+
+

कांग्रेसमा देखिएका दुई दृश्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते २१:१०

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ता यतिबेला बेचैनीमा छन् । कांग्रेसका नेता कार्यकर्तामा छट्पटी हुनुको पछाडि मूलतः दुई कारण छन् । पहिलो, पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्राउ । दोस्रो, कांग्रेसको आन्तरिक क्षयीकरण ।

नक्कली शरणार्थी प्रकरणले पूर्व गृहमन्त्री खाँण यतिबेला प्रहरी हिरासतमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्र्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले बयान लिइरहेको छ । यद्यपि, पार्टीको जिम्मेवारीबाट उनलाई मुक्त गरिएको छैन ।

खाँणले आफूलाई निर्दोष सावित गर्ने बताएकाले निलम्बन नगरिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको तर्क छ । मंगलबार आयोजित पत्रकार सम्मेलन गरेर महतले भने, ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो ।’

सभापति शेरबहादुर देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणाका विषयमा समेत प्रश्न उठेपछि उनको प्रतिरक्षामा नेता कार्यकर्ता तथा भ्रातृ संस्था उत्रेका छन् ।

स्वयं आरजुले प्रतिवाद गरिरहेकी छन् । आरजुको पक्षमा पार्टी प्रवक्ता महतदेखि भ्रातृ संस्था उत्रेका छन् । नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाले विज्ञप्ति निकालेर आरजुको पक्षमा वकालत गरेका छन् ।

यो प्रकरणमा पार्टी सभापति देउवा भने मौन छन् । सभापति देउवाको मौनताको बारे सोधिएको प्रश्नमा प्रवक्ता महत भन्छन्, ‘सभापति कम बोल्नुहुन्छ । निष्पक्ष र स्वतन्त्र अनुसन्धानलाई सघाउने भनिरहनुभएको छ ।’

खाँणलाई निलम्बन नगर्नुको कारण र आरजुको पक्षमा प्रवक्ताले पत्रकार सम्मेलन गरेकै दिन कांग्रेसकै अर्को समूहले पनि पत्रकार सम्मेलन गर्‍यो ।

संस्थापन इतरका तेस्रो तहका नेताहरुले पत्रकार सम्मेलन गर्नुको उद्देश्य कांग्रेस रुपान्तरण अभियान घोषणा गर्नु थियो । सात प्रदेशसहित डायस्पोरामा समेत रुपान्तरणको मुद्धा लिएर बहस र अन्तर्क्रिया गरिने उनीहरु बताउँछन् ।

रुपान्तरणको मुद्धा लिएर देश दौडाहामा तेस्रो उमेर समूहका नेताहरु निस्कने भएका छन् । यो समूहको अगुवाइ केन्द्रीय सदस्य मधु आचार्य, डा गोविन्द पोखरेल नेता गुरुराज घिमिरे, देवराज चालिसे, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, सुवास पोखरेल लगायतले गर्ने भएका छन् ।

सात प्रदेशमा गरिने बहस तथा अन्तर्क्रियाका लागि संयोजक समेत तोकिएको छ । कोशीमा गुरुराज घिमिरे, मधेशमा रञ्जित कर्ण, बागमतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा डा. गोविन्द पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्काले संयोजकको भूमिकामा छन् । जेठ ११ गते देखि ३१ सम्म चलाइने रुपान्तरण अभियानमा शीर्ष तहका नेता सम्मिलित हुने तय भएको छैन ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि पार्टी नेतृत्वसँग सन्तुष्ट छैनन् । तर उनीहरुको असन्तुष्टिकै परिणामले मात्रै अभियान सञ्चालन नभएको नेताहरुको स्पष्टीकरण दिएका छन् ।

‘विधिविहीन भएर पार्टी डेढ वर्ष चल्यो । १७ महिनामा पार्टी सुधारको लक्षण देखिएन’, नेता घिमिरे भन्छन्, ‘पार्टीको आन्तरिक जीवन बिग्रिदै गएको छ । देशभरका साथीहरुले केही न केही गर्न भन्नुभयो । रुपान्तरणको एजेण्डा लिएर साथीहरुका जान लागेका हौं ।’

११ वटा उद्देश्यसहित पार्टीलाई गतिशील बनाउन देशभर कार्यक्रम गर्न लागेको रुपान्तरण पक्षधरले जनाएको छ ।

समयानुकल नीति र त्यस अनुरुपको रणनीतिका लागि कार्यकर्ताकहाँ पुग्न लागिएको उक्त पक्षको तर्क छ । संरचनागत सुधार, भ्रातृ संस्थाको पुनर्जीवन, अवसरमा समानता, निर्वाचन प्रणालीमा परिवर्तन, सन्तुलित विदेश नीतिमाथि बहस गरिने भएको छ । भ्रष्टाचारमुक्त र सेवामूलक राजनीति, आत्मनिर्भर कांग्रेस, व्यक्ति र गुटगत राजनीतिको अन्त्य लगायतका उद्देश्य माथि अन्तर्क्रिया तथा बहस गरिने भएको छ ।

रुपान्तरणको मुद्धा लिएर कार्यकर्ता कहाँ पुग्ने नेताहरुले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन अपरिहार्य रहेको जनाएका छन् । कांग्रेसभित्र गैर कांग्रेस चरित्र हाबी भएकाले पार्टी कमजोर भएको नेताहरुको निष्कर्ष छ । उपनिर्वाचनमा कांग्रेसको भोगेको हारपछि संस्थापनइतरका नेता कार्यकर्ताले सभापतिको कार्यशैलीलाई मुख्य दोष दिँदै आएका छन् ।

अभियानको क्रममा गुटरहित बहस हुने केन्द्रीय सदस्य आचार्य दाबी गर्छन् । ‘यो गुटको अभियान होइन, जनताको कांग्रेस बनाउने अभियान हो,’ आचार्यले भने ।

कांग्रेसमा उर्जा थप्न सकिएको अवस्थामा अन्य शक्तिको भय राख्नु नपर्ने उक्त समूहको तर्क छ । ‘मतदाताले विचार बदलेका होइनन् । त्यो मत फर्काउन सकिन्छ’, संस्थापनइतरका नेता देवराज आचार्य भन्छन्, ‘त्यसका लागि इस्यु र एजेण्डाका आधारमा अघि बढ्नपर्छ ।’

नागरिकले सुधारिएको कांग्रेस देख्न लागेकाले रुपान्तरणको एजेण्डासहित अभियान सुरु गरेको नेताहरुको तर्क छ । देशभरका नेता कार्यकर्ताको अभिरुची अनुसार पार्टीमा उर्जा भर्न अभियान सुरु गरिएको उक्त पक्षले जनाएको छ ।

पार्टीको गतिविधि शून्य भएको समयमा विगत केही दिनका कार्यक्रमले कार्यकर्ता थप आशा पलाएको संस्थापइतरका नेता भूपेन्द्रजंग शाहीले बताए । रुपान्तरणको एजेण्डासहितको अभियानमा शीर्ष तहका नेताहरु पनि जोडिने अपेक्षा अभियानकर्मीहरुको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?