+
+

आकाश मधवाल : मुम्बईका लागि बलिङबाट चमत्कार गरिरहेका इन्जिनियर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १४:५३

११ जेठ, काठमाडौं । ‘मलाई आफैैंप्रति गर्व छ ।’

इण्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो पहिलो सिजनको सातौं खेल खेलिरहेका खेलाडीले यो कुरा तब भने जब उनलाई पूरा संसारले हेरिरहेको थियो ।

आकाश मधवाल सायद यस्तो भन्ने पहिलो खेलाडी हुन् ।

आईपीएलको कुनै पनि नकआउट खेलमा उनले जस्तो कमालको प्रदर्शन गरे सायद उनीभन्दा अगाडि कुनै अन्य खेलाडीबाट भएको थिएन । आकाश अनक्याप्ड खेलाडी हुन् । नकआउट चरणमा यस्तो धारिलो बलिङ उनीभन्दा अगाडि कुनै अन्तर्राष्ट्रिय खेलाडीले गर्न सकेका थिएनन् ।

मात्र ५ रन दिएर पाँच विकेट । चेन्नाईको मैदानमा मुम्बई इण्डियन्सका लागि बलिङमार्फत गरेको त्यो चमत्कार थियो । जसले लखनउ सुपर जायन्ट्सलाई आईपीएल २०२३ बाट बाहिर राख्यो ।

बुधबार प्लेअफ खेलअघिसम्म मुम्बईका लागि लखनउविरुद्धको इतिहास खराब थियो । उनीहरुले आईपीएलमा लखनउलाई अहिलेसम्म पराजित गर्न सकेका थिएनन् ।

इलिमिनेटर प्रतिस्पर्धामा जब दुई टिम आमने सामने भए मुम्बईले पहिला ब्याटिङ गरी १८२ रन बनायो । सबैजसो क्रिकेट विशेषज्ञले यो खेल निकै नै प्रतिस्पर्धात्मक हुने दाबी गरिरहेका थिए ।

उनीहरुको तर्कमा लखनउविरुद्ध मुम्बईको खराब इतिहासमात्र थिएन । उनीहरु मुम्बईको बलिङ यो सिजन तुलनात्मक रुपमा कमजोर रहेकोसम्म भनिरहेका थिए ।

त्यतिबेला उनीहरुले २९ वर्षका यी बलरलाई सम्झिन आवश्यक ठानेनन् । जसले यसअघि ‘गर या मर’ अवस्थाको खेलमा सनराइजर्स हैदरावादविरुद्धको खेलमा चार महत्वपूर्ण विकेट लिएका थिए । उनले हेनरिक क्लासेन र मयंक अग्रवालजस्ता ब्याटरलाई ‘चक्मा’ दिएका थिए ।

बुधबार जब आफ्नो चौथो ओभरमा एक योर्करमार्फत उनले मोहसिन खानको स्टम्प उडाइदिए तत्कालै क्रिकेट समीक्षक हर्षा भोगलेले ट्वीट गरे, ‘यो नाम याद राख्नुहोस– आकाश मधवाल ।’

प्लेयर अफ द म्याच चुनिएपछि हर्षासँग कुराकानीका क्रममा आकाशले उनलाई आफैंमाथि गर्व रहेको बताए । यो बताउँदै गर्दा आकाशको अनुहार र हाउभाउमा कुनै किसिमको घमण्ड थिएन । उनको आँखामा चमक थियो । अनुहारमा हासो र खुसी एकसाथ थियो । तर, उनमा एक किसिमको संकोच देख्न सकिन्थ्यो ।

उनको लजालुपन र अन्तर्मुखी स्वभावको संकेत त्यतिबेला पनि देखिएको थियो, जतिबेला जितपछि कप्तान रोहित शर्मासँग हात मिलाउँदै थिए । त्यो क्षण मुम्बईको सफलताको प्रमुख खेलाडी आकाश आफ्नो कप्तानसँग सिधा आँखा जुधाइरहेका थिएनन् । सिर झुकाउँदै कप्तान रोहितसँग अंकमाल गरे, रोहितले टाउकोमा हात राखेर उनलाई स्याबासी दिए ।

प्रसंशाको समयमा संकोचमा देखिएका यी बलर मैदानमा अर्कै स्वरुपमा प्रकट हुन्छन् । यसै आधारमा बुधबार चेन्नाईमा मुम्बईले जित हासिल गर्न सकेको हो ।

