+
+

काभा वुमन्स च्यालेन्ज कप : को-को छन् नेपाली टिममा ?

नमिता दाहाल नमिता दाहाल
२०८० जेठ ६ गते १८:००

६ जेठ, काठमाडौं । नेपालले घरेलु मैदानमा काभा वुमन्स च्यालेन्ज कप खेल्दैछ ।

जेठ ८ देखि १४ सम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा ८ टिम बिच प्रतिस्पर्धा हुने छ ।

सेन्ट्रल एसिया भलिबल एसोसिएसन काभामा आवद्ध क्याटगोरी ए र बीका टिम संलग्न छन् ।

यसअघि सन् २०१९ र २०२१ मा क्याटगोरी बीका टिम सम्मिलित प्रतियोगिताको विजेता नेपाल यसपटक घरेलु मैदानमा उपाधि रक्षा गर्ने योजनामा छ ।

नेपाली टिमलाई बेल्जियन प्रशिक्षक जान डी ब्रान्टसहित जगदीश भट्ट, भरत यादव र कोपिला उप्रेतीसहितले प्रशिक्षण गराइरहेका छन ।

नेपालका लागि उज्जवल डोटेल टिमको फिजियोको रुपमा छन् भने सुनकेशरी माली टिम म्यानेजरको रुपमा छिन् । नेपाली टिममा कसको के भूमिका छ त ?

प्रशिक्षक, जान डी ब्रान्ट

प्रशिक्षक जान डी ब्रान्ट बेल्जियमका नागरिक हुन् । नेपाल भलिबल टिमको मुख्य प्रशिक्षकको रुपमा रहेका ब्रान्टले ६ महिना नेपाली भलिबल टिमलाई प्रशिक्षण दिनेछन् । ६४ वर्षीय अनुभवी प्रशिक्षक ब्रान्टले यसअघि बेल्जियम र हंगेरीको राष्ट्रिय महिला भलिबल टिमको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी आफैं पनि बेल्जियम भलिबल टिमका सदस्य हुन् । उनले सन् १९६७ देखि १९७८ सम्म बेल्जियमको राष्ट्रिय टिमका सदस्य थिए ।

११ वर्ष सक्रिय भलिबल खेलाडी रहेका उनीसँग १५ वर्ष लामो प्रशिक्षण अनुभव छ । पहिलो पटक नेपाल घुम्न आउँदा गाउँगाउँमा देखिएको भलिबल क्रेजले नेपालको भलिबल प्रशिक्षणमा डो¥याएको ब्रान्टले अनलाइनखबरसँगको कुराकानीमा भनेका थिए ।

उनले सन् २००१ यता विभिन्न युरोपियन देशका क्लबहरुमा रहि महिला भलिबल टिमलाई प्रशिक्षण दिएका छन् । उनीसँग भएको लामो अनुभवमा नेपालले ३ महिना लामो प्रशिक्षण गरेको छ । यो नेपालका लागि सकरात्मक पक्ष हो । उनी भन्छन्, ‘हामीले राम्रो प्रशिक्षण गरेका छौं, हाम्रो डिफेन्स राम्रो छ । हामी अन्य टिमलाई कसरी हराउने भन्दा पनि हामी हाम्रो उत्कृष्ट दिएर राम्रो खेल्नेछौं ।’

अरुणा शाही, कप्तान (सेटर)

अरुणा शाही नेपाली महिला भलिबल टिमकी कप्तान हुन् । उनी राष्ट्रिय टिममा लामो समयदेखि सेटरको भूमिकामा रहेकी छिन् । अनुभवी २९ वर्षकी खेलाडी उनकै नेतृत्वमा नेपालले काभाको २०१९ र २०२१ को संस्करणको प्रतियोगिता जितेको छ ।

उनले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलमा नेपालका लागि डेब्यु गरेकी थिइन् । त्यसयता उनी नेपाली टिमको लागि रेगुलर खेलाडी रहिन् ।

