+
+

मेरी दिदी चुँडेर लग्नेलाई किन ‘महारानी’ भनियो, सरकार ?

घटनाको अघिल्लो दिन आमाको मुख हेर्ने दिन भएकाले बिहानै दिदीसँग भिडियो कल गरेको थिएँ । तर दोस्रो दिन चारैतिर सन्नाटा छाउने खबरले स्तब्ध बनायो ।

डम्मर बम डम्मर बम
२०८० जेठ ६ गते १९:४५
बाघको आक्रमणमा मृत्यु भएकी गंगा चन्द । गंगालाई आक्रमण गर्ने बाघलाई महारानी उपनाम दिइएको छ ।

वर्षभरिको लागि छुट्याएर बेच्न राखेको अन्नपात (गहुँ, तोरी) घरको बरण्डामै छ । काठमाडौं बस्ने भाइलाई पठाउन तयार गरेको तोरीको तेल भान्सामै छ । भाइको बिहेलाई पालेको खसी, आर्थिक उपार्जनको लागि पालिएका गाई, भैंसी र बाख्रा गोठमै कराउँदै छन् । खेतमा लगाएको उखुले पालुवा हाल्दै पात टुसाउन थालेका छन् ।

बारीको मूला, प्याज, मकै आदि खाने तयारी अवस्थामै छन् । सँगै घाँस काट्न गएका छिमेकी आफन्त घर फर्किंदै छन् । बिहान ९ः३० बजेसम्म मेरी दिदीको घरको परिस्थिति सामान्य नै थियो ।

पत्रकारिताका क्रममा यस्ता कैयौं घटनाक्रमबारे समाचार लेखियो । तर आफैंलाई परेको असहृय पीडाबीच भावना पोख्न भने मुस्किल हुने रहेछ ।

२०८० वैशाख ८ गते शुक्रबार सधैंझैं खाना पकाएर बसेका श्रीमान् (मेरा भिनाजू) घाँस काट्न आफ्नै खेतमा गएकी श्रीमती (मेरी दिदी) लिन साइकलमा जान्छन् । भिनाजू त्यहीँ गए जहाँ बिहान आफ्नी पत्नीलाई छोडर आएका थिए, तर चारैतिर नजर लगाउँदा पनि कतै देख्दैनन् ।

अनायास सुन्छन् अप्रत्याशित खबर र हुन्छन् भावविहल । पढ्न गएकी छोरी (भान्जी) मुर्छा पर्छिन्, घरपरिवार र गाउँमा सन्नाटा छाउँछ । हजारौं मान्छे जम्मा हुन्छन्, प्रहरी प्रशासन आउँछ । तर कसैको केही लाग्दैन त्यो नरभक्षी बाघको अगाडि ।

लेखक डम्बर बम । बम बाघको आक्रमणमा मृत्यु भएकी गंगाका भाइ हुन् ।

बिहान १०ः३० बजेको समयमा कान्छी भान्जी ममताको फोनबाट अप्रिय खबर सुनें । त्यो दिन अप्रिल फूल होस् जस्तो लाग्यो । केही समयपछि बेलैरी-८ पहुँइमा एक अप्रत्याशित घटना भएको समाचार आयो, ‘४२ वर्षीया गंगा चन्दको बाघको आक्रमणबाट …।’ यो पीडाबीच सबै कुरा फिक्का लाग्न थाल्यो ।

तीन दिदीमध्ये दुई दिदी मसँगै काठमाडौं थिए । उनीहरूलाई सम्हाल्न पर्ने अवस्था बन्यो । मेरी दिदी, दिदी मात्र नभएर मेरो सहारा थिइन् । म दुई वर्षको नहुँदै बुवाको स्वर्गवास भएको थियो, परिवारमा चार भाइबहिनी भएकाले ठूलीदिदीको जिम्मेवारी बढी नै भयो । नेपाल प्रहरीमा रहेका भिनाजुसँग दिदीको सानै उमेरमा विवाह भएको थियो । त्यसपछि परिवारको जिम्मेवारी भिनाजुले पनि निर्वाह गर्न थाले ।

सबैका सपना जस्तै मेरी ठूलीदिदीका कैयौं सपना थिए । ‘अब दुःखका दिन सकिए, अब घुम्छु कहिले भाइ कहाँ काठमाडौं, कहिले ६ महिनाअघि बिहे भएकी जेठी छोरी पूजाको घरतिर, अनि छोरा (भान्जा भुपेन्द्र) काम लागि हाल्छन्,’ सधैं दिदीसँगको भिडियोकलमा यस्तैयस्तै सुनिन्थ्यो ।

