+
+

सुरज एंगडेलाई नेपालले दिएको ‘सरप्राइज’

यदि यो सत्य सावित भयो भने नेपालको दलित मुद्दालाई विश्वव्यापीकरण गर्ने नयाँ इतिहासको थालनी हुनेछ । नेपाली दलित समुदायले भोगेको क्रूर अमानवीय अत्याचार र त्यस विरुद्ध संघर्ष गर्दा बगेको रगतको सुगन्ध संसारभर फैलनेछ ।

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०८० जेठ १६ गते ९:४१

सन् २०१९ मा नेपाल आएका डा. सुरज एंगडेको विस्फोटक भाषणले मलाई उद्वेलित पारेको थियो । लेखक उज्ज्वल प्रसाईंले मञ्चबाटै टिप्पणी गरेका थिए- ‘यदि यो देशका शासक यहाँ भइदिएको भए, उनीहरूलाई पचाउन गाह्रो पर्थ्यो ।’

महाराष्ट्रका ३१ वर्षीय एंगडेले अफ्रिकाबाट अफ्रिकन अमेरिकन स्टडिजमा पीएचडी सिध्याइसकेका थिए । पेन्गुइनबाट प्रकाशित उनको ‘कास्ट म्याटर्स’ किताबको आधिकारिक विमोचन भइसकेको थिएन । किताब सार्वजनिक गर्दै उनले भनेका थिए- ‘मेरो किताब विमोचन नेपालबाट सुरु भएको छ । यसकारण पनि नेपालसँग मेरो सम्बन्धले फरक अर्थ राख्नेछ ।’ लगत्तै उनले धाराप्रवाह बोलेका थिए, ‘हृवाइ कास्ट म्याटर्स ?’

त्यति बेलादेखि नै डा. एंगडेको अन्तर्वार्ता, प्रवचन, स्टोरी, स्तम्भहरूसँग मेरो भेट भइरहृयो । उनले संसारभर जात व्यवस्था र नश्लीय विभेदको विरुद्धमा निडरताका साथ विचारोत्तेजक प्रवचन दिंदै हिंडिरहेका छन् । टाइम्स आफ इन्डियादेखि, अल्जजिरा, सीएनएन लगायत दर्जनौं विश्व प्रसिद्ध सञ्चारमाध्यममा लेखिरहेका छन् । हिन्दु धर्मको जातीय संरचनामाथि निरन्तर धावा बोलिरहेका छन् । जो क्याराभानको कभरस्टोरी बनिसकेका छन् । उनले मेरो मस्तिष्कमा जबरजस्त छाप छोड्नु कुनै नौलो विषय रहेन ।

नेपालबाट फर्किएपछि एंगडे अक्सफोर्ड विश्वविद्यालयबाट ‘कास्ट एण्ड रेस’मा अर्को पीएचडी सिध्याउने क्रममा छन् । प्रतिष्ठित विश्वविद्यालय हार्वर्डमा सिनियर फेलोको रूपमा अध्ययन, अध्यापन गरिरहेका छन् । उनको किताब ‘कास्ट म्याटर्स’ आठ भाषामा अनुवाद भइसकेको छ । अनुवाद हुने र संस्करण थपिने क्रम जारी छ । पुस्तकलाई भारतीय दैनिक ‘द हिन्दु’ ले दशककै उत्कृष्ट ‘नन फिक्सन’ किताबको सूचीमा दर्ज गरिसकेको छ ।

बैंकमा पिउन काम गर्ने दलितको छोरा कसरी यो उचाइमा पुगे ? दलित समुदायलाई निकृष्टको दृष्टिले हेर्ने दक्षिणएशियाली समाजमा एंगडेले सबैभन्दा बढी सामना गरेको प्रश्न हो, यो । यसबारे बीबीसी वर्ल्डदेखि वर्ल्ड च्यानलसम्मले उनको फिचरिङ गरिसकेको छ ।

भारतका प्रमुख स्कलर र ग्लोबल एक्टिभिस्टको छवि बनाइसकेका उनै एंगडे दोस्रो पटक नेपालमा आइपुगेका छन् । दलित लाइभ्स म्याटरले आयोजना गरेको ‘कास्ट कभर्सेसन’मा शक्तिशाली प्रवचन पनि दिइसकेका छन् । ‘इज्जतले अर्थ राख्छ, सम्मानले अर्थ राख्छ, क्षतिपूर्तिले अर्थ राख्छ, मानवताले अर्थ राख्छ, समानताले अर्थ राख्छ, कथाहरूले अर्थ राख्छन्, लडाइँले अर्थ राख्छ, सहायताले अर्थ राख्छ, न्यायले अर्थ राख्छ, व्यक्तिगत दबाबले अर्थ राख्छ, त्यसैले दलित जीवनको अर्थ छ (डिग्निटी म्याटर्स, रेस्पेक्ट म्याटर्स, कम्पेनसेसन म्याटर्स, हृयुमानिटी म्याटर्स, इक्वालिटी म्याटर्स, स्टोरिज म्याटर्स, फाइट म्याटर्स, एसिसटेन्स म्याटर्स, जस्टिस म्याटर्स, इन्डिभिजुअल प्रेसर लाइफ म्याटर्स । ड्याटस् हृवाइ दलित लाइभ्स म्याटर्स) ।’