उनले २०७६ असोज अन्तिममा नेपाली राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी सम्हालेकी हुन् । त्यसपछि उनकै नेतृत्वमा नेपालले २० वर्ष पछि भलिबलमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो । सफल कप्तानको छवि बनाएकी अरुणा टिममा पनि निकै महत्वपूर्ण भूमिका ‘सेटर’ को भूमिकामा छिन् ।

सरस्वती चौधरी (आउट साइड हिटर)

कैलाली, धनगढीमा जन्मिएकी सरस्वतीले १२ वर्षको उमेरमा आफ्नो उचाइकै कारण भलिबलमा इन्ट्री पाइन् । उनलाई भलिबलकै कारण पश्चिमाञ्चलका प्रशिक्षक बलराम क्षेत्रीले पोखराको फिस्टेल स्कुलको छात्रवृत्तिमा पढ्ने मौका दिलाए ।

उनले त्यहाँ रहँदै सुदूरपश्चिम भलिबल टिमबाट घरेलु भलिबलमा आफ्नो यात्राको सुरुवात गरेकी हुन् । २८ वर्षकी उनी नेपाली महिला भलिबल टिममा आउट साइड हिटरको रुपमा खेल्छिन् ।

विभागीय क्लब एपीएफकी खेलाडी उनी नेपाली टिमको सबैभन्दा उचो कद भएकी खेलाडी हुन् ।

उनले सन् २०१४ मा श्रीलंकासँग भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा नेपालका लागि डेब्यु गरेकी हुन् । त्यसपछि उनी चोटका कारण बाहेक राष्ट्रिय टिमकी नियमित खेलाडी हुन् ।

उनी नेपाली महिला टिमबाट विदेश प्रशिक्षणमा जाने पहिलो खेलाडी हुन् । १३ औं सागमा गरेको प्रदर्शनका कारण उनले उनले जापान युनिभसिर्टी अफ टिसुकुमा १ महिनाको प्रशिक्षणको मौका पाएकी थिइन् ।

उषा भण्डारी (ओपन स्पाइकर)

उषा भण्डारी नेपाली राष्ट्रिय महिला टिमकी ओपन स्पाइकर हुन् । तनहुँ, भिमादमा १९ वर्षअघि जन्मेकी उषाले काठमाडौंमा नै विद्यालय स्तरमा नै भलिबल खेल्न सुरु गरेकी हुन् । परिवारमा बुवाको इच्छा र आफ्नो खेलकुदप्रतिको लगावले उनी भलिबलमा प्रवेश गरिन् । २०७४ मा पुलिस स्कुलमा पढ्दै पुलिसकै क्लबबाट घरेलु भलिबल खेल्न थालेकी हुन् ।

उनले १४ वर्षको उमेरमा १३ औं दक्षिण एसियाली खेलकुदबाट राष्ट्रिय टिममा डेब्यु गर्ने मौका पाएकी हुन् । राष्ट्रिय टिममा डेब्यु गरेको लामो समय भए पनि उनले अन्तर्राष्ट्रिय खेलमा एक्सपोजर भने पाएकी छैनन् । उनले यसपटकको काभा वुमन्स च्यालेन्ज कपमा ओपन स्पाइकरको रुमपा खेल्नेछिन् ।

निरुता ठगुन्ना (ओपन स्पाइकर)

दार्चुला घर भएकी निरुता विभागीय क्लब एपीएफकी खेलाडी हुन् । केही समय चोटले पिरोलेकी निरुताले यहि प्रतियोगितामार्फत राष्ट्रिय टिममा पुनरागमन गरेकी हुन् ।

उनले २०७६ कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्टल जोन महिला भलिबलले स्वर्ण जित्दा उनी राष्ट्रिय टिमकी सदस्य रहेकी थिइन् ।

घरेलु भलिबलमा पहिले आर्मीको टिमबाट खेल्ने निरुताले लोकसेवाले लिएको परीक्षा पास गर्दै विभागीय क्लब एपीएफमा आवद्ध भएकी हुन् । २५ वर्षकी उनी विभागमा रहे पनि घरेलु लिगमा भने एपीएफमा आवद्ध भएपछि नै उनको नाम सुनिन थालेको हो ।

