+
+

केमिकल पिलिङ गर्दा छाला कसरी चम्किलो हुन्छ ?

डा. प्रमोद अग्रवाल डा. प्रमोद अग्रवाल
२०८० जेठ २ गते १०:००

छालालाई मुलायम र चम्किलो बनाउन बजारमा धेरै प्रकारका उपचार पद्धति छन् । तीमध्ये एक केमिकल पिलिङ पछिल्लो समय युवतीहरूमाझ निकै लोकप्रिय छ ।

अमेरिकन सोसाइटी अफ प्लास्टिक सर्जनका अनुसार केमिकल पिलिङ एक लोकप्रिय विधि हो, जुन धेरै मानिसले आफूलाई सुन्दर देखाउन अपनाइरहेका छन् । पछिल्लो एक वर्षमा करिब १४ लाख मानिसले यसको प्रयोग गरेको सोसाइटीको दाबी छ ।

के हो केमिकल पिलिङ ?

केमिकल पिलिङ एक प्रक्रिया हो, जसमा छालाको माथिल्लो तहलाई निश्चित रसायन प्रयोग गरेर हटाइन्छ । त्यसपछि त्यो छालाको ठाउँमा नयाँ नरम र सफा छाला आउँछ । यसले अनुहारको दाग र कालो घेरा हटाउन उपयोगी हुन्छ । कसैलाई चम्किलो छाला पाउने इच्छा छ भने उनीहरूको लागि पनि यो उपयोगी हुन्छ । यो प्रक्रिया धेरै पीडादायी पनि हुँदैन ।

केमिकल पिलिङ छालासम्बन्धी समस्याको लागि उपयोगी हुन्छ । डण्डीफोरका दाग, घाउका दाग, कालो धब्बा जस्तै चाया, पोतो आउने समस्या कम गर्न केमिकल पिलिङ राम्रो हुन्छ ।

कसरी गरिन्छ ?

कुनै व्यक्ति केमिकल पिलिङ गर्न चाहन्छन् भने सबैभन्दा पहिले त उसको छालाको जाँच गरिन्छ । घामले छाला डढेको छ वा धेरै चिल्लो छ भने पहिले छालालाई सामान्य अवस्थामा ल्याएर मात्र पिलिङ गर्नुपर्छ ।

केमिकल पिलिङ गर्न छालामा रासायनिक घोल लगाइन्छ, जसले दुई किसिमले काम गर्छ, एउटाले तपाईंको छालाको मृत तह हटाउँछ र अर्कोले छाला सफा गर्छ । केमिकल छालामा कति समय राख्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । निर्धारित समयसम्म राखिसकेपछि त्यो केमिकल पिललाई सफा गरिन्छ । त्यसपछि मोइस्चराइजर र सनस्क्रिन लगाइन्छ ।

कति अवधिमा कति पटक गर्ने ? 

केमिकल पिलिङ कति समयावधिमा कति पटक गर्नुपर्छ भन्ने कुरा व्यक्तिको छालाको प्रकार अनुसार फरक पर्छ । राम्रो परिणामका लागि दुईदेखि चार हप्ताको बीचमा तीनदेखि ६ पटकसम्म केमिकल पिल गर्नुपर्ने हुन्छ । तर डाक्टरको परामर्शअनुसार कति पटक र कति समयावधिमा गर्ने भन्ने कुरा निर्धारित हुन्छ ।

प्रभाव कहिलेबाट देखिन्छ, कहिलेसम्म रहन्छ ?

केमिकल पिलिङको प्रभाव केही दिनदेखि दुई हप्ताभित्रमा देखिइसक्छ । यसको प्रभाव  छालाको प्रकार र छालाको अवस्थाको आधारमा केही हप्तादेखि धेरै महिना वा वर्षसम्म रहन सक्छ ।

साइड इफेक्ट छ कि ?

केमिकल पिलिङको खासै साइड इफेक्ट छैन । तर पिलिङ गराउँदा विशेषज्ञ डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ । केमिकल पिलिङ गरिसकेपछि सामान्य छाला रातो हुने, सुख्खा हुने हुन्छ । यो समस्या पनि केही दिनमा हराउँछ ।

पिलिङ गर्ने बेला केमिकललाई लामो समयसम्म राखियो र धेरै मात्रा दिइयो भने छाला पोल्ने र डढ्ने हुन सक्छ । जसले दाग बस्ने समस्या पनि हुन सक्छ । त्यसैले विशेषज्ञ चिकित्सकको सल्लाह लिएर पिलिङमा प्रयोग हुने केमिकलको बारेमा राम्रो जानकारी लिनुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

पिलिङ गरिसकेपछि छाला हल्का रातो र सुख्खा देखिने हुन्छ । त्यसैले केमिकल पिलिङपछि घामबाट बच्नुपर्छ, छालालाई सफा राख्नुपर्छ । बाहिर निस्कनुअघि मोइस्चराइजर र सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

छाला सुख्खा भएर निस्किरहेको छ भने त्यसलाई आफैंले उप्काउनु हुँदैन । आफैं उप्काउँदा दाग बस्न सक्छ । पिलिङले छाला चम्किलो, सफा र नरम बनाउन मद्दत गर्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. अग्रवाल इलारा क्लिनिकमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?