+
+
वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालसँग अन्तर्वार्ता :

‘स्टन्टबाजी जान्दिनँ, काम भइरहेको छ’

मोहनमाया ढकाल, मेयर मोहनमाया ढकाल, मेयर
२०८० जेठ ११ गते १२:५८

११ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले आफ्नो पदभार सम्हालेको एक वर्ष पूरा भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा गत स्थानीय निर्वाचनमा वीरेन्द्रनगरवासीले निकै आशाका साथ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेकी उम्मेदवार ढकाललाई जिताएका थिए ।

प्रदेशकै एक्ली महिला मेयर ढकालको यो एक वर्ष भागदौडमै बितेको छ । १० जेठ २०७९ मा पदभार सम्हालेकी ढकालले आफ्नो पहिलो वर्षलाई पूर्वाधार निर्माणको वर्ष भनेकी छिन् । आफ्नो चुनावी प्रतिबद्धता अनुसार नै काम भइरहेको र परिणामका लागि पर्खिनुपर्ने उनको भनाइ छ ।

महसुस हुने नयाँ कामै देखिएन भन्नेहरूलाई ढकाल भन्छिन्, ‘स्टन्टबाजी गरेर मलाई मिडियामा आउनु छैन । मसँग पाँचवर्षे उपमेयरको अनुभव छ । वास्तविकतामा टेकेर दीर्घकालीन महत्वका कामहरू भइरहेका छन् । एक वर्षमै परिणाम खोज्नु न्यायसंगत नहोला ।’

यो एकवर्षे कार्यकाल कस्तो रह्यो त ? कस्ता चुनौतीको सामना गर्नुपर्यो ? के कस्ता योजना अगाडि बढिरहेका छन् ? मेयर ढकालसँग अनलाइनखबरका लागि यज्ञ खत्रीले गरेको कुराकानीको सम्पादित अंश :

उपमेयर हुँदा तपाईंमा एउटा छुट्टै ऊर्जा देखिन्थ्यो । मेयरमा निर्वाचित हुँदा केही गर्ने हुटहुटी देखिन्थ्यो । तर विस्तारै त्यो ऊर्जा सेलाउँदै गयो भन्ने जनगुनासो सुनिन्छ नि !

त्यस्तो हैन । उपमेयर र मेयरको आ–आफ्नो जिम्मेवारी हुन्छ । मलाई उपप्रमुख हुँदाभन्दा अहिले काम गर्न सहज भइरहेको छ । हुनुपर्ने काम आफ्नै गतिमा भइरहेका छन् । म हिजो जे थिएँ, आज त्यही छु । मेरो ऊर्जा सेलाएको छैन । केही गरेरै छाड्ने हुटहुटी मरेको छैन । म कुरा नभई काम गरेर देखाउने पक्षमा छु । परिणामका लागि केही समय धैर्य गर्नुस् भन्छु ।

तपाईंकै शब्दमा भन्दा, तपाईंको दौडधुप चर्को छ । तर जनताले भने त्यो अनुसारको काम र परिणाम देख्न पाएनौं भनिरहेका छन् नि !

यसमा दुई वटा कुरा हुँदोरहेछ । केही मसिना काम गरौं र परिणाम निकालौं भन्ने, एउटा हुन्छ । अर्को, सुन्दा मीठो सुनिने । आकर्षक लाग्ने स्टन्टबाजी हुन्छ । मलाई स्टन्टबाजी गर्नु छैन । तपाईंले समुदायस्तरमा हेर्नुभयो भने गज्जबको परिणाम पाउनुहुन्छ । हामीले तालिम दिएका महिला दिदीबहिनी आज बजारमा अटो चलाउनुहुन्छ । कोही सिलाइ–कटाइ, कोही ढाका बुनाइमा हुनुहन्छ । कतिपयले अचार बनाउनुहुन्छ । कतिपयले डेरी सञ्चालन गर्नुभएको छ । आज एक वर्षको अन्तरालमा थुप्रै महिला उत्पादनमा जोडिनुभएको छ । आत्मनिर्भर हुनुभएको छ ।

