+
+

सन्दीप लामिछाने क्रिकेट टिमसँगै दक्षिण अफ्रिका नजाने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १७:५०

१६ जेठ, काठमाडौं । एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने नेपाल टिममा सन्दीप लामिछाने अनुपस्थित हुने भएका छन् ।

जिम्बाब्बेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि वातानुकूलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ ।

बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

‘सन्दीप आज टिमसँग जाँदैनन् । एक साताभित्रै अदालती प्रक्रिया भएका कारण उनलाई यो भ्रमणमा राख्न सकिएन’, पाठकले अदालतको प्रक्रिया नटुंगिएसम्म नेपाल टिमबाट सन्दीपको वैदेशिक भ्रमण निश्चित नभएको समेत बताए ।

विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीप पनि छन् । कार्यवाहक सचिव पाठकले प्रक्रिया पूरा भएमा विश्वकप छनोट प्रतियोगितासम्म उनलाई टिममा समावेश गरिने बताए ।

काठमाडौं जिल्ला अदालतमा मंगलबार पनि सन्दीप विरुद्धको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीश शंकरबहादुर राईले पीडितको तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गरी दिएको निवेदनउपर सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको सुनुवाइ गर्ने बताएपछि रोकिएको हो ।

पछिल्लो केही महिनादेखि उनी विरुद्धको मुद्दा नियमित पेशीमा चढिरहे पनि अन्तिम सुनुवाइ र फैसला हुन ढिला भइरहेको छ ।

नेपाली टिम मंगलबार राति साढे २ बजे दक्षिण अफ्रिका प्रस्थान गर्नेछ । नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ ।

नेपाली टिम उतैबाट जिम्बाब्बे प्रस्थान गर्नेछ । नेपालले जिम्बाब्बेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्नेछ । विश्वकप छनोट ३ असारदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाब्बेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेष्टइण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?