लखनउविरुद्ध इलिमिनेटर प्रतिस्पर्धामा मधवालले आफ्नो पहिलो ओभरमै मुम्बईलाई पहिलो सफलता दिलाएका थिए । त्यतिबेला उनले लखनउका ओपनर प्रेरक मान्कडलाई आउट गरेका थिए ।

तर, मधवालको असली प्रदर्शन उनको दोस्रो ओभरमा देखियो । यो लखनउको पारीको दशौं ओभर थियो । ओभरको सुरुवाती तीन बलमा आयुश बडोनीले रन बनाउन सकेनन् । चौथो बल लेन्थमा थियो र त्यसले बडोनीको अफ स्टम्प उडाइदियो ।

र, जुन खेलले चर्चाको शिखरमा मधवालको नाम लेखियो त्यो पाँचौं बल थियो । स्ट्राइकमा थिए लखनउका सबैभन्दा विष्फोटक ब्याटर निकोलास पुरन । अफस्टम्प बाहिरबाट आएको यो बल खेल्न पुरन बाध्य थिए । तर, ब्याटमा एज लागेर विकेटकिपर इशान किसानको हातमा पुग्यो ।

मुम्बई इण्डियन्सका लागि खेल्न थालेपछि आकाशको तुलना जरप्रित बुमराहसँग हुन थालेको छ । चोटका कारण बुमराह यो सिजन आईपीएलमा छैनन् । तर, मधवाल आफ्नो तुलना बुमराहसँग होस भन्ने चाहँदैनन् । बरु आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छन् । उनले भनेका छन्, ‘बुमराह भाइ उनको ठाउँमा र म मेरो ठाउँमा छु ।’

यो विकेटले लखनउको हार निश्चित बनायो । मधवालले त्यसपछि दुई विकेट लिए ।

खेलपछि प्रश्न थियो, ‘अहिलेसम्म तपाईं कहाँ लुक्नुभएको थियो ?’

‘कतै होइन । अभ्यास गरिरहेको थिएँ र यो अवसरको प्रतीक्षामा थिएँ,’ मधवालले जवाफ दिए, ‘सुरुमा इन्जिनियरिङ गरेँ । त्यसपछि क्रिकेटमा मोह बस्यो । यसैलाई करिअर सोचेर मिहिनेत गरेँ र यहाँसम्म पुगेँ ।’

आकाशले यो पनि भन्न छुटाएनन्, ‘इन्जिनियर्सहरुमा छिटो सिक्न सक्ने प्रवृत्ति हुन्छ ।’

वास्तवमै आकाश निकै नै छिटो सिकिरहेका छन् ।

सन् १९९३ मा उत्तराखण्डको रुडकीमा जन्मिएका आकाश मधवालले आईपीएलमा मात्र ७ खेल खेलेर क्रिकेटका दिग्गजहरुलाई आफ्नो प्रशंसक बनाएका छन् । धेरै पूर्व खेलाडी र समीक्षकहरुले उनको प्रोफाइल खोज्न थालेका छन् ।

आकाशले रुडकीबाटै टेक्निोलोजीमा स्नातक गरेका छन् । पूर्व क्रिकेट रवी शास्त्रीका अनुसार उनी २३ वर्षको उमेरसम्म टेनिस बलले क्रिकेट खेल्ने गर्थे ।

मधवालले २३ वर्षको उमेरपछि मात्र क्रिकेट बल समाएका थिए । उत्तराखण्डका प्रशिक्षक वासिम जाफरले सबैभन्दा पहिला उनको प्रतिभा पहिचान गरेका हुन् ।

उत्तराखण्डका वर्तमान प्रमुख प्रशिक्षक मनिष झालाई उदृत गरी भारतीय अंग्रेजी अखबार इन्डियन एक्स्प्रेसले लेखेको छ, ‘सन् २०१९ मा उनी जब पहिलोपल्ट ट्रायलका लागि आएका थिए । त्यतिबेला हामी सबैलाई प्रभावित पारेका थिए ।’

बाटो खुल्यो । तर, मधवालको लक्ष्य टाढा थियो । आईपीएलमार्फत क्रिकेट जगतमा नाम बनाउनका लागि उनले धेरै मिहिनेत र लामो समय कुर्नुपरेको थियो ।