किसान र महिलासँग जोडिंदै गर्दा अब हामी युवासँग जोडिंदैछौं । आगामी आर्थिक वर्षबाट नितान्त युवाहरूलाई उद्यमशीलतासँग जोड्ने कार्यक्रमहरू ल्याउँछौं । त्यसका लागि हामीले यो वर्ष ‘डेप्थ स्टडी’ गरिरहेका छौं । यसलाई कार्यविधि नै बनाएर कार्यरूप दिन्छौं ।

नागरिकका ठूला अपेक्षा छन्, सबै कुरा स्थानीय तहबाट नै भइदेओस् ! यो राम्रो पक्ष पनि हो । तर सबै कुरा स्थानीय तहले मात्रै पूरा गर्न पनि त सक्दैन । हामी पाँच वर्षका लागि निर्वाचित भएका हौं । परिणामका लागि पर्खिनुपर्छ । म जनताको अपेक्षा र भरोसा टुट्न दिन्न ।

उपमेयर हुँदा सेकेन्ड म्यानले जति चाहे पनि केही गर्न नसकिने रै’छ, भन्नुहुन्थ्यो । अहिले फस्र्ट म्यान नै हुनुहुन्छ । एकवर्षे कार्यकाल कस्तो रह्यो ?

विगतका केही अधुरा कामहरू पूरा गर्नेतिर अहिले केन्द्रित छौं । हिजो सुरु भएका तर सम्पन्न नभएका निर्माणका कामहरू यो वर्ष तीव्र गतिमा अगाडि बढिरहेका छन् । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालित थुप्रै पूर्वाधार निर्माणका काम अन्तिम चरणमा छन् । हामीले यो वर्षलाई पूर्वाधार निर्माणको वर्षका रूपमा लिएका छौं ।

वीरेन्द्रनगरको मुख्य समस्याको रूपमा रहेको खानेपानी समस्या समाधान गर्न भेरी पम्पिङ्ग लिफ्ट आयोजना अगाडि बढेको छ । उक्त आयोजना निर्माणका लागि सरकारले विश्व बैंकसँग र वीरेन्द्रनगर नगरपालिकाले संघ सरकारसँग सम्झौता गरेको छ ।

मलाई काठमाडौं महानगरका मेयरसा’ब र धरान उपमहानगरका मेयर सा’बप्रति कुनै गुनासो छैन । उहाँहरूको कार्यकालको शुभकामना छ । हाम्रो जिम्मेवारी के हो, हामीले के गर्ने भन्ने कुरामा क्लियर हुनुपर्छ । सस्तो लोकप्रियताको लागि अथवा मैले यो गर्दा कति न्यूज आउँछ, कति भ्यूज आउँछ, कतिले शेयर गर्छन् भन्ने कुराले अर्थ राख्दैन ।

झण्डै ८ अर्ब लाग्ने उक्त आयोजनाको डीपीआर अन्तिम चरणमा छ । यही आर्थिक वर्षभित्रै टेन्डर प्रक्रियामा जाने करिब निश्चित नै भएको छ । अबको तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आउने छ । यो आयोजनालाई मैले निकै महत्व दिएकी छु ।

पूर्वाधार विकास, वातावरणीय सरसफाइ, जलवायु परिवर्तनका कुराहरूलाई पनि विकाससँग जोडेर अगाडि बढाएका छौं । ‘शैक्षिक प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत शहर’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगरलाई प्रदेशकै प्रशासनिक तथा शैक्षिक हब बनाउनुपर्छ भनेर १० वर्षे शैक्षिक रणनीति तयार पारेका छौं ।

भूमिहीन, अव्यवस्थित, सुकुम्बासी समस्या समाधानका लागि हामीले कामको थालनी गरिसकेका छौं । विगतमा सेतो पुर्जा पाएकाहरूलाई रातो पुर्जा दिनेदेखि यत्रतत्र छरिएर रहेका बस्तीहरूलाई व्यवस्थित गर्नेतिर पनि कामहरू भइरहेका छन् ।

