+
+

घट्दो ब्याजदरले बढ्दै सेयर लगानीकर्ताको विश्वास, नेप्से ५१ अंकले बढ्दा २१९ कम्पनीको सेयरमूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १५:२८

९ जेठ, काठमाडौं । घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार नेपाल बैंकर्स संघले पत्रकार सम्मेलन गर्दै तरलता थप सहज हुने र ब्याजदर उल्लेख्य रुपमा घट्ने देखिएको बताएपछि मंगलबार सेयर बजारमा हरियाली छाएको छ । गत साताको सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएर बन्द भएको नेप्से त्यसयता लगातार ६ कारोबार दिनसम्म बढेको छ ।

गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताको न्यून विन्दु १८०७.५३ सम्म झरेर १८१८.३१ अंकमा बन्द भएको थियो । त्यसपछिको ६ कारोबार दिन नेप्से लगातार बढ्दा नेप्से समग्रमा १२४.३२ अंकले वृद्धिभएको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ५१.३१ अंकले वृद्धि हुँदा १९४२.६३ अंकको विन्दुमा बन्द भएको छ । सेयर बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि २.७१ प्रतिशतले वृद्धि भएको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.०५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ४.०३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार नेप्सेमा ३८ हजार ७९६ वटा कारोबारमा ६० लाख ६७ हजार ४३२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब २० करोडको कारोबार भएको छ । मंगलबार नेप्सेमा करिब ३ महिना यताकै उच्च रकमको कारोबार भएको छ । यसअघि १४ फागुनमा २ अर्ब माथिको कारोबार भएको बजारमा त्यसपछि २ अर्ब माथिको कारोबार भएको थिएन ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधकि १० करोड ५ लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार प्राधिकरणको ८ करोड ९९ लाख र एनआईसी एशिया बैंकको ७ करोड २४ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २१९ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । २ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये कालिका लघुवित्त, खप्तड लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामुदायिक लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

सेयरमूल्य घट्ने २ कम्पनीमा आदर्श लघुवित्तको १.२३ प्रतिशत र किसान लघुवित्तको सेयरमूल्य ०.६८ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?