरबाट फोहोर उठाउन १२ वटा ट्याक्टर खरिद प्रक्रिया अन्तिम चरणमा रहेको र खरिद गरेपछि सहज रुपमा फोहोर उठाइने मेयर साह बताउँछन् ।

छाडा चौपाया नियन्त्रण चुनौती

जनकपुरधाम उपमहानगरको अर्को पुरानो र जटिल समस्या हो छाडा चौपाया र ट्राफिक व्यवस्थापन । जथाभावी पार्किङ र सडकमा छाडा गाईवस्तुको ठूलो संख्याले गाडी चालक र पैदल यात्रीहरु आजित छन् । व्यस्त बजारको मूल सडकमै छाडा गाईवस्तुको बथान हुन्छ । यसले गाडी दुर्घटनाको जोखिम बढाएको छ ।

मेयर मनोज साह भने छाडाचौपाया नियन्त्रण गर्न उपमहानगरपालिका–१५ मा गौशाला निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । ‘शहरभित्रको खुल्ला छाडा चौपाया नियन्त्रण गर्न आधुनिक गौशाला निर्माण गरिसक्यौं । अबको १० दिनभित्रै उद्घाटन गरेर खुल्ला गाईवस्तुको समस्या समाधान हुन्छन्’ मेयर साह भन्छन् ।

यसैगरी सवारी साधन व्यवस्थापनका लागि उपमहानगरपालिकाले वडा नं ८ मा गुठीको जग्गामा आधुनिक पार्किङस्थल निर्माण अघि बढाएको छ । तर, उच्च अदालतले तत्काल निर्माण अघि नबढाउन अल्पकालीन आदेश दिएको छ ।

२०७४ मा निर्वाचित मेयर लालकिशोर साहको पालामा कार्यपालिका बैठक र नगरसभाको निर्णय सार्वजनिक गर्ने प्रचलन थिएन । हालका मेयर मनोज साहले कार्यपालिका र नगरसभाको हरेक बैठकको निर्णय वेबसाइटमा अपडेट गराउने गरेका छन् । उपमहानगरको बेरुजु पनि उल्लेख्य रुपमा घटेको छ ।

फुटपाथ व्यवस्थापनमा केही सुधार

अघिल्लो मेयर लालकिशोर साहको पालामा जनकपुरको शहरी क्षेत्रमा फुटपाथ निर्माण भएको थियो । तर सर्वसाधारण हिँड्ने फुटपाथ व्यवसायीले ओगटेर व्यापार गर्ने थलो बनाएका थिए । हाल उपमहानगरपालिकाले फुटपाथ खाली अभियान चलाएको छ ।

नगर प्रहरी प्रहरी परिचालन गरेर फुटपाथ खाली गराउने गरिएको र ५० प्रतिशत फुटपाथ खाली भइसकेको मेयर मनोज साह बताउँछन् । ‘फुटपाथ व्यवस्थापनको काम चुनौतीपूर्ण छ । जानकी मन्दिर वरपर फुटपाथ खाली गराउँदा धेरै नाराजुलुस भयो । त्यो जालो हामीले तोड्यौं’ उनले भने ।

सुशासनमा सुधारको प्रयास

२०७४ मा निर्वाचित मेयर लालकिशोर साहको पालामा कार्यपालिका बैठक र नगरसभाको निर्णय सार्वजनिक गर्ने प्रचलन थिएन । हालका मेयर मनोज साहले कार्यपालिका र नगरसभाको हरेक बैठकको निर्णय वेबसाइटमा अपडेट गराउने गरेका छन् । सार्वजनिक सरोकारका सूचनाहरु वेबसाइटमा राखिन्छन्, तर योजनाहरुमा पारदर्शिताको अभाव छ ।

उपमहानगरको बेरुजु पनि उल्लेख्य रुपमा घटेको छ । मेयर लालकिशोर साहको कार्यकालमा बेरुजु एक अर्ब २५ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७५÷०७६ को लेखा परीक्षण बाँकी नै छ । यस वर्ष ४६ करोड ५० लाख रुपैयाँ बेरुजु घटेको छ । अब उपमहानगरको बेरुजु ७१ करोड ४७ लाख रुपैयाँ बाँकी रहेको लेखापाल सुनिल गुप्ता बताउँछन् ।

शिक्षा र स्वास्थ्य सुधारमा पुगेन ध्यान

उपमहानगरभित्र ५२ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा पढाइको गुणस्तर कमजोर रहेको गुनासो छ । सामुदायिक विद्यालयमा भर्ना भएको देखाएर विद्यार्थीहरु निजीमा पढ्ने गरेको पनि पाइएको उपमहानगरका एक कर्मचारी बताउँछन् ।