एकीकृत सरसफाइ व्यवस्थापन परियोजना सुरु भएको छ । कुहिने फोहोरबाट मल बनाउने काम थालेका छौं । आगामी आर्थिक वर्षबाट कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने गरी काम भइरहेको छ । दिसाजन्य लेदो पदार्थ व्यवस्थापनका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ मार्फत काम सम्पन्न गरेर राजस्व दिने ठाउँमा आइसकेको छ । फोहोर व्यवस्थापनमा उत्कृष्ट काम गरेकै कारण हामीले प्रधानमन्त्रीको हातबाट पुरस्कार समेत प्राप्त गरेका थियौं ।

उपत्यकामा चक्रपथ निर्माणको काम थालेका छौं । हटलाइनमा देखिएको समस्या समाधान गरी काम अगाडि बढाएका छौं । सरकारी जग्गा संरक्षणलाई प्राथमिकताका साथ अगाडि बढाएका छौं । संविधानले दिएको, नागरिकले पाउने सेवामा जति अधिकार हामीलाई दिइएको छ, त्यो अधिकार पूर्ण रूपमा कार्यान्वयन हुने गरी हामीले काम गरिरहेका छौं ।

बजार क्षेत्रका बिजुली पोल र तार व्यवस्थापन चलिरहेको छ । उज्यालो वीरेन्द्रनगर अभियान अन्तर्गत बजारका मुख्य क्षेत्रमा लाइट जडान गरेका छौं । नगरको आफ्नै प्रशासनिक भवन निर्माणको काम पनि भइरहेको छ । विभिन्न क्षेत्रमा सडक निर्माण भइरहेको छ । अरू पालिकाको तुलनामा वीरेन्द्रनगरले धेरै काम गरेको छ । तर हामीले गरेको कामको चर्चा धेरै भएन ।

जनताले बालेन र हर्कसँग दाँजेर यहाँको विकास मापन गरिरहेका छन् । उनीहरूले सक्ने हाम्रो मेयरले किन नसक्ने भन्दै प्रश्न गरिरहेका छन् नि !

विकास गर्ने आ–आफ्नै मोडेल हुन्छ । मलाई काठमाडौं महानगरका मेयरसा’ब र धरान उपमहानगरका मेयर सा’बप्रति कुनै गुनासो छैन । उहाँहरूको कार्यकालको शुभकामना छ । धरान र काठमाडौंमा फरक–फरक मोडेलमा काम भइरहेको छ ।

तर, सरकार भनेको एउटा कामको लागि मात्रै हुँदैन । केही नहुनेहरूलाई पनि मेरो सरकार छ है भनेर अनुभूति दिलाउने हो । संविधानले स्थानीय तहलाई थुप्रै सेवा प्रवाहको अधिकार दिएको छ । सेवा प्रवाह पनि महत्वपूर्ण जिम्मेवारी हो ।

हाम्रो जिम्मेवारी के हो, हामीले के गर्ने भन्ने कुरामा क्लियर हुनुपर्छ । सस्तो लोकप्रियताको लागि अथवा मैले यो गर्दा कति न्यूज आउँछ, कति भ्यूज आउँछ । कतिले शेयर गर्छन् भन्ने कुराले अर्थ राख्दैन । काम गर्न आ–आफ्नो शैली हुन्छ ।

मैले उपमेयर भएर पाँच वर्ष बिताएकी छु । आगामी पाँच वर्षमा यो यो इन्डिकेटर यहाँ पुग्नुपर्छ, कार्यकाल पूरा गर्दैगर्दा सोधिएका प्रश्नको जवाफ यसरी दिनुपर्छ भन्ने हिसाबको काम गरिरहेकी छु । टुंगो नलाग्ने काममा हात हालेको छैन, हाल्दिनँ पनि । हाम्रो जे अधिकार हो त्यसको पूर्ण रूपमा प्रयोग गरौं । जे दायित्व लिएका छौं, त्यसमा जवाफदेही भएर काम गरौं भन्ने नै हो । सोही अनुसार नै हामी अगाडि बढिरहेका छौं ।

वीरेन्द्रनगरको सार्वजनिक जग्गामा सुकुम्बासीदेखि विभिन्न संस्था, राजनीतिक दलले कब्जा गरेर बसेका छन् । तपाईंले तीन महिनाभित्र सार्वजनिक जग्गाको लगत संकलन गर्ने, कहाँ कहाँ मिचिएका छन्, यकिन गर्ने र संरक्षणका लागि एक्सनमा जाने घोषणा गर्नुभएको थियो, त्यो कहाँ पुग्यो ?

