+
+

पहिरनले बढाउँछ आत्मविश्वास

सुशीला चौधरी, फेसन डिजाइनर सुशीला चौधरी, फेसन डिजाइनर
२०८० जेठ ५ गते १३:२३

तपाईंले कहिलेकाहीं कुनै पहिरन लगाउँदा आफूमा आत्मबल बढेको महसुस गर्नुभएको छ ? पक्कै पनि छ होला । हामीले यस कुरालाई त्यति याद गरिरहेका हुँदैनौं तर आफूले लगाएको पहिरनले आत्मविश्वास बढाइरहेको हुन्छ । राम्रो पहिरनले सार्वजनिक समारोहमा आत्मविश्वास जगाउन मद्दत गर्छ ।

औपचारिक पहिरनले शक्तिशाली महसुस

हामीले कहिल्यै सोचेका छौं ? विश्वका अधिकांश ठूला राजनीतिज्ञ, व्यवसायी प्राय:जसो औपचारिक पहिरनमै प्रस्तुत हुन्छन् । यस सन्दर्भमा गरिएका विभिन्न अध्ययनले औपचारिक पोशाकले व्यक्तिमा आत्मबल बढाउने कुरालाई पुष्टि गरेको छ । औपचारिक पोशाकले व्यक्तिलाई स्मार्ट देखाउँछ । यसले व्यक्तिको बाहिरी आवरणसँगै व्यक्तित्वको समेत प्रतिनिधित्व गर्छ । जसकारण उक्त व्यक्ति सहजै सबैको आकर्षणको केन्द्रमा पर्छ । र, आफू धेरैको नजरमा परेको छु भन्ने आभास भएपछि यसले व्यक्तिमा स्वतः आत्मबल बढाउँछ ।

कार्यालयमा लगाउने पोशाकमा आइरन अनिवार्य हुनुपर्ने र धेरै लुज खालको शर्ट-प्यान्ट राम्रो देखिंदैन । यदि प्यान्ट चुज खालको छ भने खुल्ला खालको सर्ट वा टप्स लगाउनु राम्रो हुन्छ भने  खुला खालको प्यान्ट भए माथिबाट लगाउने टप्स वा सर्ट टाइट लगाउँदा आकर्षक देखिन्छ ।

ध्यान दिनुपर्ने कुरा के छ भने कार्यालयमा राम्रो पहिरनसँगै शालीन देखिन पनि जरुरी छ । यसको अर्थ तपाईंको पहिरन धेरै भड्किलो रंगको हुनु हुँदैन । तपाईंको शरीर छोपिने र तपाईंको छविसँग मेल खाने हुनुपर्छ ।

क्याजुएल पहिरनमा वान पिस र जमसुट

क्याजुएल लुगामा कसरी  विश्वस्त महसुस गर्ने ? तपाईं जहाँ जाँदा पनि औपचारिक लुगा लगाउन सक्नुहुन्न । यस्तोमा तपाईंको अनौपचारिक लुक महत्त्वपूर्ण छ । घुम्न जाँदा वा साथीभाइ भेट्न जाँदै हुनहुन्छ भने वान पिस लगाउन सकिन्छ । वान पिस जाहे पातलो खालको शरीर होस् वा मोटो दुवै खालको शरीरमा आकर्षक देखिन्छ । बजारमा विभिन्न थरीका वान पिस उपलब्ध छन् ।

शरीर मोटो छ भने लुज खालको वान पिस लगाउन सकिन्छ । पातलो शरीर भएकाले धेरै लुज खालको वान पिस र गाउन लगाउनु हुँदैन । शरीरको आकारलाई सुन्दर तरिकाले झल्काउने खालको न धेरै टाइट न धेरै लुज वान पिस लगाउन सकिन्छ । यसबाहेक ओपन नेक, क्लिभेज देखिने खालका, पफ स्लिभ (बाहुलामा पुक्क परेको) सर्ट वा टिसर्ट अहिले एकदमै चलेका छन् । यस्ता पहिरनसँगै बेली प्यान्ट, स्कर्ट, सफ्ट जिन्स लगाउन सकिन्छ ।

यस्ता पहिरनले जुनसुकै महिलालाई पनि कन्फिडेन्स दिने गर्छ । राम्रो पहिरनले मात्र होइन, कपडा लगाउँदा आफूले पनि आरामको अनुभूति गर्नुपर्छ ।

पार्टीमा पहिरन

महिलाहरुले पार्टीमा गाउन, साडी, लेहेंगा कुर्ता लगाउन सक्छन् । विवाहित र अविवाहित सबैका लागि सुहाउने विभिन्न लेहेंगाको डिजाइन पनि अहिले लोकप्रिय छ । पातलो शरीर भएकालाई लेहेंगा आकर्षक देखिन्छ । त्यस्तै साडीले पनि उत्तिकै आकर्षक देखाउँछ । यसको लागि भेल्भेटमा ह्यान्डवर्क गरेको, प्लेन जर्जेट, सिल्कमा हातले बुट्टा भरेको कपडा चलनमा छन् । बजारमा पाइने रेडिमेड लेहेंगा, सारी, गाउन पनि निकै राम्रो देखिन्छ ।

रङ कस्तो ?

साँझको समयमा पार्टी, डिनर डेटमा बाहिर जाँदा त्यहाँ हुने बत्तीको चमक पनि हुने हुँदा गहिरो रातो पोशाकले अनुहारको चमक बढाउँछ । त्यसैले गाढा रङलाई नै प्राथमिकता दिनुपर्छ । दिउँसोको पार्टीका लागि हल्का र उज्यालो रङका पहिरन राम्रो देखिन्छ । पहेंलो, गुलाबी, कलेजीलगायत रातोभन्दा फरक र कम चम्किला कपडा छनोट गर्दा राम्रो हुन्छ । धेरै साइनिङ दिने पहिरन लगाउनु हुँदैन ।

पार्टीमा शरीरलाई स्लिम देखाउन चाहनेहरुले कालो तथा कुनै गाढा रङको कपडा लगाउनु राम्रो हुन्छ । मोटो शरीर हुनेले विवाह पार्टी वा औपचारिक कार्यक्रममा जाँदा प्रयोग गरिने पहिरनको बुट्टा ठूलो प्रिन्ट भएको हुनुहुँदैन । यसले शरीरलाई झन् भद्दा देखाउँछ ।

त्यस्तै पातलो शरीर हुनेहरुले कालो खालको पहिरन लगाउँदा झनै पातलो देखिन सक्ने भएकाले सकेसम्म उज्यालो देखिने रङ प्रयोग गर्दा राम्रो हुन्छ  । गाउन लगाउने हो भने कम्मर र छातीको भागलाई फिटिङ गर्दा राम्रो हुन्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?