+
+

भारतले भैरहवाबाट दिल्लीमा उडान अनुमति नदिनुको अर्थ

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ १० गते २१:१४

१० जेठ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को योजना सफल भइदिएको भए आगामी १८ जेठदेखि प्रत्येक सोमबार राति काठमाडौंबाट मलेसियाको क्वाललम्पुर पुग्ने विमान मंगलबार भैरहवा फर्किएपछि त्यहीँबाट दिल्ली पुग्थ्यो, अनि दिल्लीबाट काठमाडौं आउँथ्यो । तर, निगमले योजना बदल्दै २९ जेठदेखि काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान तय गरेको छ ।

निगमले किन योजनाअनुसार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीमा किन उडान गरेन त ? नेपाल वायुसेवा निगमका एक अधिकारी भन्छन्, ‘भारतले हाललाई भैरहवाबाट दिल्ली उडान गर्न अनुमति दिएन, प्रक्रियामै छाैं’

भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न चाहेको बुद्ध एयरलाई आफ्नो सहरहरुमा अन्तर्राष्ट्रिय उडानको अनुमति दिन आनाकानी गरिरहेकै छ । तर, अहिलेसम्म भैरहवाबाट भारतका सहरहरुमा उडान गर्न कुनै प्रस्ताव गएको थिएन ।

नेपाल सरकारको स्वामत्विमा रहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भैरहवाबाट भारतमा उडान गर्न पहिलो प्रस्ताव गरेपछि भारतले खुरुक्कै अनुमति दिने अपेक्षा थियो । तर, त्यस्तो भएन । भारतले जसरी अस्पष्ट जवाफ दिएर पोखराबाट भारतका सहरहरुमा गर्न प्रस्ताव गरिएका उडान अनुमति टारिरहेको छ, त्यही शैलीमा दिल्ली उडानको अनुमति पनि रोकेको छ ।

‘निगमको भैरहवा–दिल्ली उडान प्रस्ताव पनि रोकेपछि भारतले भैरहवा र पोखरालाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा व्यवहार नै गर्न नचाहेको स्पष्ट भएको छ,’ नेपाल नागरिक उड्यन प्राधिकरणका एक अधिकारीले भने,‘अब भैरहवा र पोखराका विमानस्थललाई भारतका हवाई गन्तब्यसँग जोड्ने योजना तत्कालका लागि टर्‍यो ।’यसैपनि नेपालको हिमालय एयरलाइन्सलाई भारतले काठमाडौंबाट समेत आफ्ना सहरहरुमा उडान भर्न मिल्ने गरी वैधानिकता दिएको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारतमा उडान अनुमति नपाइरहेको अवस्थामा नेपाल एयरलाइन्सलाई अनुमति नदिएपछि अब भैरहवासँग भारतीय सहरहरुमा उडान गर्न तत्कालकै अवस्थामा सम्भव नहुने स्पष्ट भएको छ ।

नेपाल एयरलाइन्सलाई नै अनुमति नदिएपछि भैरहवाबाट भारतका सहरहरुमा ट्रान्जिट गरेर अन्य गन्तब्यमा जाने विदेशी एयरलाइन्सलाई पनि भारतले अनुमति नदिने स्पष्ट देखिएको अधिकारीहरु बताउँछन् ।

नेपाल र भारत सरकारबीच भएको हवाई सेवा सम्झौताअनुसार नेपाल र भारतका सबै सहरहरुमा उडान भर्न अनुमति लिने बाहेकको प्रक्रिया छैन । तुरुन्तै दिन सक्ने अनुमति रोकेर भारतले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलललाई पनि पोखराकै सरहको व्यवहार देखाएको छ ।

सञ्चालनमा आएको एक वर्ष बितिसक्दा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल अहिले उडान विहीन छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा सीमित छ ।

६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक कारण देखाएर केही हप्तादेखि भैरहवामा उडान रोकेको छ । जजिराले प्राविधिक कारण देखाएर उडान कहिलेबाट फेरि सुरु गर्छ भन्ने निश्चित गरेको छैन ।

जजिराले यसअघि हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्दै आएको थियो । २ जेठ २०७९ मा उद्घाटन भएको विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा लगानी गरेकाहरु चिन्तित छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सक्छ । तर, अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीले उडानमा चासो देखाएका छैनन् । चासो देखाएका कम्पनीले पनि गन्तब्य देशबाट अनुमति नपाउने अवस्था आएपछि विमानस्थलका अधिकारीहरु चिन्तित छन् ।

