+
+

खुला अन्तर्राष्ट्रिय बुद्धिचालमा पुरुषोत्तमसहित तीन खेलाडीको संयुक्त अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १९:२३

७ जेठ, चरिकोट । दोलखामा जारी भीमबहादुर तामाङ स्मृति खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन १४ वर्षीय नेपाली खेलाडी पुरुषोत्तम सिलवालसहित तीन खेलाडीले साढे पाँच अंक जोडेर संयुक्त अग्रता कायम गरेका छन् ।

आइतबार पाँचौ र छैटौं चरणको खेल समाप्तिमा पुरुषोत्तमसहित भारतका इन्द्रजित महिन्द्रकार र अंकित नारायण विश्वासले समान साढे पाँच अंक बनाएका हुन् ।

पुरुषोत्तम सिलवालले छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईलाई पराजित गरे । त्यसअघि पाँचौ चरणको खेलमा ईन्द्रजित महिन्द्रकारसँग बराबरी खेल्दै अंक बाँडेका थिए ।

भारतीय खेलाडी ईन्द्रजीतले छैटौं चरणको खेलमा आफ्नै देशका धनवीर सिंहलाई पराजित गरेका हुन् ।

तेस्रो दिन उत्कृष्ट प्रदर्शन गरेका भारतका अंकित नारायणले दुवै खेलमा जित निकाले । उनले पाँचौ चरणको खेलमा आफ्नै देशका भेदान्त नगरकाटेलाइ पराजित गरे भने छैटौं चरणको खेलमा नेपालका सुशरत दाहाललाई हराउन सफल भए ।

नेपाल च्याम्पियन फिडे मास्टर रुपैश जयसवाल, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, भारतका अपोलोसना मनाङ, चारु मजुम्दार, प्रियान्सु बरुवा र मोहित कुमार ५ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा छन् ।

त्यसैगरी पुरुषोत्तम चौलागाई, रोशन थापा र भारतका कृष्ण कुमार साढे ४ अंकसहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

दोलखाको कालिन्चोक माध्यमिक स्कुलमा भइरहेको प्रतियोगिताको सोमबार सातौं र आठौं चरणको खेल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?