सफिया पुन (मिडल ब्लकर)

२७ वर्षकी सफिया पुन विभागीय क्लब आर्मीकी खेलाडी हुन् । बाग्लुङ घर भएकी सफियाले २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा डेब्यु गरेकी हुन् ।

उनले २०७३ सालमा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी थिइन् । त्यसयता आर्मीको टिममा रहेर खेलिरहेकी छिन् । उनले आर्मीमा गरेको प्रदर्शन नै उनको लागि राष्ट्रिय टिममा आउने आधार हो ।

संगम महतो (मिडल ब्लकर)

चितवनकी संगम घरेलु भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् । २५ वर्षकी उनी काभा वुमन्स च्यालेन्ज कपमा डेब्यु गर्ने खेलाडी हुन् ।

राष्ट्रिय टोलीकै मिडल ब्लकर सफिया आर्मीमा स्पाइकरको भूमिकामा खेल्दा संगमले मिडल ब्लकरबाट खेल्दै आफूलाई त्यसमा अब्बल ठहराइन् ।

घरेलु भलिबल र प्रशिक्षणमा समेत सानदार प्रदर्शन गरेपछि उनी यस पटक काभा वुमन्स च्यालेन्ज कपमा छनोट हुन सफल भएकी हुन् ।

कविता भट्ट (मिडल ब्लकर)

डडेलधुराकी कविता काभा वुमन्स च्यालेन्ज कपमा डेब्यु गर्ने खेलाडी हुन् । राष्ट्रिय टिमसम्म आइपुग्न विभागीय क्लब एपीएफमा रहेर उनले देखाएको प्रदर्शन नै हो । केही समय अघि आर्मीमा रहेर खेले पनि २४ वर्षकी उनी अहिले एपीएफमा आवद्ध छिन् ।

एपीएफकी खेलाडी उषा विष्ट घाइते हुँदा उनले आफ्नो प्रदर्शन निखार्दै राष्ट्रिय टिममा पर्न सफल भएकी हुन् ।

कामना विष्ट (अलराउन्डर)

जाजरकोट घर भएकी कामनाले २०२१ मा भएको सेन्ट्रल जोन भलिबलमा नेपालका लागि डेब्यु गरेकी हुन् । २३ वर्षकी कामना नेपाल पुलिस टिमबाट खेल्दै आएकी खेलाडी हुन् ।

बिचमा उनलाई चोटले नराम्रोसँग सताए पनि त्यसलाई जितेर उनी पुन टिममा फर्किएकी हुन् ।

सुरुमा एथ्लेटिक्सबाट खेलकुदमा प्रवेश गरेकी कामनाले भलिबलमय पारिवारिक माहोलका कारण १४ वर्षमा क्षेत्रीय प्रतियोगिता खेल्ने अवसर पाएकी थिइन् ।

२०७३ सालमा नेपाल पुलिस क्लबमा आवद्ध भएकी उनले सातौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

पुनम चन्द (अलराउन्डर)

कञ्चनपुरको महेन्द्रनगरमा २२ वर्षअघि जन्मिएकी उनले सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामार्फत भलिबलको राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् ।

नेपालले सेन्ट्रल जोन भलिबलको उपाधि जित्दा पुनम राष्ट्रिय टिमकी सदस्य थिइन् ।

आठौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर ५ बाट खेलेकी उनको उत्कृष्ट प्रदर्शनका कारण त्यसपश्चात भने राष्ट्रिय टिममा आवद्ध हुन पुगिन ।

पुलिसमा रहेर खेल्दै गर्दा उनको प्रदर्शनको आधारमा नै उनले निरन्तर राष्ट्रिय टिममा मौका बनाइरहेकी छिन् ।

शान्तिकला तामाङ (लिबेरो)

शान्तिकला तामाङ काभा वुमन्स च्यालेन्ज कपबाट राष्ट्रिय टिममा डेब्यु गर्ने खेलाडीमध्ये एक हुन् ।