यति भनेर उनले मन्तव्य टुंग्याएपछि खचाखच होटल हिमालयको हल लामो समय तालीले गुञ्जायमान भएको थियो ।

यस पटक भने प्रवचन बाहेकका उद्देश्य पनि बोकेर आएका छन् एंगडे । नेपालको लागि केही समय लिएर आएका छन्, नेपालका लागि केही दिन आएका छन् । यसकारण उनीसँग मेरो अनपेक्षित भेट सम्भव भएको छ । केही लामो कुराकानी सम्भव भएको छ । अँगालो मारेर फोटो खिच्न सम्भव भएको छ ।

****

गत बिहीबार हिमालय होटलको लवीमा भेटिएका एंगडे सामान्य देखिन्थे । विश्वमा स्थापित व्यक्तित्वको भेट थियो त्यो मेरो । यद्यपि उनको व्यक्तित्व र व्यवहार निकै आत्मीय र सरल पाएँ । उनको सिग्नेचर स्टाइल यथावत् थियो, ठाडो पारिएको गुजुप्प कर्ली जगल्टा र आँखामा चश्मा । त्यतिबेलासम्म उनले नेपालमा पाँच दिन बिताइसकेका थिए । र, सयौं वर्षदेखिको नेपाली इतिहासको सारांश पढिसकेका थिए । अहिले मधेश अध्ययनको लागि प्रदीप परियारको साथ लागेर उनी लुम्बिनीतिर लागेका छन् । सायद केही दिन उनले उतै बिताउने छन् ।

‘भारतमा नेपालीलाई सम्मान दिइँदैन । किनकि उनीहरू काम गर्नको लागि जाने गर्छन्, गरिबहरू हुन्छन्, कसैको घरमा नोकर त कसैकोमा ड्राइभर बस्छन् । अधिकांश नेपालीको पेशा यस्तै हुन्छ । त्यसैले नेपालीलाई अनेक नाम दिएर मजाकको पात्र बनाइन्छ । नेपालीलाई एक कमेडीमा सीमित गरिएको छ । यस्तो देखिरहेको म जब पहिलो पटक नेपाल आएँ, मेरो पूरै होश उड्यो । नेपालीबाट निकै प्रभावित भएँ, विशेषगरी दलित समुदायबाट । त्यसपछि मेरो दृष्टिकोण पूरै बदलियो ।’

पश्चिमाहरू पनि बुझ्न चाहन्छन् कि जातको विषय के हो ? र, यस विषयमा संवेदनशील बनेका एंगडेले भने, ‘मेरो किताब मार्फत पनि मैले जातको निर्णय लिने शक्तिमाथि च्यालेन्ज गरेको छु । तपाईं निर्णय गर्न सक्नुहुन्न कि हामीले के गर्नुपर्छ र के गर्नुहुन्न ! र, म विश्वभरका उत्पीडितहरूको लडाइँको लागि नयाँ समुदाय बनाउन लागिरहेको छु ।’

एंगडेले यसो भन्दा मलाई कता-कता पोले जस्तो भयो । आत्मसम्मानमा प्रहार गरे जस्तो, अस्तित्वमाथि प्रश्न उठे जस्तो, नेपाली भएकोमा हीनताबोध जस्तो, कस्तो कस्तो … । आखिर वास्तविकताबाट भाग्ने छुट छैन हामीलाई । अहिलेसम्म देशको बागडोर सम्हालेका प्रति रनक्क भयो । पूर्वी र मध्यएशियामा कसरी हेर्लान्, अनि पश्चिमामा ! विश्वमा तल्लो स्तरको काम गर्ने श्रमिक निर्यात गर्नु बाहेक के नै पहिचान छ र मेरो देशको (पुनश्चः श्रमिकप्रति मेरो सम्मान छ) ।