म निर्वाचित भएपछिको पहिलो बैठकले प्रमुख प्राथमिकतामा राखेको निर्णय हो, यो । अहिले नगरपालिकाका वडा नम्बर ६, ७ र ८ मा बढी मात्रामा सरकारी जग्गा छन् । यी ठाउँमा व्यक्ति र अन्य प्रयोजनमा प्रयोग भइरहेका जग्गा संरक्षण गरेर पाँच वटा सार्वजनिक पार्क निर्माणको थालनी गरेका छौं भने वडा नं. ६ मा पार्किङका लागि प्रक्रिया अगाडि बढिरहेको छ ।

राजनीतिक दलहरूलाई पत्र काटेर व्यावसायिक प्रयोजनका लागि प्रयोग भएका सटर खाली गराउन निर्देशन दिए अनुसार केही दलहरूले खाली गरिरहनुभएको छ । खाली नगराए नियम अनुसार अगाडि बढ्छौं । ठाउँ पहिचान गरेर फुटपाथ क्लियर गर्दैछौं । नागरिकलाई पनि यो–यो काम गर्दैछौं, यसरी सहयोग गर्नुस् भनेर परिणाम दिने गरी काम गर्छौं । हचुवाको भरमा डोजर चलाउँदैनौं ।

एउटाले जग्गा लिजमा लिने, फेरि अर्कोलाई लिजमा दिने चर्को भाडा असुल्ने ! मापदण्ड विपरित संरचना निर्माण गर्ने गरिएको पनि देखिन्छ, त्यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?

जुन प्रयोजनका लागि जग्गा लिइएको हो त्यसकै लागि प्रयोग गर्न निर्देशन दिएका छौं । निर्देशन पालना नभए सम्झौता रद्द गर्छौं । लिजमा लिएकाले भाडा तिर्नुपर्छ र लिज अवधि सकिएपछि छोड्नुपर्छ । म्याद सकिएका जग्गाको पनि हामीले दुई/दुई महिनामा नवीकरण गर्ने व्यवस्था गरेका छौं । त्यसो गर्दा हामीलाई चाहिएका बेला सहजै हटाउन सकियोस् । सरकारी जग्गा संरक्षणको नीति अनुसारको काम अगाडि बढिरहेको छ ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी पनि हो । बढ्दो शहरीकरण प्रमुख चुनौती बनेको छ । तपाईंले विश्वका धेरै शहरी विकासका मोडेलहरू देख्नुभएको छ, घुम्नुभएको छ । वीरेन्द्रनगरको शहरी विकास मोडेल के हो ?

वीरेन्द्रनगरमा १ लाख ५० हजार स्थानीय सहित ४ लाख नागरिकको बसोबास छ । वार्षिक एक हजार घरहरू बनिरहेका छन् । बढ्दो शहरीकरण हाम्रो प्रमुख चुनौती बनेको छ । हामी विगतको प्लानिङ्गलाई पूर्णरूपमा कार्यान्वयन गर्छौं । हामीले भू–उपयोग नीति पनि बनाएका छौं । त्यसलाई कडाइका साथ कार्यान्वयन गर्छाैं । नगरको एकीकृत ढल निकासको प्रारम्भिक अध्ययन डीपीआर गर्ने तयारी भइरहेको छ । चक्रपथ क्लियर गर्दैछौं ।

‘ल्यान्ड पुलिङ्ग’बारे पनि सम्भाव्यता अध्ययन गरिरहेका छौं । त्यो सफल भयो भने पालिकाको दक्षिणी भागमा राम्रो बस्ती विकास गरी मोडेलको रूपमा लैजान्छौं । नगरभित्र बाटो कति मिटरको बनाउने, कस्ता घरहरू बनाउने भनेर ‘बिल्डिङ्ग कोड’ लागू गर्छाैं । ल्यान्डफिल्ड साइटलाई पूर्णता दिएर फोहोर व्यवस्थापन गर्छौं । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने र सरकारी जग्गाको संरक्षण गर्ने कामलाई अगाडि सारेका छौं ।

बजारको सौन्दर्य र सुरक्षाका लागि के कस्ता काम भएका छन् नि !

