+
+

‘देउवालाई सभापति राखेर कांग्रेस रुपान्तरण हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १८:३८

१६ जेठ, काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षका कार्यकर्ताले सभापति शेरबहादुर देउवाबाट पार्टी रुपान्तरण हुन नसक्ने बताएका छन् ।

कांग्रेस रुपान्तरणको अभियान अन्तर्गत मंगलबार काठमाडौंमा भएको कार्यक्रममा उनीहरुले कांग्रेस कमजोर हुनुमा नेतृत्व दोषी रहेको धारणा राखे । अभियानको बागमती प्रदेशस्तरीय कार्यक्रममा सिन्धुलीका कांग्रेस कार्यकर्ता कृष्णप्रसाद दाहालले पार्टी सभापति हटाउने प्रस्ताव ल्याउनुपर्ने बताए।

‘शेरबहादुर देउवालाई सभापति मानेर रुपान्तरण हुँदैन । पार्टी सभापति हटाउने प्रस्ताव ल्याउनुहोस्’, उनले भने।

मकवानपुरका महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले सभापति परिवर्तन गर्ने गरी अघि बढ्न रुपान्तरण अभियानका नेताहरुलाई सुझाव दिए। संस्थापनइतर पक्षले कांग्रेस रुपान्तरण अभियान भन्दै देशव्यापी कार्यक्रम गरिरहेका छन्। त्यसैको सिलसिलामा मंगलबार काठमाडौंमा कार्यक्रम गरेका हुन्।

अभियानमा संलग्न नेताहरुले मंगलबार बागमती प्रदेशका जिल्लाहरुबाट आएका कार्यकर्ताहरुको सुझाव लिएका छन्।

कांग्रेसको बागमती प्रदेश कार्यसमिति सदस्य तथा शिक्षक संघमा आबद्ध नर्मदा पोखरेलले नयाँ पार्टीमा कार्यकर्ता प्रवेश गरिरहेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले भनिन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कार्यकर्ता जान नदिन रुपान्तरणको अभियान वडा, क्षेत्र नगर सबै तहमा पुर्‍याऔं।’

मकवानपुर जिल्ला समिति सहसचिव इन्दिरा न्यौपानेले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल बनिरहेको भन्दै त्यसलाई रोक्न आवश्यक भएको बताइन् ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्ताले सभापति देउवाले विधिसम्मत रुपमा पार्टी सञ्चालन नगर्दा पनि इतर पक्षका नेताहरुले प्रतिवाद गर्न नसकेको गुनासो गरेका छन् ।

दोलखाका कार्यकर्ता पदमराज पाठकले पार्टी रुपान्तरण अभियान केन्द्रीय कार्यालयबाट सुरु गर्नुपर्ने बताए । भ्रातृ संस्थामा समानान्तर गतिविधि गर्न उनले नेताहरुलाई सुझाव दिए ।

जेठको अन्तिमसम्म सञ्चालन हुने रुपान्तरण अभियानमा संस्थापनइतरका शीर्ष तहका नेताहरु भने सहभागी छैनन् । शीर्ष तहका नेताहरु अभियानमा सहभागी नहुँदा कतिपय कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। ‘महामन्त्रीसहित सबै पदाधिकारी यो अभियानमा हुन किन नहुने ?’ नुवाकोटमा गणेशप्रसाद सिटौलाले प्रश्न गरे ।

सिन्धुपाल्चोकका क्षेत्रबहादुर गुरुङले रुपान्तरण अभियानले कांग्रेसका गुटको अन्त्य गर्न भूमिका खेल्नुपर्ने बताए । उनले अभियानका अगुवालाई सोधे, ‘गुट अन्त्यको लागि यो अभियानले कस्तो भूमिका खेल्छ ?’ काठमाडौंका रामलाल श्रेष्ठले मूल नेतृत्व परिवर्तन हुने गरी अभियानलाई निष्कर्षमा पुर्‍याउन सुझाव दिए ।

कार्यक्रममा चितवनका नेता कार्यकर्ताले निर्वाचनमा तालमेल र गठबन्धन गर्ने पार्टीको निर्णयको विरोध गरे । चितवनका सूर्य ढकालले भने, ‘गठबन्धनको नाममा रुखमा भोट हाल्न पाइएन । तपाईंहरुको यसमा विचार के हो ?’ पार्टीभित्रको एक पक्षले पेलेको अवस्थामा आड भरोसा दिने नेता हुनुपर्ने उनले बताए ।

चितवन भरतपुरका सुरेन्द्र केसीले संवैधानिक राजतन्त्रको अवधारणा ल्याउनुपर्ने सुझाव दिए । कांग्रेस कार्यकर्ता डा. परशुराम पौडेलले संघीयता घाँडो भएकाले यस विषयमा पार्टीले पुनर्विचार गर्नुपर्ने सुझाव दिए । सिन्धुलीकी महाधिवेशन प्रतिनिधि विजुला वर्माले पनि संघीयताका कारण आर्थिक संकट परेको धारणा राखिन् ।

कांग्रेस रुपान्तरण अभियानका नेता गुरुराज घिमिरेले पार्टीमा विधि भन्दा व्यक्ति हावी हुँदा समस्या आएको बताए । ‘कांग्रेस कांग्रेस जस्तो छैन । विधि भन्दा व्यक्ति प्रधान भएको छ’ घिमिरेले भने, ‘जे गरेपनि टुलुटुल हेर्न नसकेर रुपान्तरणको अभियानमा लागेका हौं ।’

पार्टीका भ्रातृ संस्थामा एक जना मात्र मनोनीत गरेर सभापति देउवाले तदर्थवादलाई बल पुर्‍याएको घिमिरेले बताए । केन्द्रीय समितिमा मनोनीत हुन बाँकी रहेकामा ४० वर्षमुनिबाट ल्याएर देखाउन सभापति देउवालाई घिमिरेले चुनौती दिए।

नुवाकोटमा पूर्वसभापति जगदीश्वर नरसिंह केसीले कांग्रेसमा सभापति देउवाको ‘फेस भ्यालु’ नरहेको बताए । उनले रुपान्तरण अभियान गुटरहित अभियान भएको पनि दाबी गरे । ‘कांग्रेस पुरानो ढर्राले चल्दैन। त्यसका लागि गुटरहित अभियान हो। कांग्रेसजनलाई उत्साहित बनाउने रुपान्तरण अभियान हो’, केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?