एंगडेले नेपालको दलित संघर्षको इतिहास जति पढ्दै छन्, उति प्रभावित हुँदै गएका छन् । ‘कास्टः न्यू हिस्टी अफ द वर्ल्ड’को पहिलो ड्राफ्ट सकेर आएका उनी फर्किएर फेरि त्यसलाई खोल्नेछन् र नेपालको दलित इतिहासलाई स्थान दिनेछन् । उनले लिच्छविकालदेखि जंगबहादुर राणाको मुलुकी ऐन र पशुपति मन्दिरदेखि शैलेश्वरी मन्दिर प्रवेश आन्दोलनसम्म अध्ययन गरिसकेका छन् । भगत सर्वजित विश्वकर्मादेखि, टीआर विश्वकर्मा, जोहार रोका, सहर्षनाथ कपाली, हीरालाल विश्वकर्मा, आहुतिसम्मको इतिवृत्तान्त खोतलिसकेका छन् । अहिले सत्तामा भएका वर्चश्वशाली जात र प्रमुख दलका नेतृत्वसम्म छिचोलिसकेका छन् । र, उनले १९१० सालको मुलुकी ऐनलाई नेपालको आधुनिक मनुस्मृतिको नाम दिएका छन् ।

‘मलाई लागेको थिएन कि नेपालमा जातीय अत्याचार विरुद्धको प्रतिरोध भएको छ । भगत सर्वजित विश्वकर्माको इतिहास पढेपछि १९औं शताब्दीमै दलितहरूले गरेको विद्रोहप्रति गर्व लाग्यो’ एंगडेले थपे, ‘म नेपालको दलित इतिहास पढिरहेको छु, सांस्कृतिक रिभोलुसन भएको छ कि छैन हेरिरहेको छु । यदि राम्रो सन्दर्भ सामग्री पाएपछि पक्कै पनि किताबमा नेपालबारे नयाँ च्याप्टर थप्नेछु ।’

यति मात्र होइन अर्को किताब नेपाल र नेपाली डायस्पोरामाथि लेख्ने सोच बनाइसकेका छन् एंगडेले । ‘नेपालको दलित इतिहासबारे भारत र अन्य देशमा कुनै चर्चा भएको पाएको छैन’ एंगडेको भनाइ छ, ‘नेपाल र भारतको संघर्ष विश्वव्यापी दलित मुक्ति आन्दोलनको सेन्टरमा आउनुपर्छ भन्ने मलाई लागेको छ ।’

यदि यो सत्य सावित भयो भने नेपालको दलित मुद्दालाई विश्वव्यापीकरण गर्ने नयाँ इतिहासको थालनी हुनेछ । नेपाली दलित समुदायले भोगेको क्रूर अमानवीय अत्याचार र त्यस विरुद्ध संघर्ष गर्दा बगेको रगतको सुगन्ध संसारभर फैलनेछ ।

अनि विश्वले थाहा पाउनेछ नेपाल भन्ने एउटा यस्तो देश छ जसले समानता र सामाजिक न्यायको निम्ति अविराम जेहाद छेड्दै आएको छ । ‘नेपालको मनुस्मृति विरुद्धको नेपालले जुन लडाइँ गरे त्यो म संसारलाई भन्न चाहन्छु’ उनी थप खुल्छन्, ‘मैले जो-जो नेपालीलाई भेटें उनीहरू परिवर्तनको चाहना राख्छन्, उनीहरू जातको कारण सरकारसँग पनि चिन्तित छन् ।’

तीन दशकभन्दा लामो समय भारतीय समाजको अध्ययन गरेर करिब ६० वर्षअघि ‘होमो हाइरार्किकस’ थ्यौरी लेखेका फ्रान्सका फिलोसोफर लुइ डुमोले भनेका छन्- ‘यदि तिमीले जात व्यवस्था बुझेनौ भने दक्षिण एशियाली समाजलाई बुझ्नै सक्दैनौ ।’ हाम्रो समाज र राज्यव्यवस्था जातीय संरचनाकै आधारमा चलिरहेको स्पष्ट हुँदाहुँदै पनि यो विषयमा बहस झन् झन् किनाराकृत हुँदै गएको छ । जुन समतामूलक समाज निर्माणको लागि थप प्रत्युत्पादक बन्दै गइरहेको छ ।

अन्तरजातीय विवाहको निहुँमा नवराज विकहरूको हत्या भइरहेकै छ, जातकै कारण दलितहरू शहरमा समेत भययुक्त जीवन बिताउन बाध्य भएकै छन्, प्रेम सम्बन्धकै कारण प्रभात वोसेलहरूलाई षड्यन्त्रपूर्वक जेलमा कोचिएकै छ, गाउँमा पानी पिउने धारादेखि घरको पेटीसम्म छुवाछूत कायमै छ, न्यायालयमा न्यायबाट वञ्चित हुनु परेकै छ ।

