६ जेठ, दाङ । गढवा गाउँपालिका– ८ कोइलाबासका ५५ वर्षका कृष्णप्रसाद घिमिरेले आफ्नो जीवनको लामो अवधि नेपाल भारत सीमा क्षेत्रका उराठ बस्तीमा बिताए ।
आफ्नै देशभित्र बसे पनि सधै पराइजस्तै भए । उनका लागि आफूले टेकेको भूमिमात्र आफ्नो भयो, देश भने सधैं बिरानो जस्तो । ‘दुःखमा हामीले सधैं देश सम्झियौंं तर देशले कहिल्यै आफ्नो सम्झेन’ कृष्णप्रसाद भन्छन् ।
कृष्णप्रसादको यो गुनासो र आक्रोश अस्वाभाविक छैन । कारण– राज्यले सीमा क्षेत्रका नागरिकलाई गरेको उपेक्षा । हुन पनि यस क्षेत्रमा खानेपानी, स्वास्थ्य उपचार, शिक्षा र रोजगारी सबैथोकका लागि छिमेकी देश भारतकै भर पर्नुपर्छ ।
‘यहाँ सबै भन्दा ठूलो समस्या खानेपानीको छ । खडेरीमा खोला, कुवाहरु सुकेपछि पानीको सधैं हाहाकार हुन्छ’, कृष्णप्रसाद भन्छन्, ‘खोला, कुवा सुकेपछि पानी लिन भारततिर जानुपर्छ ।’
हिउँदमा मुहान सुकेपछि यहाँका बासिन्दा पानीका लागि तड्पिन्छन् । त्यसपछि पानी खोज्दै भारतीय भूमिमा पुग्नुपर्छ । अर्काको मुलुकबाट पानी ल्याउन सजिलो छैन । किनकी भारतीय नगारिकले हेप्छन्, सुरक्षाकर्मीले दुःख दिन्छन् ।
दाङमा भारतीय सीमावर्ती क्षेत्रका बासिन्दाले यस्तो समस्या भोग्नुपरेको वर्षौदेखि नै हो । ‘अर्काको देशको पानीले अहिलेसम्म जेनतेन जीवन धानियो । यसरी त कतिञ्जेल चल्ला र खै ?’ कृष्णप्रसाद चिन्तित छन् ।
गढवा गाउँपालिका–७ कोइलाबास नेपाल भारतबीचको पुरानो नाका हो । यस क्षेत्रमा करिब साढे २ सय घर परिवारको बसोबास छ । यो बस्तीका बासिन्दालाई नेपाल सरकारले आधारभूत सुविधा पनि दिन सकेको छैन ।
दाङको दक्षिणी क्षेत्रका बस्तीको अर्काे ठूलो समस्या हो, स्वास्थ्य उपचार । कोइलाबासमा एउटा स्वास्थ्य चौकी छ, तर सामान्य उपचार मात्र हुन्छ । अलि ठूलो बिरामी परे भारतीय बजारमै पुग्नुपर्छ ।
कोइलाबासदेखि १० किलोमिटर टाढाको मुसी क्षेत्रमा स्वास्थ्य संस्था नै छैन । ‘सिंगो गाउँमा एउटा उपचार गर्ने ठाउँ छैन’, मुसी नाकाकी ४५ वर्षकी सुमित्रा कुमाल भन्छिन्, ‘यहाँ कोही बिरामी परे सिधै भारत जानुपर्छ ।’
गाउँसम्म यातायातको सहज पहुँच छैन । ‘बर्खामा त बाटो बन्दजस्तै हुन्छ’, उनी भन्छिन्, ‘त्यो बेला कोही बिरामी परे, उपचार गर्न नपाई ज्यानै जान सक्छ ।’
स्कुल पढ्न भारततिर
कोइलाबासको महेन्द्र आधारभूत विद्यालयमा ८ कक्षासम्म मात्र पढाइ हुन्छ । ८ कक्षापछि धेरैले पढाइ छाड्छन्, कोही भारतको विद्यालयमा पढ्न जान्छन् । खर्च धान्न सक्नेहरुले गढवा, लमही र घोराहीसम्म लगेर छोराछोरी पडाउँछन् ।
कोइलबासकी मालती पुन भन्छिन्, ‘आठ कक्षा पास गरेपछि छोरीहरुले पढाइ छोडे, एउटी छोरीको बिहे भयो, अर्की छोरी भारतमा काम गर्न गई ।’
