+
+

कांग्रेस महामन्त्री र मुख्यमन्त्रीको भेटले कोशीमा खैलाबैला

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ १ गते २०:१८

१ जेठ, विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनको प्रयास गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता काठमाडौँ पुगेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेपछि सत्तारुढ गठबन्धनका नेताहरु काठमाडौं पुगेका हुन् ।

स्रोतका अनुसार महामन्त्री शर्मा र मुख्यमन्त्री कार्कीबीच सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा छलफल भएको थियो । दुई नेताबीच छलफल भएको थाहा पाएपछि शीर्ष नेतालार्ई भेट्न कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी पार्टी दलका नेता राजेन्द्रकुमार राई काठमाडौँ पुगेका हुन् । थापा र राई केहीदिनदेखि नै काठमाडौंमा थिए भने आङ्बो सोमबार काठमाडौं पुगेका हुन् ।

शीर्ष नेतासँग छलफलका लागि काठमाडौँ पुगेको माओवादी केन्द्र ससदीय दलका नेता आङ्बोले बताए । प्रदेशको विषय संवेदनशील भएकाले निकास दिन केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने उनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । दुवै गठनबन्धनलाई बहुमत जुटाउन सहज छैन । सहज अंकगणित नभएका कारण नयाँ गठबन्धन बने पनि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार टिकिरहेको छ ।

कोशी प्रदेशमा ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन् । दुई दलको मत संख्या ४६ छ ।

सत्ता गठबन्धनमा कांग्रेस २९, माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादी पार्टीका ४, जसपाको १ गरी ४६ मत नै छ । माअ‍ोवादी केन्द्रबाट निर्वाचित भएका सभामुखलाई समेत जोड्दा कठिन बहुमत भएपनि विश्वासको मत लिने प्रयोजन र विधेयक पास गर्ने प्रयोजनमा बारम्बार विवाद हुने भएका कारण सत्ता पक्षीय गठबन्धनले सरकार परिवर्तन गर्न सकेको छैन ।

चर्चामा सहमतिको सरकार

केही दिनअघि बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले कोशी प्रदेशमा देखिएको समस्या समाधानका लागि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई जिम्मा दिएको थियो ।

त्यसै अनुसार आइतबार महामन्त्री शर्मा र सहमहामन्त्री आङदेम्बेले काठमाडौंमै कोशीका मुख्यमन्त्री कार्कीसँग भेट गरेका हुन् । महामन्त्री शर्माले प्रदेश नामकरणपछिको विवाद र सरकार गठनको विषयमा छलफल भएको बताए ।
‘नामकरणपछि उत्पन्न तनावलाई पनि हल गरेर जानुपर्छ, त्यस्तै माओवादी केन्द्रमा कांग्रेससँग गठबन्धनमा छ, कोशीमा एमालेसँग गठबन्धन छ, यो विषयमा पनि छलफल भयो’ उनले भने ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य र जसपाबाट निर्मला लिम्बू मन्त्री छन् । नेपाली कांग्रेसले माओवादी र जसपालाई सरकारबाट बाहिरिन आग्रह गरिरहेको छ । तर दुवै दल तत्काल सरकार छाड्न तयार छैनन् बरु आगामी वर्षको बजेटका लागि योजना छनोटमा जुटेका छन् ।

माओवादी र जसपा सरकारमै बसेका कारण नेपाली कांग्रेस असन्तुष्ट छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउन प्रस्ताव गरेका थिए । गत ५ वैशाखमा पनि मुख्यमन्त्री कार्कीले सहमतिको सरकारका लागि आह्वान गरेका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो भने सरकारका धेरै विकल्पमध्ये सहमतिको सरकार एउटा विकल्प भएको बताउँछन् । पछिल्लो समय भने सार्वजनिक खपतका लागि मात्रै यो प्रस्ताव बाहिर ल्याएको उनले बताए ।

‘धेरै मोडालिटीमध्ये यो एउटा मोडालिटी हो’, उनले भने, ‘केन्द्रमा एउटा प्रदेशमा अर्काे गठबन्धन हुँदैन ।’ यद्यपि केन्द्रीय नेतृत्वले सरकार गठनका लागि निकास दिने उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?