सामुदायिकमा धेरै विद्यार्थी देखाएर दिवाखाजा, छात्रवृत्ति र विद्यार्थी संख्याको आधारमा पाउने अरु सुविधा लिएर अनियमितता गर्ने क्रम बढेको ती कर्मचारीको भनाइ छ । ‘विद्यार्थीको संख्या बढी राजिष्टरमा हुन्छ । तर भौतिक उपस्थित न्युन रहन्छ । संख्यात्मक आधारमा आउने सेवा सुविधामा अनियमितता हुने गर्छ’, ती कर्मचारी भन्छन् ‘विद्यालयमा राजनीति हुँदा प्रधानाध्यापक र शिक्षकको बीचमा विवाद हुने पुरानै बेथिती छ । त्यसले पठनपाठनमा खासै सुधार हुन सकेको छैन ।’

मेयर साह भने सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको दावी गर्छन् । ‘संकटमोचन मावि, गोगल मावि र सरस्वती माविमा विगतको तुलनामा विद्यार्थीको संख्या बढेको छ । गुणस्तर सुधार भएकै कारण विद्यार्थी बढिरहेका छन् । क्रमिक सुधार ल्याउने हाम्रो प्रयास छ’, उनी भन्छन् ।

संघीय शिक्षा ऐन र संघीय निजामती कर्मचारी ऐन नभएकाले शिक्षक र कर्मचारी सरुवा, बढुवा वा मिलान गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । निजी विद्यालय जम्मा ११५ वटा दर्ता छन् तर विना दर्ता ५० वटा विद्यालय सञ्चालन भइरहेको उपमहानगरपालिकाको अनुमान छ । शिक्षा शाखाले केही दिन अघिदेखि अनुगमन थालेको मेयर साह बताउँछन् ।

जनकपुरमा निजी अस्पताल, क्लिनिक र ल्याबहरु विना दर्ता सञ्चालन भइरहेका छन् । उपमहानगर क्षेत्रमा कति अस्पताल तथा स्वास्थ्य संस्था छन् भन्ने तथ्यांक पनि उपमहानगरपालिकासँग छैन ।

गैरकानुनी रुपमा सञ्चालन भएका अस्पपताल र स्वास्थ्य संस्थाले मनोमानी शुल्क असुल गरेको गुनासो छ । तर उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरुलाई कानुनको दायरामा ल्याएको छैन । ‘डाटा कलेक्सनको लागि जनशक्ति व्यवस्थापन गर्दैछौं । असारभित्र के कहाँ दर्ता छ वा छैन डाटा आउँछ । त्यसपछि कारबाही प्रक्रिया अघि बढाउँछौं’ मेयर साह भन्छन् ।

सम्पदा संरक्षणमा उदासीन

उपमहानगरपालिकामा ऐतिहासिक र धार्मिक महत्वका मठमन्दिर, सांस्कृतिक सम्पदा, पोखरी, पाटीपौवा, गुठीको जग्गा अतिक्रमण भइरहेको छ । यस्ता सम्पदाको संरक्षणमा उपमहानगरपालिकाले चासो नदेखाएको आरोप लागेको छ । सम्पदा संरक्षणमा चासो नदिँदा सार्वजनिक सम्पत्ति मासिदै गएको छ ।

मेयर साहका अनुसार भने तेलहा मरहा पोखरी सौन्दर्यीकरण गर्ने काम भइरहेको छ । त्यसपछि अन्य पोखरीलाई पनि संरक्षण सौन्दर्यीकरण गर्ने र ऐतिहासिक रंगभूमि बाह्रबिघा मैदानको सौन्दर्यीकरण गर्ने तयारी भइरहेको उनी सुनाउँछन् ।

सबैको सहयोग पाएको छु : मेयर साह 

मेयर मनोज साह नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्न चाहन्थे । तर त्यतिबेला कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दलबीचको गठबन्धन थियो । उक्त गठबन्धनबाट जसपाका लालकिशोर साह मेयरको उम्मेदवार बने भने मनोजले स्वतन्त्र उम्मेदवारी दिए र जिते पनि ।

स्वतन्त्र हैसियतमा जिते पनि आफूलाई सबै पार्टीबाट सहयोग भइरहेको मेयर साह बताउँछन् । ‘वडाध्यक्षहरु १३ जना कांग्रेसबाट, ७ जना एमालेबाट, २ जना लोसपाबाट, एकजना जसपाबाट र दुईजना स्वतन्त्र छन् । अहिलेसम्म मलाई कसैबाट असहयोग भएको छैन । पार्टीगत हस्तक्षेप छैन’, मेयर साह भन्छन् ।

