९ कात्तिक, गोरखा । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्नेहरूसँग तत्काल एकता सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढ्ने बताएका छन् ।
गोरखा जिल्ला कमिटी आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ,’ प्रचण्डले भने, ‘विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ ।’
कार्यक्रममा संयोजक प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भने, ‘अहिले पनि प्रतिगामी खतरा कायम छ। तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन् । त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ ।’
साथै, उनले जेनजीहरूको अभिभावक नै आफ्नो पार्टी रहेको बताए ।
‘जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौं । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’ प्रचण्डले भने, ‘अब जेनजी युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ ।’
उनले जेनजी आन्दोलन आफ्ना उत्तराधिकारी भएको उल्लेख गर्दै भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध माओवादी निरन्तर लडिरहेको जिकिर गरे ।
प्रतिक्रिया 4