उनीहरुका अनुसार नेपाली एयरलाइन्सहरुले तत्कालै भारतलाई गन्तब्य बनाएर भैरहवाबाट उडान समेत गर्न नपाउने निश्चित भएको छ ।

अनुदार भारतको ‘मौन सन्देश’

भैरहवा विमानस्थल सञ्चालनलाई सहज वातावरण बनाउन भारत सरकार पहिलेदेखि नै अनुदार देखिएको थियो । भैरहवालाई अत्यावश्यक रहेको पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुटबारे भारतले छलफल नै गर्न चाहेको छैन ।

३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थलका लागि नेपालबाट हवाई प्रवेश विन्दुसहितका रुट अत्यावश्यक छ । भारतले पश्चिमबाट एयर रुट दिए यो विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु आकर्षित विमानस्थलका अधिकारीहरु बताउँछन् । यी रुटहरु पोखराका लागि पनि पायक पर्ने र अत्यावश्यक हुन् ।

नेपालमा हुनेमध्ये ६०–७० प्रतिशत अन्तर्राष्ट्रिय उडान पश्चिम नेपालकै रुटबाट हुन्छ । तर, नेपालमा हवाई सेवा सुरु भएदेखि नै अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले सिमराकै हवाई विन्दु प्रयोग गर्नु परिरहेको छ । भुटानबाट आउने विमानले पूर्वको झापा र ल्हासाबाट आउने विमानले नुनिम विन्दु (ब्राबो ३४५) हवाई विन्दु पाएका छन् ।

पश्चिम रुट (गल्फ ५८९) खाडी राष्ट्र अर्थात् मध्यपूर्वी देशहरु, टर्की, भारतको नयाँ दिल्ली जस्ता क्षेत्रबाट उडान भर्ने विमानहरु आउँछन् । पूर्वी रुट (रोमियो ५८१) बाट भने भारतको कोलकातासहित बंगलादेश, थाइल्यान्ड, मलेसिया, हङकङ, सिंगापुरलगायतका क्षेत्रबाट विमानहरुले उडान भर्छन् ।

पश्चिम र पूर्वतर्फ भारतले नेपालले मागेअनुसार प्रवेश विन्दु नदिँदा भारतीय भूमि हुँदै सिमरासम्म आउनुपर्ने झन्झटका कारण नेपाल आउने विमानले घुमाउरो रुट प्रयोग गर्नु परिरहेको छ । पूर्व वा पश्चिम जुन रुटबाट आएपनि विमानहरु सिमराकै विन्दुमा आएर काठमाडौं प्रवेश गर्न बाध्य छन् ।

भारतले महेन्द्रनगर वा पश्चिम नेपालको कुनै भागबाट प्रवेशविन्दुका लागि अनुमति दियो भने नेपाल आउने ७० प्रतिशत विमान सिमरातर्फ नगई सोझै नेपालको आकाशमा प्रवेश गरेर काठमाडौं, पोखरा र भैरहवामा अवतरण गर्न सक्छन् ।

तर, भारतले नेपाललाई वर्षौंदेखि सिमराको हवाई विन्दु मात्रै प्रयोग गर्न दिएर पूर्व–पश्चिमबाट आउने सबै विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न बाध्य पारेको छ । यसरी नेपाल आउने विमानले लामो समय भारतीय आकाश प्रयोग गरेबापत सम्बन्धित वायसेवा कम्पनीले तिर्नुपर्ने नेभिगेसनसहित विभिन्न सेवा शुल्क भारत सरकारकै पोल्टामा पुगिरहेको छ ।

नेपालले मागअनुसार प्रवेश विन्दु पाउने हो भने नेपाली आकाशको प्रयोगबाट नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुले सेवा शुल्कहरुबाट आम्दानी पनि गर्नसक्ने थिए । अहिलेको अवस्थामा भने घुमाउरो रुटले बढी समय लागेर विमान कम्पनीहरुको खर्च बढेको छ । यति मात्रै होइन यात्रुको हवाई टिकट पनि महंगिएको र लम्बिएको एयर रुटका कारण वायु प्रदूषण समेत बढेको छ ।

