+
+

विकास मोडालिटी असफल भयो, नीतिगत सुधार गरौं : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:४७
फाइल तस्वीर

७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रशासनिक जटिलताका कारण समयमै काम सम्पन्न नहुने र परिणाम नदेखिने भन्दै अब जनउत्तरदायी संयन्त्र आवश्यक रहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शर्माले हाम्रो विकास मोडालिटी नै सफल नदेखिएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए ।

‘निर्धारित समयमै तोकिएकै लागतमा कार्यसम्पादन हुने र प्रतिफल प्राप्त हुने गरी कार्यसम्पादन क्षमता अभिवृद्धि, कामकर्तव्य प्रति इमान्दारीता कायम गर्नु आजको आवश्यकता हो’ उनले भने ।

प्रशासनिक पुनर्संरचना आयोगका साथसाथै संरचनागत विकासका लागि नीतिगत व्यवस्था गर्न जरूरी भइसकेको उनले बताए ।

‘विकास निर्माणलाई द्रुतगति प्रदान गर्न शिक्षा क्षेत्रमार्फत आवश्यक जनशक्ति तयार पार्ने र आजको विकसित विज्ञान प्रविधिको परिचालन र कमाण्ड गर्न सक्ने, राजनैतिक इच्छा शक्ति र व्यवस्थापकीय कार्यकुशलता सहितको नयाँ अवधारणा र संरचनागत विकासका लागि नीतिगत व्यवस्था गर्न जरूरी भैसकेको छ’ उनले भने ।

नेपालमा प्रशासनिक जटिलताका कारण समयमै काम सम्पन्न नहुने, परिणाम नदेखिने, सुशासन अभाव हुने कुरा नै मुख्य समस्याका रूपमा देखिएका भन्दै उनले त्यसका लागि जनउत्तरदायी संयन्त्र आवश्यक रहेको बताए ।

नीति तथा कार्यक्रममा सुझाव राख्ने क्रममा उनले सगरमाथा, मुक्तिनाथ र लिमी भ्यालीको पर्यटन विकास, डिजिटल पाठ्यक्रम, डिजिटल स्कूल र डिजिटल अध्यापन, विश्वविद्यालयमा नव प्रवर्तनका अध्ययन अनुसन्धान तथा आयातित पेट्रोलियम ऊर्जाको विकल्पमा हरित ऊर्जा उत्पादन र प्रयोग गर्न जरुरी रहेको बताए ।

सरकारको नीति तथा कार्यक्रमले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको, कृषि उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको, लोकतन्त्रको रक्षा र गणतन्त्रको सदृढीकरणमा जोड दिएको भन्दै पूर्वमन्त्री शर्माले त्यसमा समर्थन जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?