उनले भारतका पूर्व तीव्र बलर जाहिर खानसँग आफ्नो संघर्षको कथा साझा गरेका छन् । मधवालले भनेका छन्, ‘म तीन वर्षदेखि कुरिरहेको थिए । सुरुमा आरसीबीको नेट बलर थिएँ । त्यसपछि मुम्बईमा सपोर्ट बलर रहेँ । जब मैले मुम्बई टिममा अवसर पाएँ । तर, मेरो मनले आईपीएल खेल्नुपर्छ भनिरहेको थियो ।’

गत वर्ष सूर्यकुमार यादव घाइते हुँदा उनको स्थानमा आकाशलाई टिममा बोलाइएको थियो । तर, पनि मैदान प्रवेशका लागि प्रतीक्षा जारी थियो । यसवर्ष पनि सुरुवाती ८ खेलसम्म उनी आफ्नो पालोको पर्खाइमा थिए । उनीभन्दा अगाडि अर्जुन तेन्दुलकर र अन्य बलरलाई परीक्षण गरिएको थियो ।

पञ्जावसँगको पहिलो खेलमा विकेट लिन सकेनन् । त्यसपछिका दुई खेलमा पनि एक विकेटमात्र लिन सकेका थिए ।

आकाश आफ्नो पछिल्लो सफलताको श्रेय मुम्बईका कप्तान रोहित शर्मालाई दिन्छन् । उनले भने, ‘रोहित भैयाले मलाई शान्त राख्नुभयो । जहाँ मेरो राम्रो हुन्थ्यो त्यसमा मात्र बलिङ गरिरहन भन्नुभयो ।

रोहितले पनि आफ्नो प्रतिभाशाली बलरको खुलेर तारिफ गरे । ‘गत वर्ष उनी सपोर्ट बलर थिए त्यसैले उनको क्षमता के हो भनेर हामीलाई थाहा थियो,’ रोहितले थपे, ‘जब जोफ्रा आर्चर गए, मलाई आकाशसँग त्यो गुण र चरित्र छ भन्ने थाहा थियो । जसले मेरो विश्वास प्रमाणित गरे ।’

आकाशले धेरैजसो मानिसहरुलाई अर्का च्याम्पियन खेलाडीको सम्झना दिइरहेका छन् । उनी हुन्– ऋषभ पन्त ।

रवि शास्त्री भन्छन्, ‘उनी ऋषभका छिमेकी हुन् ।’

रुड्कीमा दुवैको घर नजिकै छ । समाचारहरुमा जनाइएअनुसार ऋषभले दिल्ली जानुअघि रुडकीमा अवतार सिंहसँग प्रशिक्षण लिएका थिए । उनै अवतारले आकाशलाई पनि सिकाएका हुन् ।

मुम्बई इण्डियन्सका लागि खेल्न थालेपछि आकाशको तुलना जरप्रित बुमराहसँग हुन थालेको छ । चोटका कारण बुमराह यो सिजन आईपीएलमा छैनन् । तर, मधवाल आफ्नो तुलना बुमराहसँग होस भन्ने चाहँदैनन् । बरु आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छन् । उनले भनेका छन्, ‘बुमराह भाइ उनको ठाउँमा र म मेरो ठाउँमा छु ।’

र, मधवाल अहिले त्यो ठाउँमा पुगेका छन् जहाँ बुमराहले पनि उनको तारिफ गरिरहेका छन् ।

बुधबार मुम्बईलाई म्याच विनिङ प्रदर्शनपछि बुमराहले ट्वीटरमा लेखेका छन्, ‘आकाश मधवालको कस्तो जादू !’

मुम्बई इण्डियन्सका लागि खेलिसकेका श्रीलंकाली तीव्र बलर लसिथ मालिंगाले पनि आकाशको तारिफ गरेका छन् ।

आईपीएल २०२३ मा बुधबार ३.३ ओभरमा लखनउ सुपर जायन्ट्सलाई ‘नकआउट’ गर्ने आकाशको अविश्वसनीय प्रदर्शनले गुजरात टाइटन्सका कप्तान र खेलाडीलाई सबैभन्दा बढी चिन्तित गरेको हुनुपर्छ ।

मुम्बई र गुजरातबीचको पछिल्लो भेटमा आकाशले तीन विकेट लिएर आफ्नो टिमको जित निश्चित पारेका थिए । चिन्ताको सबैभन्दा ठूलो कारण त्यो बलको सम्झना हुनेछ, जसले गुजरातका सबैभन्दा सफल ब्याटर शुभमन लिगको अफस्टम्प उडाइदिएका थिए ।

गिलका साथ आकाश मधवालको अर्को भेट शुक्रबार हुनेछ ।

– बीबीसी हिन्दीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?