
११ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले गंगालाल हृदयरोग अस्पतालमा राष्ट्रिय पुरुष क्रिकेट टिमका सबै खेलाडीको मुटु परीक्षण (कार्डिक स्क्रिनिङ) गराएको छ ।
आसन्न विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका टिमका सबै खेलाडीको बिहीबार परीक्षण गरिएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा. चन्द्रमणि अघिकारीको समन्वयमा गरिएको परीक्षणमा सबै खेलाडीको रिपोर्ट सामान्य आएको छ ।
क्यानले यसअघि चैत पहिलो साता सिभिल सर्भिस अस्पतालमा राष्ट्रिय टिमका खेलाडीको जनरल हेल्थ चेकअप गरेको थियो । त्यतिबेला कुनै पनि खेलाडीको जटिल स्वास्थ्य समस्या देखिएको थिएन ।
त्यस्तै गत साता सशस्त्र प्रहरी अस्पताल बलम्बुमा टिमका खेलाडीको डेक्सा स्क्यानिङ गरिएको थियो । त्यो भनेको खेलाडीको हड्डीको परीक्षण हो । चैतमा क्यानले डा. अभिशेक सिंहलाई टिम चिकित्सकका रुपमा नियुक्ति दिएको थियो ।
उनका अनुसार खेलाडीको स्वास्थ्य अवस्थाबारे लगत राख्न र भविष्यमा पर्ने स्वास्थ्य समस्यापछि उपचार प्रक्रिया सहज बनाउन सम्पूर्ण परीक्षण चुस्त दुरुस्त बनाउन लागिएको हो ।
नेपाल क्रिकेट टिमले भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायरको तयारी गरिरहेको छ ।
३ असारदेखि जिम्बाब्वेमा हुने प्रतियोगितामा नेपालले समूह ए मा रहेर वेष्ट इण्डिज, घरेलु टोली जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिकासँग खेल्नेछ ।
त्यसअघि नेपालले ओमान र यूएईसँग दुई अभ्यास खेलसमेत खेल्नेछ । समूहको शीर्ष तीनमा रहन सके सुपर सिक्समा पुग्नेछ ।
राउण्ड रोविन प्रणालीमा हुने सुपर सिक्स चरणको शीर्ष दुई टिम विश्वकपका लागि छानिनेछ । एकदिवसीय विश्वकप आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4