+
+

रेशम चौधरीको सजाय माफी गर्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते २०:५९

१२ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीले आफ्नो सजाय माफीका लागि दिएको निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रेशमको निवेदन गृहमा पठाएका हुन् । रेशमको निवेदन गृहमार्फत नै राष्ट्रपति कार्यालय पुगेको थियो । त्यसमा प्रचलित कानुन, अदालतहरुबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी गर्नू भनेर गृह मन्त्रालयलाई फिर्ता पठाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यससँगै रेशम चौधरीको सजाय माफी गर्ने बाटो खुलेको छ ।

सर्वोच्च अदालतले २ जेठ, २०८० मा मात्र रेशमलाई जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको फैसलालगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिएका चौधरीले संविधानको धारा २७६ अनुसार माफी मिनाहाको बाटोबाट कैदमुक्त हुने बाटो रोजेका थिए ।

धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिन सक्ने व्यवस्था छ ।
यही व्यवस्थालाई टेकेर रेमशले सजाय माफीका लागि निवेदन दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपतिलाई भेटेका थिए ।

शुक्रबार राष्ट्रपति कार्यालय कानुन बमोजिम गर्नु भनेर निवेदन गृहमा पठाएको छ । अब गृह मन्त्रालयले राष्ट्रपति कार्यालयबाट आएको फाइलमा महान्यायाधिवक्ताको राय लिएर ‘माफी मिनाहा’को प्रस्ताव मन्त्रिपरिषद पठाउँछ ।

मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि कैदीको बाँकी कैद माफी मिनाहा हुन्छ ।

यसबारे शुक्रबार मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले बताए । उनका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस (१५ जेठ)का अवसरमा माफी मिनाह पाउनेहरुबारे निर्णय गर्नेछ ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन रहेको बेला कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेपछि रेशमले १५ फागुन २०७४ मा आत्मसमर्पण गरेका थिए । पुर्पक्षका लागि थुनामा रहेका बेला सांसद पदको शपथ लिएका उनलाई टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनायो भने उच्च अदालत, दिपायलले सदर गर्‍यो ।

सर्वोच्च अदालतले २ जेठमा त्यसलाई सदर गरेको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठ तयार भइसकेको छैन, तर सरकारले उनको सजाय माफी गराउन पहल थालेपछि टीकापुर घटनामा मारिएका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव बोहोराकी पत्नी शारदा कडायत बोहोराले शुक्रबार मात्र राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।

रेशमको सजाय माफी नगर्न माग गर्दै परेको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले ‘कानुन बमोजिम गर्न’ भनेर गृह मन्त्रालयमा पठाएको छ । तर करिब १५ वर्ष कैद सजाय मिनाहा पाएर रेशम छुट्ने सत्तारुढ नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?