गढवा गाउँपालिका–८ कोइलाबासका पूर्ववडाध्यक्ष सद्दाम सिद्दिकी गाउँमा विद्यालय नहुँदा थुप्रै बालबलिकाहरुको भविष्य अन्धकार बनेको बताउँछन् । उनी भन्छन्, ‘विपन्न परिवारले सहरमा राखेर बालबच्चा पढाउन सक्दैैनन् । केही भारतमा पढ्न गएपनि धेरैले बीचैमा पढाइ छोडेर भारततिरै कमाउन लाग्छन् ।’
पूर्ववडाध्यक्ष सिद्दिकी दक्षिण सीमा क्षेत्रमा माध्यमिक तहको विद्यालय आवश्यक भए पनि सरकारले ध्यान नदिएको बताउँछन् । ‘सीमा क्षेत्रमा विद्यालय चाहियो भनेर धेरै पहल गर्यौं, तर यसबारे कसैले चासो देखाएका छैनन्’ उनले भने ।
आम्दानीको स्रोत पनि भारत
सीमावर्ती क्षेत्रका बासिन्दाको आम्दानीको ठूलो स्रोत भारतीय भूमिमा गर्ने रोजगारी नै हो । ‘यहाँबाट हरेक दिन पुरुषहरु काम गर्न भारतका शहर पुग्छन् । दिनभर ज्याला मजदुरी गरेर बेलुकी घर फर्कन्छन्’, कोइलाबासका रविमान तामाङ भन्छन् ।
यस क्षेत्रमा सिँचाइको सुविधा नभएकाले जमिन सुख्खा छ, अन्नबाली राम्रो उब्जनी हुँदैन । गाउँमा आम्दानीको अरु बाटो छैन, गुजारा चलाउन भारत नगई सुख छैन । तामाङका अनुसार यस क्षेत्रका बासिन्दाको पेट भारतमा गरेको श्रमले भरेको छ । ‘हरेक जसो घरबाट काम गर्न भारत गएका छन्’, उनले भने, ‘कोही त परिवार नै बोकेर श्रम गर्न भारत पसेका छन् ।’
आफ्नै देश बिरानो
सीमा आसपासका क्षेत्रमा भारतीय नागरिकको रजगज छ । दिनहुँजसो भारतीयबाट नेपाली नागरिकले ज्यादती हुन्छ । ‘नेपाली भनेर हामीलाई भारतीयले हप्काउँछन् । कहिले लुटपाट र कुटपिट गर्छन्’ मुसी नाकाकी ५० वर्षकी रामकुमारी सुनार भन्छिन्, ‘हामी यहाँ अन्यायमा परिरहेका हुन्छौं तर हाम्रो पक्षमा बोलिदने कोही हुँदैन ।’
भारत नजिकका नेपाली गाउँमा नेपालीमाथि कुटपिट लुटपाटका धेरै घटना भएका छन् । ‘उनीहरुका (भारतीय) अगाडि हाम्रो केही लाग्दैन’ रामकुमारी भन्छिन्, ‘हाम्रो कुरा सुनिदिने पुलिस प्रशासन पनि छैन ।’ यहाँका बासिन्दाले भारतीय सुरक्षा बल एसएसबीको पनि दुव्र्यवहार सहिरहेका छन् । दाङमा साना ठूला गरी ३३ वटा सीमा नाका छन् । सदरमुकामदेखि टाढा र भौगोलिक विकटता भएका कारण सरकारी निकाय र सुरक्षाकर्मीको उपस्थिति यस क्षेत्रमा छैन ।
राज्यको आँखा पुग्न नसकेको यी बस्ती विकासका हिसाबले धेरै पछाडि छ । दाङको पूर्वको राजपुरदेखि पश्चिमा गढवासम्म फैलिएको सीमा क्षेत्रमा नेपालीहरुले भोग्ने दुःख असंख्य छ । राज्य भए पनि त्यसको अनुभूति गर्न नपाएको गुनासो पोख्छिन् रामकुमारी । ‘देशले दिएको भन्नु बस्ने भूमि मात्र छ’ उनले भनिन्, ‘अरु त यहाँ केही छैन ।’
प्रतिक्रिया 4