तर, अर्कोतर्फ आरक्षणको विरुद्ध भ्रम फैलिएका छन्, आरक्षणबाट उत्पीडित समुदायले भन्दा वर्चश्वशाली समुदाय नै लाभान्वित हुने राजनीतिक अभ्यास बढिरहेको छ । हुँदाहुँदा वामदेव गौतम जस्ता नेताले रोस्टममै उभिएर दलित शब्द हटाउनुपर्छ भन्ने जस्ता भाषण दिन थालेका छन्, मानौं यहाँ कुनै असमानता नै छैन ।

अब त जातीय विभेदले दक्षिणएशियाको सिमाना पार गरी विश्वव्यापी रूपमा आतंक मच्चाइरहको छ । नेपाली दलित समुदायले पूर्वी एशिया र पश्चिमा मुलुकमा भोगेका विभेदका डरलाग्दा उदाहरण बाहिर आइरहेका छन् । विश्वव्यापी रूपमा जातको बारेमा ठूला-ठूला डिस्कोर्स सुरु भएका छन् ।

पछिल्लो समय इसावेल विल्कर्सनले आफ्नो पुस्तक ‘कास्ट’ मार्फत दक्षिणएशियाको जात प्रथा र पश्चिमाको रंगको आधारमा हुने विभेद एउटै हो भनी बलियोसँग प्रमाणित गर्ने प्रयास गरेकी छिन् । अमेरिकाकी विल्कर्सनले जर्मन, भारत, लण्डन भ्रमणको अनुभूतिलाई समेत समावेश गरी लेखिएको उक्त पुस्तक संसारभर लोकप्रिय बनेको छ । अमेरिकाको सिटी काउन्सिल र क्यालिफोर्नियाले जातीय विभेद विरुद्धको कानुन जारी गरिसकेको छ ।

यसले के देखाउँछ भने अन्याय र अत्याचार विरुद्धको लडाइँ संसारभर नयाँ शिराबाट सुरु भएको छ । यसमा सुरज एंगडे जस्ता हजारौं अभियन्ताहरूले पहलकदमी लिएका छन् । पश्चिमाहरू पनि बुझ्न चाहन्छन् कि जातको विषय के हो ? र, यस विषयमा संवेदनशील बनेका एंगडेले भने, ‘मेरो किताब मार्फत पनि मैले जातको निर्णय लिने शक्तिमाथि च्यालेन्ज गरेको छु । तपाईं निर्णय गर्न सक्नुहुन्न कि हामीले के गर्नुपर्छ र के गर्नुहुन्न ! र, म विश्वभरका उत्पीडितहरूको लडाइँको लागि नयाँ समुदाय बनाउन लागिरहेको छु ।’

केही समयअघि दार्शनिक कर्नेल वेस्टसँग एंगडेले अफ्रि की अमेरिकी र दलितहरूबीच एकताको लागि गरेको आहृवानले अहिले विश्वव्यापी रूपमा ध्यानाकर्षण गरेको छ । उनी भन्छन्, ‘हामी दलित हौं या काला जाति हौं या बाँकीको पीडित मानिसहरू जसको एउटा युनियन हुनुपर्छ, ताकि राजनीतिक आन्दोलन तयार होस्, र लड्नको लागि नयाँ आन्दोलन बनाउन सकियोस् ।’

संसारमा असमानता र अन्याय त छ तर, पनि एंगडेले नयाँ पुस्तालाई ठूलो आशा र प्रेरणा दिन चाहने बताउँछन् । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि तपाईं डा. अम्बेडकरको अनुयायी हो भने लक्ष्य सूर्यको उचाइको मात्र हुनुपर्छ ।’ तर, कसरी ? सुरजले आफ्नो अनुभव सहित भन्छन्, ‘यसको लागि सबैभन्दा आधारभूत कुरा पढाइ हो । हामीले धेरै माथिको सोच राख्न जरूरी छ र सफलताको उदाहरण प्रस्तुत गर्नुपर्छ । मलाई आत्मविश्वास दिएको पढाइले नै हो । जबसम्म हामी शिक्षित हुँदैनौं तबसम्म सम्मान पाउँदैनौं । जात व्यवस्थाको विरुद्ध लड्नु भनेको स्वयंको राम्रो उदाहरण दिनु पनि हो । जातको लडाइँ तपाईंको सफलतामा पनि हुन्छ । समाजको लागि कुनै सम्झौता गर्नुहुँदैन ।’

मैले एंगडेबाट धेरै जानकारी लिएँ र नेपालबारे केही बताएँ । त्यसपछि उनी भारतीय द इन्डियन एक्सप्रेसको लागि कोलम ‘दलिटालिटी’ लेख्नुछ भन्दै आफ्नो कोठा उक्लिए । जुन प्रकाशन भइसकेको छ- ‘नेपालमा जाति र छुवाछूत : एक परिचित कथा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?