+
+

प्रचण्ड कमरेड ! त्यो मिसिङ चिज कतै यही त हैन ?

सुकिला-मुकिला मान्छेका औपचारिक कार्यक्रममा हाम फालेर जाने नेताहरूले भुईंमान्छेलाई बिर्संदै गएका छन् । उनीहरूले गर्ने भनेको ‘समाजसेवा’ तल्लो तहले प्रत्यक्ष महसुस गर्न पाएको छैन ।

अर्जुन पौडेल अर्जुन पौडेल
२०८० जेठ १० गते ११:१४

नेपालमा कम्युनिष्ट पार्टीर्हरूको जनाधार कमजोर हुँदै गएको परिस्थितिलाई नियाल्ने हो भने प्रमुख नेता र अगुवा कार्यकर्ताको जीवनशैलीलाई पनि एउटा कारणको रूपमा हेर्न सकिन्छ ।

कम्युनिष्ट पार्टीले आफ्ना लाखौं कार्यकर्ता हुँदा समेत गाउँमा किसानको अर्मपर्म रोकिने, खेताला नपाउने र मलामीको पनि अभाव हुँदै जाने स्थितिले भुईंमान्छेको मन जित्न सकेका छैनन् ।

कम्युनिष्ट नेताको सेलिबि्रटी पारा, सम्पत्तिको लोभ र सरल जीवनशैलीको अभावका कारण जनता र नेताबीचको दूरी बढ्दै गएको छ । पार्टीबाहेक अरू नसोच्ने, नेताको चाकरी मात्रै गर्ने र आलोचनालाई गाली ठान्ने कार्यकर्ताका कारण पनि कम्युनिष्टप्रतिको क्रेज घट्दै गएको हो ।
हेर्दा बौद्धिक देखिने र बेलाबेला जनताको घरदैलो गर्ने तर पुरानै शैलीबाट पार्टीलाई अगाडि बढाइरहेका पार्टीका नेताले नयाँपन दिन नसकेर पनि जनतामा नयाँ जोस सृजना हुनसकेको छैन ।

जनतालाई एकढिक्का पार्न सक्ने, नयाँ जोस पनि भएको र रचनात्मक आन्दोलन गर्न सक्ने तर आर्थिक रूपले कमजोर युवालाई नेतृत्वबाट वञ्चित गर्दा कम्युनिष्ट पार्टीमा पुनर्जागरण हुनसकिरहेको छैन ।

हाम्रो सोचले पनि हामीलाई विफल बनाइरहेको छ । बिहान-बेलुका हातमुख जोड्न मुस्किल हुँदै गएको परिस्थितिमा कार्यकर्तालाई पूर्णकालीन बनाउने, पार्टीमा व्यस्त कार्यतालिका बनाउने र केही गर्दै आएका कार्यकर्तालाई समेत अलमल्याउँदै महत्वाकांक्षी बनाइदिने हाम्रो शैलीले पार्टीलाई दैनिक रूपमा कमजोर बनाउँदै गएको हो ।

चुनावमा मात्रै घरदैलो गर्ने तर जितेपछि नाकमुख नदेखाउने पार्टीका जनप्रतिनिधिका कारण पनि जनाधार कमजोर हँुदै गएको छ । भ्रष्टाचारका विभिन्न काण्डले पनि परिस्थिति प्रतिकूल बन्न गएको देखिन्छ । तर विगतका झैं परिस्थिति अनुकूल बनाउने जिम्मा पनि कम्युनिष्ट पार्टीहरूकै हो ।

खासमा जनताले नेतालाई साथीको रूपमा खोजिरहेका छन् । हिजो आफ्नो समस्या बताउन मुखियाकोमा जानुपथ्र्यो । सुकिला-मुकिलाले मात्र मुस्किलले मुखियासँग भेट गर्न पाउँथे । मुखियालेे कतिपय गुनासा एउटा कानले सुन्ने अर्कोले उडाइदिन्थे । गम्भीरताका साथ सुनिएका कतिपय गुनासालाई कसरी समाधान गर्ने भनेर टुंगो लगाउन मुस्किल पथ्र्यो । आजका पार्टीभित्र समेत उस्तै परिपाटी देखिन्छ ।

