+
+
काभा वुमन्स भलिबल :

उपाधिका लागि भारत र कजाखस्तान आज भिड्दै, नेपालले तेस्रो स्थानका लागि खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते ७:२०

१४ जेठ, काठमाडौं । काठमाडौंमा भइरहेको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ ।

प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै दुवै टोली फाइनल पुगेका छन् र उपाधिबाट एक कदम मात्र टाढा छन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ ।

भारतले सेमिफाइनलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो भने कजाखस्तानले घरेलु टोली नेपालविरुद्धको प्रतिस्पर्धात्मक खेल ३-२ ले जितेर फाइनलमा पुगेको हो ।

समूह चरणमा दुवै टोलीले समान तीन खेल जितेका थिए ।

यसअघि २०१९ र २०२१ मा भएको सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको घरेलु टोली नेपालले भने तेस्रो स्थानको लागि आजै उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पराजित भएपछि उपाधिमा ह्याट्रिक गर्ने सपना अधुरो रहेको नेपाल उज्वकिस्तानलाई हराउँदै तेस्रो हुने लक्ष्यमा छ ।

पछिल्लो पटक २०२१ मा बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि जितेको थियो ।

नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?