घटनाको अघिल्लो दिन आमाको मुख हेर्ने दिन भएकाले बिहानै दिदीसँग भिडियो कल भएको थियो । तर दोस्रोदिन चारैतिर सन्नाटा छाउने खबरले स्तब्ध बनायो ।

आफ्नै खेतमा घाँस काट्न गएका चार जनामध्ये बाघले ठूली दिदीलाई आक्रमण गरेको रहेछ । तीनजना महिलाले चिच्याउँदा पनि केही लागेन । बाघले दिदीलाई आफ्नो आहारा बनाएरै छोड्यो । बाघ भगाउन प्रहरीले हवाई फायर गरेपनि कुनै सिप लागेन । बाघसँग लड्न दिदीले घाँस काँट्न प्रयोग गरेको हँसिया लिएर झाडीतिर भिनाजु पनि दौडिए । उनको त्यो साहस असफल भयो ।

हामीले हत्यारा, पापी भनेर गाली गरेको नरभक्षी बाघलाई सरकारले महारानीको उपनाम दिएको छ । मेरी दिदीको हत्यारा कसरी महारानी हुन्छ ?

डिभिजन वन कार्यालय कञ्चनपुर, बर्दिया राष्ट्रिय निकुञ्जको टोली, शुक्लाफाँटा निकुञ्जको चारवटा हात्तीसहितको टिम, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आर्मीको प्रयासबाट बाघलाई नियन्त्रण पश्चात दिदीको मृत शरीर करिब २३ घण्टापछि भेटियो । डोली चढाएको काँधले दिदीको शव उठाउन विवश भएँ म ।

बाघ नियन्त्रणमा लिई बेपत्ता पारिएकी दिदीको अवस्था पत्ता लगाउन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासपश्चात थप सहयोग लागि हात्तीसहितको टोली आयो । घटना बिहान साढे नौ बजे भएको थियो तर साँझसम्म दिदीको अवस्था पत्ता लागेन । अझै पनि दिदी सकुशल भेटिन्छिन् कि भन्ने आशा बाँकी नै थियो । दिदीलाई लगेको झाडीको चारैतिर नजर लगाएँ । कतै झाडीतिर पो छिन् कि भन्ने आश पनि पलायो ।

लागेको थियो, घाइते बनाएको भए पनि दिदीको उपचार गरेर जीवनभर अनुहार हेरौंला । कतैबाट पहिले झैं ‘भाइ’ भन्ने आवाज आउँछ कि जस्तो पनि लाग्थ्यो । घरि भगवान पुकारें, घरि रोएँ, घरि कराएँ । राजधानीदेखि दिदीको घरसम्मको झण्डै चार सय किलोमिटर यात्रामा होस् या घटनास्थलमा भगवानको नाम जप्दै अनुनय-विनय गरें । तर कतै केही सिप चलेन । भगवानको लिला अन्तिम सत्यलाई स्वीकार्नुको विकल्प कसैसँग नहुँदो रहेछ ।

बेहोस बनाएर बाघलाई जावलाखेलस्थित चिडियाखानामा ल्याएर राखिएको छ । हामीले हत्यारा, पापी भनेर गाली गरेको नरभक्षी बाघलाई सरकारले महारानीको उपनाम दिएको छ । मेरी दिदीको हत्यारा कसरी महारानी हुन्छ ? कतिसम्म भने मान्छेलाई बाघले जेसुकै गरोस्, तर हामी मानिसले केही पनि गर्न नपाइने ? बाघलाई चोट लागे कानुन लाग्ने, जसको घर परिवार उजाड भयो, छोराछोरी टुहुरा भए उनीहरूको कुनै अर्थ हुँदैन ?

नियमानुसार पाइने १० लाखले आˆनै जननी पूरै भुल्नुपर्ने, आˆनी जीवनसाथी भुल्नुपर्ने, यो कस्तो बिडम्बना हो, सरकार ? १० लाखले सरकारको जिम्मेवारी पूरा भयो ? राज्य भएको आभास दिलायो ? अनाहकमा ज्यान गुमाउनेहरूप्रति सरकारको कुनै जिम्मेवार छैन ? कि बाघ देखाएर विदेशी र डलर भित्र्याउन मात्रै उद्यत हुने ?

बाघ संरक्षणमा सरकारले धेरै प्रयास गरेको छ । सुनिन्छ, विभिन्न एनजीओ, आईएनजीओहरू बाघ देखाएर डलर भित्र्याउन व्यस्त छन् रे । तर कसैको बाँच्ने आधार गुम्दा किन मौन, सरकार ? बाघ संरक्षण मात्र कि आफ्ना जनताको सुरक्षालाई पनि ख्याल गर्ने ?

म फेरि नि सोध्छु- मेरो दिदीको हत्यारा कसरी ‘महारानी’ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?