+
+

नारायणीमा भर्ना भएका विरामीले पाउँदैनन् निशुल्क खाना

सुष्मा शर्मा सुष्मा शर्मा
२०८० जेठ ७ गते १७:०८

७ जेठ, वीरगन्ज । नारायणी अस्पतालमा भर्ना भएका बिरामीका लागि पञ्चायतकालदेखि नै निशुल्क खानाको व्यवस्था हुने गरेको छ ।

नारायणी अस्पताल मेडिकल रेकर्डका प्रमुख अशोक श्रीवास्तवका अनुसार शिशु वार्ड, मेडिकल वार्ड र सर्जिकल वार्डका बिरामीहरुलाई निशुल्क खानाको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्दै आएको छ ।

जसमा १५० ग्राम भात ५५ ग्राम दाल र ४५ ग्राम मौसमी तरकारीका साथै बिहान १ ग्लास दूध छ । अप्रेशन गरिएका विरामीलाई जाउलोको समेत सुविधा छ ।  तर पछिल्लो समयमा बिरामीहरुले निशुल्क खाना नपाएको गुनासो गरेका छन् ।

जलनको उपचारका लागि भएकी लक्ष्मी देवी राम आफूले खाना नपाएको बताउँछिन् । ‘मलाइ यहाँ खाना दिइएको छैन, डाक्टरले अण्डा खानु भनेका छन्,’ विपन्न परिवारकी उनले भनिन्, ‘एक छाक भात त पाएको छैन, अण्डा कसले दिने ?’

उनी आफू गरिब भएको र औषधि उपचारका लागि पैसा समेत नभएको बताउँछिन् ।

मेडिकल वार्डमा भर्ना भएका बिरामी अनुपले खाना त पाएका छन् तर उनले दूध पाएका छैनन् ।

बिहान ८ बजे नै खाना तयार हुन्छ त्यसैले उनलाई पनि समस्या छ । ‘८ बजे भित्र खाना लिन जानुपर्छ, बिहानै रूच्दैन, १० बजेतिर भोक लागेपछि खाँदा त्यो खाना चिसो भइसक्छ,’ उनी गुनासो गर्छन् ।

बिरामीले खाना नपाए बारेमा बुझ्नका लागि निशुल्क खाना कार्यक्रमका इन्चार्ज सहायक मेट्रोन श्रुती साहलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।

रासन व्यवस्थापनका पूर्व इञ्चार्जसमेत रहेका श्रीवास्तव पहिला पहिला रोग अनुरार डाइट चार्ट प्लान गरेर बिरामीलाई खाना दिने गरे पनि अहिले त्यस्तो नभएको बताए ।

‘हामीले सञ्चालन गर्दा बिरामीको रोग अनुसार डाइट चार्ट प्लान गरेर खान दिन्थ्यौँ, जस्तै मधुमेहका विरामीका लागि रोटी दिइन्थ्यो भने सर्जरी भएकाहरुलाई जाउलो र फलफूलसमेत दिन लाउँथ्यौं’, उनले भने ‘अण्डा बिरामी अनुसार थियो भने दूध अनिवार्य दिन लगाउँथ्यौँ ।’

आर्थिक वर्ष २०७८/०७९ मा निशुल्क रासनका लागि भनेर ३८ लाख २० हजार आएको थियो । जसमध्ये ३१ लाख ६३ हजार ८३७ रुपैयाँ खर्च भएको थियो । ६ लाख ५६ हजार १ सय ६३ रुपैयाँ फ्रिज भयो ।

तर पनि चालु आर्थिक वर्षका लागि बजेट बढेर अएको छ । ०७९/८० मा ४० लाख बजेट प्राप्त भएको छ भने चैतसम्ममा ३२ लाख १८ सय खर्च भइसकेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

खानाका लागि बजेट पनि छ र बजेट खर्च पनि भएको छ । तर विरामीले खाना पाएका छैनन् । पाएकाले पनि सफा र स्वस्थ खाना पाएका छैनन् । निशुल्क खाना वितरणको अनुगमन अस्पताल प्रशासनबाटै हुनु पर्नेमा अनुगमनसमेत नहुने गरेको अस्पतालकै एक कर्मचारीले नाम उल्लेख नगरी बताए ।

‘भर्ना भएका कतिले आफैं खान ल्याउँछन्, निशुल्क खाना लिन भान्छासम्म जान नसक्नेले खानै पाउँदैनन्,’ ती कर्मचारी भन्छन् ‘तर पनि सबै बिरामीले खाना पाए भनेर रिपोर्ट तयार पारिन्छ र बजेट सकिन्छ ।’

तर नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह भने बिरामीलाई भात, दाल, मौसमी तरकारी, दूध र अण्डा दिने गरिएको दाबी गर्छन् । अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना वितरण गर्न छुट्टै कर्मचारीको व्यवस्था नभएकाले कुरुवा नभएका बिरामीले निशुल्क खाना नपाएको हुन सक्ने उनले स्वीकार गरे ।

‘खाना तैयार भइसक्यो भनेर वार्डमा कर्मचारीले जानकारी गराउँछन्,’ डा.सिंहले भने, ‘त्यसपछि जो जो भान्छामा पुग्छन् उसले खाना पाउँछन् ।’ दाल, भात, तरकारी, दूध र अण्डा बाहेक अरु थप खाना पनि दिनुपर्ने सम्बन्धमा आफूलाई जानकारी नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?