उपमहानगरपालिकाको विकासका लागि उपमेयर, वडाध्यक्ष सबैको सहयोग रहेको उनको भनाइ छ । ‘विगतमा जुन विवाद देखिन्थ्यो । त्यो मेरो कार्यकालमा भएन । सबैजना मिलेर काम गरिरहेका छौं । अहिलेसम्मको उपलब्धि सबैजनाको सहयोगमा भएको छ’, उनले भने ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण संघीय सरकारले अनुदान कटौती गरेकाले उपमहानगरलाई आगामी आर्थिक वर्षको बजेटमा नगरवासीको माग अनुसार योजना कार्यान्वयनमा समस्या हुने उनले बताए । ‘देश नै आर्थिक मन्दीसँग जुधिरहेको छ । आउने बजेटमा अनुदान रकम घटाइएको छ’, उनी भन्छन् ‘जब अनुदान आउँदैन, कर उठ्दैन भने विकास कसरी हुन्छ ।’

नगर सुरक्षाका लागि शहरभित्र ठाउँठाउँमा सिसीटिभी क्यामेरा जडान गर्न प्रहरीलाई सहयोग गरिरहेको मेयर साहले बताए ।

ऐन कानुन अभाव, दरबन्दी अनुसार कर्मचारी नभएको र भएका कर्मचारीले पनि जनप्रतिनिधिले भनेको नटेर्ने प्रवृत्ति देखिएको मेयर साहको अनुभव छ । एकवर्षको आफ्नो काम उपलब्धिमूलकै रहेको र आफू ७५ प्रतिशत सन्तुष्ट रहेको बताउँछन् उनी ।

२५ वटा वडा रहेको उपमहानगरपालिकामा केही वडा ग्रामीण क्षेत्रमा पर्छ । ग्रामीण क्षेत्रका बासिन्दाको मुख्य पेशा कृषि भएकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, सिंचाइको मोटर, स्प्रेयर वितरण गरिरहेको मेयर साह बताउँछन् ।

कृषि क्षेत्रलाई पाँचवटा जोनमा बाँडेर तरकारी, अदुवा खेती भइरहेको पनि उनको भनाइ छ । अब आफ्नै कृषि बजार बनाउने उनको भनाइ छ ।

अघिल्लोको तुलनामा केही राम्रो : जनकपुरी

राजनीतिक विश्लेषक तथा साहित्यकार रोशन जनकपुरी मेयर मनोज साहको काम विगतको तुलनामा केही राम्रो देखिएको बताउँछन् । ‘लालकिशोरको तुलनामा अलि गति त देखिन्छ । सन्तोषजनक छैन । एकवर्षमै मूल्यांकन गर्न सकिँदैन’ उनले भने ।

मेयर साहले जनकपुरधामलाई धार्मिक शहरको रुपमा मात्र व्यवहार गरेको बताए । ‘सारा कुरो धर्ममाथि केन्द्रित भइरहेको छ’ जनकपुरीले भने ।

वर्षायाममा डबानको समस्या देखिने भन्दै उनले वर्षाअघि नै नाला व्यवस्थित गर्न सुझाव दिएका छन् । सडक किनारमा बसोबास गर्नेहरुको व्यवस्थापन गर्नुपर्ने, जथाभावी छरिएको तारबार व्यवस्थित गर्नुपर्ने, व्यक्तिगत घटना दर्तालगायतका विषयमा कर र दस्तुर घटाउनुपर्ने जनकपुरी सुझाव दिन्छन् ।

राजीनामा दिए हुन्छ : एमाले

नेकपा एमालेबाट मेयरको उम्मेदवार रहेका शिवशंकर साह (हिरा) भने मेयर मनोज साह पूर्णतः असफल रहेको तर्क गर्छन् ।

‘एक वर्षमा उहाँको एउटा पनि काम छैन, जसलाई उपलब्धिको रुपमा गणना गर्न सक्नुहुन्छ । पूर्णतः असफल, असक्षम’, हिरा भन्छन् ‘यदि जनकपुरको हित चाहनुहुन्छ भने उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो ।’

सरसफाइ, डम्पिङ साइट, ट्राफिक व्यवस्थापन, लामखुट्टे उन्मुलनजस्ता मेयर साहको एजेण्डा अहिलेसम्म पूरा नभएको साहले बताए ।

उनले मेयरले केवल आफ्नो वडाको विकासमा केन्द्रित रहेको आरोप लगाउँछन् । ‘नोचा पोखरी र आफ्नो वडामा केन्द्रित हुनुभयो । जातिवाद, नातावाद, कृपावादमा लाग्नुभएको छ’ शिवशंकरले भने । एक वर्षसम्म आफूहरु चुप रहेको र अब विरोधका कार्यक्रम गर्ने उनले चेतावनी दिए ।

 

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?