+
+

माओवादी केन्द्रलाई कांग्रेसको पत्र : सरकारलाई दिएको समर्थन फिर्ता लिनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १९:२५

९ जेठ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले माओवादी केन्द्रलाई वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन लिखित पत्र बुझाएको छ ।

जेठ ४ गते बसेको कांग्रेस प्रदेश संसदीय बैठकको निर्णय अनुसार दलका नेता उद्धव थापाले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मंगलबार पत्र बुझाएका हुन् । पत्र बुझाउँदै उनले संघिय गठबन्धन अनुसार सरकार गठनको वातावरण बनाउन आग्रह गरेका छन् ।

राष्ट्रपति निर्वाचन(२५ फागुन)सँगै संघमा १० दलिय गठबन्धनको सरकार बनेको छ । प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धन दलको नेतृत्वमा सरकार बनेको छ ।

कोशी प्रदेशमा भने माओवादी केन्द्र र जसपाको समर्थनका कारण एमाले नेतृत्वको सरकार टिकिरहेको छ । सरकार छाड्न मौखिक आग्रह गर्दा माओवादी र जसपाले नमानेपछि कांग्रेसले लिखित पत्र पठाएको हो।

‘निर्वाचन परिणामपछि गठबन्धन दलमा केही मतभेद देखापरि गठबन्धन दलमा केही फेरबदल भै राष्ट्रपतिको निर्वाचन अघि पुनः गठबन्थन दलहरू एकै ठॉउमा उभिएको कुरा जगजाहर छ।’

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पठाएको पत्रमा भनिएको छ, ‘संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धन अनुसार नै सरकार गठन भैसकेको अवस्थामा गठबन्धन दलहरुको मर्म र भावना अनुरुप कोशी प्रदेशमा संघिय गठबन्धन अनुरुप नै सरकार गठन गर्नको लागि गठबन्धन दलहरुबाट सरकारलाई दिएको समर्थन फितां लिन अनुरोध गर्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको निर्णय बमोजिम तपाइंहरुको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गने वातावरण तय गर्नुहुन आग्रह गर्दछु।’

कांग्रेसले यसअघि सोही व्यवहोराको जसपालाई पनि पठाएको थियो। नेपाली कांग्रेसले लिखित पत्र पठाएपछि माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराउने बताएका छन्।

‘कांग्रेस संसदीय दलबाट आएको पत्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउछु,’ उनले भने,‘केन्द्रीय गठबन्धनको शीर्ष तहमा हुने सहमतिलाई माओवादी प्रदेश संसदीय दलले कार्यान्वयन गर्छ।’

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सहज अंकगणित नभएका कारण सत्तारुढ गठबन्धनले सरकार बनाउन सकेका छैनन्। कोशी प्रदेशमा ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन्। २९ सांसद रहेको कांग्रेस, सभामुख बाहेक १२ सांसद रहेको माओवादी केन्द्र ४ सांसद रहेको नेकपा एकिकृत समाजवादी पार्टी र एक सांसद रहेको जसपा एक ठाउँमा छन्।

सभामुख बाहेक सत्तारुढ गठबन्धन र एमाले राप्रपा गठबन्धनसँग समान ४६ सांसद छन् । गठबन्धनमा सभामुखसहित कठिन बहुमत भएपनि विश्वासको मत र विधेयक पास गर्ने प्रयोजनमा बारम्बार विवाद हुने अवस्था छ।

सहज बहुमत जुटाउनका लागि सत्तारुढ गठबन्धनले ६ सिटको राप्रपालाई एमालेसँगको गठबन्धनबाट अलग्याउने प्रयास गरिरहेको छ। निर्वाचनमा एमालेसँग गठबन्धन गरेर प्रत्यक्ष तर्फ २ सिट जितेको राप्रपाले एमालेको साथ छाड्न मानेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?