अहिले वीरेन्द्रनगरको गुरुयोजना अनुसारका सबै बाटो कालोपत्रे सम्पन्न हुने गरी काम अघि बढिसकेका छन् । सडक कालोपत्रे भएसँगै शहरी सौन्दर्यलाई प्राथमिकताका साथ अगाडि बढाउँछौं । चोक सुधारका योजना ल्याएका छौं । राजधानी भइसकेपछि वीरेन्द्रनगरको ‘ब्यूटीफिकेशन’ मा पनि हामीले ध्यान दिनुपर्छ भनेर बाटो बनाइसकेपछि फुटपाथ व्यवस्थापनदेखि हरियाली व्यवस्थापन गर्ने काम भइरहेको छ । महत्वपूर्ण चोकलाई आकर्षक बनाउने हाम्रो लक्ष्य छ ।

१२ वर्षदेखि चल्न नसकेको घण्टाघरको घडी चल्ने बनाएका छौं । अहिले घण्टाघरको संरक्षणमा थप काम भइरहेको छ । ट्राफिक लाइटहरू व्यवस्थापन हुँदैछन् भने वीरेन्द्रनगरको सुरक्षालाई ध्यान दिएर सीसीटीभी जडान र मर्मत गर्न पहल भइसकेको छ । स्वास्थ्यमा पनि महत्वपूर्ण सुधार आएको छ । नगर अस्पताल निर्माणको काम भइरहेको छ । महिला, बालबालिकाको लागि महिला बालबालिका विशेषज्ञ सहितको अस्पताल सुरु गरेका छौं । त्यो पाँच शय्याको अस्पताल तयार हुने अन्तिम चरणमा पुगेको छ ।

प्रदेश राजधानीमै ठूलो बसपार्क छैन, नगरबस छैनन् । व्यवस्थित पार्किङ छैन । सार्वजनिक शौचालय पनि व्यवस्थित छैनन् नि !

वीरेन्द्रनगरको सिटी बसपार्क सानो हुने भएपछि वडा नं. १ मा ‘कर्णाली प्रदेश बसपार्क’ निर्माण गर्ने भनेर नगर गौरवको योजनाको रूपमा नगरसभाबाट पास भइसकेको छ । अहिले प्रक्रियाको थालनी भइसकेको छ । नगरबस सञ्चालनका लागि छलफल चलिरहेको छ ।

नगरका १६ वटा स्थानमा सार्वजनिक शौचालय भर्खरै सञ्चालनमा आएका छन् । केही बढाउनुपर्ने देखिन्छ । सडक सुरक्षाका लागि ट्राफिकसँग समन्वय भइरहेको छ भने पार्किङका लागि उपयुक्त स्थानको खोजी कार्य भइरहेको छ ।

काम हुन्छ, परिणामका लागि पख्नुस् भनिरहनुभएको छ । सरकारी काममा तपाईंले नै भोगेको समस्या चाहिं के हो ?

तीन तहका सरकार छन् । तीन वटै सरकारका आ–आफ्नै जिम्मेवारी हुन्छन् । कुकुर मरेपछि व्यवस्थापन गर्नेदेखि आकाशे पुल किन बनाएन स्थानीय सरकारले भन्ने जनताको गुनासो छ । कुन सरकारको के काम हो ? भन्ने पहिचान नगरेर हरेक काम स्थानीय तहले गर्नुपर्छ । त्यो पनि मेयरले नै गर्नुपर्छ भन्ने हल्ला फैलाइन्छ । त्यसले गर्दा कतिपयमा बुझाइको समस्या छ ।

अहिले मुख्य बजार क्षेत्रमा सडक निर्माण भइरहेको छ । विद्युत् प्राधिकरणलाई पोल सारिदिन पटक–पटक पत्राचार गरेका छौं । नसारेपछि पोललाई बीचमा पारेर नाला निर्माण गरेका उदाहरण पनि छन् । कर्मचारीहरूको पनि आफ्नै गति छ । सबै कुरा आफ्नो स्पिड अनुसार अगाडि नबढ्ने रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?