खोटाङ घर भएकी २८ वर्षकी उनी नेपाल पुलिस क्लबमा लिबेरोको रुपमा खेल्छिन् । उनको छरितोपन नै उनको सबैभन्दा बलियो पक्ष हो ।

हाल टिममा २ जना लिबेरो रहँदा उनले टिममा मौका पाएकी हुन् । उनले सलिना श्रेष्ठसँग लिबेरोमा सहकार्य गर्नेछिन् ।

सलिना श्रेष्ठ (लिबेरो)

उनले नेपालका लागि २०१९ को सेन्ट्रल जोन भलिबलमा नेपालका लागि डेब्यु गरेकी थिइन् ।

काठमाडौंकी सलिना सानो जिउकी छरितो खेलाडी हुन् । उनको रिसिभिङ क्षमता राम्रो भएकाले राष्ट्रिय टिममा डेब्युयता रेगुलर टिमको सदस्य रहेकी छिन् ।

२५ वर्षकी उनी नेपालका लागि भलिबल खेलाडी उत्पादन ‘हब’ भनेर चिनिने न्यु डाइमन्ड एकेडेमीकी उत्पादन हुन् । उनी अहिले पनि घरेलु प्रतियोगिता न्यु डाइमन्ड क्लबबाट नै खेल्छिन् ।

रिमा कुँवर (अपोजिट स्पाइकर)

रिमा कुँवर नयु डाइमन्ड एकेडेमीको एक उत्कृष्ट बाया हाते स्पाइकर हुन् । उनल काभा वुमन्स च्यालेन्ज कपमा नेपाली राष्ट्रिय महिला टिममा मौका बनाएकी हुन् ।

पर्वतकी २२ वर्षीया खेलाडी रिमाले न्यु डाइमन्डमा रहेर गरेको उत्कृष्ट प्रदर्शनका कारण नै उनी हाल राष्ट्रिय टिममा जान डी ब्रान्टको नजरमा पर्न सफल भइन् ।

प्रगति नाथ (सेटर)

रुकुमकी उदयीमान खेलाडी प्रगति न्यु डाइमन्ड एकेडेमीकै उत्पादन हुन् । दिदी ललिता नाथको बाटो पछ्याएकी प्रगतिले १४ वर्षको उमेरमा न्यु डाइमन्ड एकेडेमीमा आएर पढाइसँगै कुमार राईको प्रशिक्षणमा भलिबल सिक्न थालिन् ।

अग्लो कद भएकी १८ वर्षकी प्रगतिले सुरुमा स्पाइकरको रुपमा प्रशिक्षण गर्न थालेकी थिइन् ।

न्यु डाइमन्डमा अरुणा शाहीको ब्रेक भएपछि प्रगतिले सेटरको रुपमा मौका पाएकी हुन् । उनले गत माघमा भएको शेरबहादुुर खड्का स्मृति भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जितेकी थिइन् ।

यसअघि पनि राष्ट्रिय टिमको प्रशिक्षणमा परे पनि उनले पहिलो पटक अन्तिम १४ मा स्थान बनाएकी हुन् । उनले सेटरमा कप्तान अरुणा शाहीसँग सहकार्य गर्नेछिन् ।

पूजा चौधरी थारु ( अपोजिट स्पाइकर)

पूजा चौधरी थारु नेपाली महिला टिममा डेब्यु गर्ने अर्को नयाँ नाम हो । बाँके, कोहलपुरकी २२ वर्षीया उनी विभागीय टिम एपीएफकी खेलाडी हुन् ।

पछिल्लो समय विभागीय क्लब एपीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनले अनुभवी खेलाडीहरुलाई पछि पार्दै पहिलो रोजाइमा खेल्छिन् । उनी सोही प्रदर्शनका आधारमा हाल राष्ट्रिय टिममा रहेकी छिन् ।

टिम अफिसियल

जगदीश भट्ट (सहायक प्रशिक्षक)
भरत यादव (सहायक प्रशिक्षक)
कोपिला उप्रेती (सहायक प्रशिक्षक)
उज्वल डोटेल (फिजियो )
सुनकेशरी माली (व्यवस्थापक)

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?