एउटा शहीद बेपत्ता परिवारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीसँग भेट्न नपाएको घटना नौलो हैन । नेकपा एमालेमा पनि जो कोहीले अध्यक्षलाई सजिलै भेट्न सक्ने अवस्था छैन । अन्य पार्टीमा पनि हविगत उही छ । त्यसो हुनुमा पार्टीका अध्यक्षको मात्रै दोष छैन । यसै सन्दर्भमा प्रचण्ड स्वयंले हामी आफैंमा केही त ‘मिसिङ’ छ पनि भन्दै आएका छन् । तर अहिले धेरै कुराको अभाव (मिसिङ) छ । नेताहरू भावनाविहीन जस्ता भएका छन् । सृजनशीलता हराएको छ । जनता र नेताबीचको सामीप्यता हराएको छ ।

पार्टीहरू जनताको दैनिकीसँग जोडिन सकेका छैनन् । साहित्यकारले देशलाई सुनाउन लेखेका साहित्य सुनाउन सकेका छैनन् । हामीले राम्रो गीत गाउने साइँलीकी छोरीका गीत सुन्न पाएका छैनौं अनि दिनरात भकुण्डो लिएर कुद्ने माइलाको छोरोलाई फुटबल मैदानमा हेर्नै पाएका छैनौं ।

बोल्न नपाएका जनताले बोल्न पाए तर माइला र साइँला जस्ता भुईंमान्छेले आˆनो कुरा सुनाउन पाएका छैनन् । उनीहरू आज पनि राज्यको पहुँचभन्दा धेरै तल छन् । आज पनि उनीहरूले सरकार र नेता भेट्न एकजोर जुत्ता फटाउनुपर्ने अवस्था छ । हो, यहीं ‘मिसिङ’ भएको छ ।

नेताहरू यहींनेर चुकेका छन्, यहींनेर अल्मलिएका छन् । सुकिला-मुकिला मान्छेका औपचारिक कार्यक्रममा हाम फालेर जाने नेताहरूले भुईंमान्छेलाई बिर्संदै गएका छन् । उनीहरूले गर्ने भनेको ‘समाजसेवा’ तल्लो तहले प्रत्यक्ष महसुस गर्न पाएको छैन ।

अनौपचारिक रूपमा भुईंमान्छेसँग जोडिन चाहिने योजना ल्याउने जिम्मा माथिदेखि तलसम्मका सरकारको होइन ? कम्युनिष्ट पार्टीका केन्द्रीय, जिल्ला, प्रदेश, पालिका र वडास्तरका नेताले जन आवश्यकता महसुस गरेर स्वविवेकले कुनै योजना बनाएका छन् ? अनि किन सधैं जनताले समर्थन मात्र गर्नु ? हो, आजसम्म यही कुराको अभाव देखिएको छ ।
यो अभाव पूर्ति गर्न प्रत्येक जनप्रतिनिधिसँग भुईंमान्छेसम्म पुग्न आˆनै अभियान हुन जरूरी छ । जनतासँग सीधै अनौपचारिक रूपमा सहभागी हुन जरूरी छ ।

जस्तै हप्ताको चार घन्टा वा सके एक दिन औपचारिक प्रोग्राममा नजाने, जनतासँग जोडिने, जनताको गुनासो सुन्ने, जनताको घरदैलोमा निस्किने र साधारण जीवनशैलीमा आम मानिस सरह सबैसँग घुलमिल हुने एउटा अभियानको थालनी हुन जरूरी छ । यसबाट नेतृत्वलाई आसेपासे र चाकरीबाजले सुनाएका विवरण र यथार्थबीच फरक छुट्याउन सजिलो हुन्छ ।

भुईंतहका साइँली र माइलाहरूलाई यो व्यवस्थामा उनीहरूको पनि संलग्नता छ भनेर महसुस गराउन सक्नुपर्छ । ती साइँलीकी छोरीको गीत सुनेर रेकर्ड गरिदिन पहल गर्नुपर्छ । त्यो माइलाको छोरो राष्ट्रिय खेलाडी बन्ने वातावरण बनाउनुपर्छ । भुईंमान्छेले भनेका, लेखेका कुरा छाप्न सहयोग गर्नुपर्छ ।

आफैं किसानको खेताला हुन सक्नुपर्छ । यसरी सबै नेतृत्वमा भावना आउने हो र एउटा नयाँ अभियान वा नयाँ क्रान्तिकोे थालनी आजैबाट सुरु गर्ने हो भने ती बाँझा खेत पनि हरियाली हुन्छन् । परनिर्भरता पनि अन्त्य हुन्छ र कम्युनिष्ट पार्टीको जनाधार पनि बलियो बन्दै जान्छ । कमरेड प्रचण्ड, तपाईंले देखेको अभाव कतै यस्तै यस्तै त हैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?