विज्ञहरुका अनुसार जति लामो उडान हुन्छ, उति नै हवाई सुरक्षा जोखिम पनि बढ्दै जान्छ । भैरहवामा उडान गर्ने विमानले भैरहवा वा महेन्द्रनगरबाट एयर रुट पाए उडान समय २५ मिनेट छोटिन्छ । सिमराबाटै प्रवेश गरेर पोखरा पुग्नुभन्दा भैरहवाबाटै प्रवेश गर्न अनुमति पाए उडान समयावधि र लागत दुवै घट्छ । उडान लामो हुँदा विमान सञ्चालन खर्च बढेर कम्पनीहरुको नाफाको हिस्सा गुम्छ । यसले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न चाहाने एयरलाइन्सहरुलाई पनि निरुत्साहन गरिदिन्छ ।

यस्तो अवस्था जान्दाजान्दै पनि भारत नेपाललाई पूर्व सहमतिअनुसार एयर रुट समेत दिन तयार छैन । विमानस्थल सञ्चालनमा एयर रुटले व्यवधान ल्याएकोबारे जानकार हुँदाहुँदै पनि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल पनि गरेको छैन । हवाई विभागका पूर्वमहानिर्देशक तथा पूर्वसचिव यज्ञप्रसाद गौतम भारतले सद्भाव देखाएरै पश्चिम नेपालबाट प्रवेश विन्दु दिनुपर्ने बताउँछन् । ‘उच्चस्तरबाट पहल गरेर सद्भावको वातावरण बनाउने काम नेपालको पनि हो’, उनी भन्छन् ।

एयर रुट मात्रै हैन, गौतमबुद्ध विमानस्थलमा नेपालले जोडेको कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्नसक्ने प्रणाली ‘आईएलएस’ प्रयोग गर्न समेत भारतले अनुमति दिन रोकेको छ । विमानस्थलमा जोडेको यो प्रणालीको फ्रिक्वेन्सीले भारतको सीमा क्षेत्रको करिब २ किलोमिटर एयर स्पेस लिएपछि यसको प्रयोगमा भारतको अनुमति चाहिने अवस्था आएको थियो । तर, अनुमति दिन भारतले पटक्कै इच्छा नै देखाएको छैन । जबकी झापाको भद्रपुरमा आन्तरिक विमानस्थल भएकै कारण त्योभन्दा बढीको एयर स्पेस प्रयोगमा भारतले कुनै रोकतोक गरेको छैन ।

आईएलएसको प्रयोग गर्न पाएर भैरहवा उडान सुरक्षित भएर त्यसले पनि वायसेवा कम्पनीलाई भैहवा उडानमा प्रोत्साहन मिल्ने विश्वास प्राधिकरणका अधिकारीहरुको छ । तर, जति अनुरोध गर्दा पनि भारतले सुनुवाइ नगरेपछि अहिले भैरहवा विमानस्थलका प्रमुखसहितको टोली एयरपोर्ट अथोरिटी अफ इन्डियासँग छलफल गर्न भारत पुगेको छ ।

तर, भारतको कुशीनगरमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग चिन्तित रहेको भारत सरकार भैरहवाका लागि सजिलै ‘एयरस्पेस’ दिन्छ भन्नेमा नेपाली अधिकारीहरु आशावादी छैनन् ।

भारत नेपालमा चीन सरकारले लगानी गरेका परियोजनामा मात्रै हैन, चिनियाँ ठेकेदारमार्फत बनेका परियोजनासँग समेत व्यवसायिक ढंगले जोडिन चाहिरहेको छैन । पूर्ण स्वदेशी लगानीमा बनेको तर चिनियाँ ठेकेदारले सिभिलतर्फको निर्माण गरेको तामाकोशी जलविद्युत आयोजनाको बिजुली नकिनेर भारतले नेपाललाई यस्तो सन्देश दिइसकेको थियो । भैरहवा–दिल्ली उडान रोकेर भारतले नेपाललाई आफ्नो रणनीतिबारे थप पाठ पढाएको छ ।

यही बुझेर प्राधिकरणका अधिकारीहरुले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भारतीय विमानस्थलसँग उडानमार्फत जोड्न आफ्नो तहबाट नहुने भन्दै हात उठाइसकेका छन् । ‘अब नेपाल–भारत प्रधानमन्त्रीस्तरको वार्ताले मात्रै यी समस्याहरु हल गर्न सक्छन्,’ प्राधिकरणका एक अधिकारीले भने ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?